हाम्रा सहर, खोला नाला, सार्वजनिक चौर, खोँचहरु, सडकका किनारा, जङगल, सहरको बाहिरी क्षेत्र, गाउँघर– प्राय: ठाँउहरु फोहर ‘मिनिरल वाटर’ भनिने प्लास्टिकका बोतल, चाउचाउका खोल, पराग, खैनी, सुर्तीका खोलहरु, बियरका वोतल, क्यान, थोत्रा लुगा कपडा, खानेकुरा लगायतले प्रदूषित बनाएको छ। यो समस्या दिर्घकालीन जस्तो भएको छ। हामीले हामी बस्ने ठाउँ सफा राख्न सकेका छैनौँ। यो सबैलाई थाहा भएको कुरा हो। यो हामीले आफैले सिर्जना गरेको समस्या हो। हामी फोहर गर्न जान्दछौँ भने सफा पनि गर्न जान्दछौँ। र सक्नु पनि पर्छ। तर किन हामीले गरिराखेका छैनौँ त?
यसका दुई समस्या हुन सक्छन्। पहिलो, कि हामीले हाल अपनाइरहेको फोहरमैला ब्यवस्थापन पद्धति वा नियम कानुन ठीक छैन कि हामीले यही पद्धति ठिक भए पनि सहि तरिकाले पालना गरेका छैनौँ। यो हाम्रो अक्षमता हो। त्यसैले हामीले आफै सकिँदैन वा जानिदैन भने अरुको हेरेर सिक्नुपर्छ। राम्रा र उपयोगी छन् भने अरुको अनुसरण गर्न सकिन्छ। हामी मानव समाज यसरी नै एक अर्काको ज्ञान र सिपबाट सिकेर उन्नतितर्फ वा सभ्यतातर्फ लाग्ने हो। राम्रा अनुसरण गर्ने, नराम्रा त्याग्दै जाने मानवको स्वाभव पनि हो। त्यसैले यस लेखमा एक उत्तर पुर्वी युरोपेली देश नर्वेले कसरी आफ्ना सहर र गाउँठाउँ सफा राखेको छ भन्नेबारे बयान गरिएको छ। नर्वेको सफल फोहर ब्यवस्थापन हाम्रो देश नेपालका लागि पनि काम लाग्न सक्छ भन्ने उद्देश्यका साथ यो लेखिएको हो।