पर्सा र बारामा पछिल्लो दुई दिनदेखि कोरोना संक्रमित घट्न थाले

पर्सा र बारामा पछिल्लो दुई दिनदेखि कोरोना भाइरस संक्रमितकाे संख्यामा कमी आएको छ। नारायणी अस्पताल प्रयोगशालामा गरिएको नमुना परीक्षणमा साउन ६ गते र साउन ७ गतेको परीक्षणमा करिब १३ प्रतिशतको हाराहारीमा मात्र संक्रमण पुष्टि भएको देखिएको छ। 

साउन ६ गते ४०० र साउन ७ गते ३०० नमुना गरी कुल ७ सय नमुना परीक्षणमा साउन ६ गते ५३ जनामा र साउन ७ गते आर्थात गएराति ४० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ। गएराति गरिएको परीक्षणमा १३ महिला र २७ पुरुष गरी कुल ४० जना थपिएका थिए। 

जसमा २ जना जितपुरसिमरा उपमहानगरपालिका र केही परसौनी गापा बाराका संक्रमित रहेका छन्। १२ वर्षदेखि ७० वर्ष सम्मका ४० जना संक्रमित मध्ये अधिकांश वीरगञ्ज महानगरको विभिन्न वडाका र कालिकामाई गाउँपालिका रहेको नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता एवं छाला तथा यौनरोग विशेषज्ञ डा. अतुलेश चौरसियाले जानकारी दिए।

त्यसैगरी, साउन ६ गते राति सार्वजनिक भएको रिपोर्ट अनुसार १७ महिला र ४६ पुरुष गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमा १९ जना बाराका र ३४ जना पर्साका रहेको थिए। पर्सामा वीरगंजको विभिन्न वडा छिपहरमाई गाउँपालिका, विन्दासिनी गाउँपालिका ,सखुवाप्रसौनी, जगरनाथपुर गाउँपालिकालगायतका स्थानीय तहमा ५३ जना संक्रमित थपिएका थिए।

संक्रमितहरुको संख्यामा कमि आउनु सुखद कुरा भएको नारायणी पीसीआर प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट डा. निरा पाठकले विश्लेषण गरिन्।

प्रकाशित मिति: : 2020-08-25 11:54:51

प्रतिकृया दिनुहोस्