नारायणी एफएमका ७ सञ्चारकर्मीमा कोरोना, रेडियो नै आइसोलेसन, रोकिएन समाचार !

वीरगञ्ज लिंकरोडस्थित सामुदायिक रेडियो नारायणी एफएमका रेडियोकर्मीमा कोरोना संक्रमण देखिएपनि एफएम स्टेशनलाई नै आइसोलेसनमा परिरणत गरिएको छ।

ती मध्ये स्टेशन प्रमुख क्रान्ति शाह भने साउन ३० गते कोरोना संक्रमणमुक्त भएर अहिले घरमै स्वास्थ्यलाभ लिइरहेका छन्। अरु ६ रेडियोकर्मी मध्ये १ जना प्राविधिक घरकै आइसोलेसनमा छन्।

‘घरबाटै समाचार तयार पारेर रेडियोमा पठाउने गरेको छु,’ उनले भने, ‘मेलै पठाएको समाचार रेडियोमा रहेका सहकर्मीहरुले पढ्ने गरेका छन्।’

भदौ ६ गते संक्रमण पुष्टि भएका ५ जना रेडियोकर्मीले भने एफएम स्टेशनमै आइसोलेसन बनाएर रेडियोको प्रशारणलाई निरन्तरता दिइरहेको स्टेशन प्रमुख शाहले बताए। 

उनका अनुसार एफएममा कार्यरत अन्य ८ जना रेडियोकर्मी भने सहकर्मीहरु संक्रमित भएको सूचना पाएपछि होम क्वारेन्टाइनमा छन्।

एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाका अनुसार पछिल्लो पटक गत भदौ ४ गते रेडियोमा कार्यरत मध्ये ६ जनाले पीसीआर परिक्षण गराएका थिए। ती मध्ये ५ जनामा भदौ संक्रमण पुष्टि भएको थियो। 

‘संक्रमित रेडियोकर्मीलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेको थियो। तर उहाँहरुले अहिलेको महामारीमा नागरिकलाई पलपलमा सूचनाको खाँचो रहेकाले रेडियोमै आइसोलेसन बनाएर बस्ने निर्णय गर्नुभएको छ,’ उनले भने। 

गत साउन २८ गते रेडियोका ५ जनाले पीसीआर परिक्षण गराउदा थप एक जना प्राविधिकलाई संक्रमण देखिएको थियो भने अरु चार जनाको रिपोर्ट नेगेटिभ आएका थियो। 

सामुदायिक रेडियो प्रसारक संघ अकोराबका महासचिवसमेत रहेका एफएमका कार्यकारी अध्यक्ष देवकोटाले नेपालमा पहिलो पटक संक्रमितहरुले रेडियोमा रहेर नागरिकलाई सुचना दिने काम गरिरहेको भन्दै सामुदायिक रेडियोको मुल मर्म नै यहि भएकोले आफू जोखिममा रहेको अवस्थामा पनि संकटपूर्ण स्थितिमा रहेको समुदायलाई सुचना दिन बन्द नगरिएको बताए।

प्रकाशित मिति: : 2020-08-25 15:22:20

प्रतिकृया दिनुहोस्