‘कोमा’मा गएका रसियाली नेता नाभाल्नीकाे स्वास्थ्यमा सुधार, थप उपचारका लागि जर्मनी जाँदै

रसियाली चिकित्सकहरुले विपक्षी नेता अलेक्सी नाभाल्नीलाई जर्मनी जान दिन सहमत भएका छन्।

विमानमा रहेका बेला बिरामी परेर ‘कोमा’मा गएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक ४४ वर्षीय नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु सुरुमा उनलाई जर्मनी जान नदिने पक्षमा थिए।

साइबेरियाली शहर टोमस्कबाट राजधानी मस्को फर्कनेक्रममा बिमानमा असहज महशुस गरेका नाभाल्नीलाई बिहीबार आपतकालीन अवतरण गराएर ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो।

डाक्टरहरुले सुरुमा गम्भीर स्वास्थ्य अवस्थाका कारण उनलाई अर्को कुनै स्थानमा लैजान सक्ने स्थिति नरहेको बताएका थिए। उनी बिहीबारदेखि ओम्स्क अस्पतालको सघन उपचार कक्षमा बेहोस अवस्थामा रहेका छन्।

तर अहिले उनीहरु नाभाल्नीलाई विमानमार्फत् जर्मनी जान दिन सहमत भएको बिबिसीले जनाएको छ। ओम्स्क अस्पतालका प्रमुख चिकित्सक अलेक्जान्डर मुराखोभ्स्कीले नाभाल्नीको स्वास्थ्यमा केही सुधार भएको शुक्रबार बताएका छन्।

नाभाल्नीको टोलीका सदस्यहरुले उनलाई जर्मनी लैजान ओम्स्क बिमानस्थलमा स्वास्थ्य सागम्रीले युक्त एउटा बिमान तयारी अवस्थामा राखिएको बताएका छन्।

ओम्स्क शहर जर्मनीको शहरबाट करिब ४ हजार २०० किलोमिटर टाढा छ र यहाँबाट बिमानमा छ घण्टा लाग्ने छ।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन्। उनीहरुले विमानमा चिया पिएलगत्तै असहज महशुस गरेका नाभाल्नी त्यसयता बेहोस रहेको बताएका छन्।

नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताएका छन्। तर अधिकारीहरुले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन्। 

नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन्। गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए। सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र ‘कू’ का रुपमा परिभाषित गरेका थिए।

प्रकाशित मिति: : 2020-08-22 06:23:02

प्रतिकृया दिनुहोस्