मेरो बुवा राष्ट्रकवि माधवप्रसाद घिमिरेको तेह्रौं पुण्यतिथिको अवसरमा म उहाँलाई सम्झँदै यो लेख लेख्दैछु।
म अहिले अमेरिकामा छु। केही महिनाअघि म र मेरो श्रीमान सोमकान्त शर्मा छोराछोरी भेट्न अमेरिका आएका थियौं। हामी चाँडै फर्कनुपर्छ भन्ने चाँजो मिलाएर आएका भए पनि केही समस्याले सोचेभन्दा लामो समय यतै अलमलियौं।
नेपालमा आफ्ना परिवारजन, इष्टमित्र, साथीभाइसँग कुराकानी भइरहेकै थियो। सबैले ‘आत्तिनुपर्दैन, बुवाको स्वास्थ्य ठिक छ’ भन्नुहुन्थ्यो। बुवासँग कुरा हुँदा पनि ‘मलाई ठिक छ, तिमीहरू काम सकेर आओ’ भनेर ढुक्क बनाउनुहुन्थ्यो।
यसैबीच संसारभरि कोरोना महामारी सुरू भयो र यसले विश्वव्यापी लकडाउनको रूप लियो। हामी चाहेर पनि नेपाल आउन सकेनौं। जहाजै नउडेपछि हामी थुनिएजस्ता भयौं। मनमा अतेस लाग्थ्यो। हामी बुवालाई फोन गर्थ्यौं। उहाँले थुम्थुम्याउँदै भन्नु हुन्थ्यो, ‘यो सरुवारोग हो, हेलचेक्र्याइँ नगर्नू, सबथोक ठिक नभएसम्म तिमीहरू आउनुपर्दैन।’