बारामा कोरोना संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु

बिमला गुप्ता

काठमाडाैं

बारा जिल्लामा कोरोना संक्रमणका एकै दिन थप ४ जनाको मृत्यु भएको छ। मंगलबार बिहान २ र गएराति थप दुई जनाको मृत्यु भएको नारायणी अस्पताल वीरगञ्जले पुष्टि गरेको छ। 

बारा जिल्लाको बिश्रामपुर गाउँपालिका १ छतवा टोल बस्ने ४२ वर्षका अशोककुमार यादवको गएराति ८ बजे मृत्यु भएको हो। आम आदमी पार्टी नेपालका राष्ट्रिय अध्यक्षसमेत रहेका यादव किड्नी, श्वासप्रश्वास तथा ज्वरोको समस्याले विगत १ महिनादेखि ग्रसित थिए। 

त्यसैगरी कलैया उपमहानगरपालिका १ बस्ने ६६ बर्षका विश्वनाथप्रसाद जयसवालको कोरोना संक्रमणका कारण गएराति पौने ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

दुवैमा किड्नी र श्वासप्रश्वास, ज्वरो, बल्डप्रेशर, थाइराइडको समस्याबाट ग्रसित थिए। पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक तथा गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
 
दुवैको मंगलबार दिउसो पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।मृतकहरुको शव अहिले अस्पतालमा नै रहेको र शव व्यवस्थापन गर्ने तयारी भइरहेका बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले बिएल नेपाली सेवालाई जानकारी दिए।
 
यसअघि मंगलबार बारामा कोरोना संक्रमणका कारण थप दुई व्यक्तिको मृत्यु भएको थियो। बारा जिल्लाको महागढीमाई नगरपालिका ४ मल्हनीटोल बस्ने ५९ वर्षे गेनाप्रसाद साह तथा बिश्रामपुर गाउँपालिका ५ औरयाटोलका ७२ वर्षे धुपलाल यादवको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। 

पीसीआर रिर्पोट पोजिटिभ आएसँगै संक्रमितहरुमा समस्या देखिएपछि उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो। 

उपचारका क्रममा मंगलबार बिहान ६ बजे एक जना र ११ बजे थप अर्कोको मृत्यु भएको प्रजिअ पण्डितले जानकारी दिए। 

मृत्यु भएको यादव र साह लामो समयदेखि विभिन्न दिर्घरोगले पीडित रहेका थिए। बारा जिल्लामा कोरोनाका संक्रमणका कारण मर्नेको संख्या १५ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-26 12:17:48

प्रतिकृया दिनुहोस्