श्रीमतीका लागि व्रत बसे गायक प्रमोद खरेल

तीजमा महिलाले श्रीमानको लामो आयूका लागि व्रत बस्ने कुरा सामान्य हो। अबिवाहित महिला भए 'राम्रो श्रीमान' पाऊँ भन्दै व्रत बस्ने चलन पनि यथावत नै छ। तर यी परम्परा र चलनचल्ती बिस्तारै परिवर्तन हुँदैछन्।

यस्तै परिवर्तनको उदाहरण बनेका छन्, गायक प्रमोद खरेल। प्रमोदले आफ्नो ट्विटर ह्यान्डलबाट यसपालिको तीजमा श्रीमतीका लागि आफू व्रत बस्ने खुलाएका छन्।

त्यस्तै तीजमा महिलाहरू आफ्नो श्रीमानको स्वास्थ लाभ र दीर्घायुको कामनासँगै व्रत बस्ने परम्परागत चलन छ। 

'श्रीमतीले आजको दिन सधैं श्रीमानका लामो आयुको लागि व्रत बस्छन्। तर उनी बिरामी भएको ३ महिना भयो। सुधार धेरै भए पनि उनी यसपालि सक्दिनन्,' प्रमोदले लेखेका छन्, 'यसपालि म उनका लागि किन नबस्ने? यसपालि मैले उनकै लागि व्रत बस्दैछु।'

झन्डै अढाइ महिनाअघि खरेल दम्पत्ति छोरी प्रत्यासीका आमाबुवा बनेका थिए। बच्चा जन्मने बेला श्रीमतीको शल्यक्रिया गर्नु परेकाले सुत्केरी अवस्थाबाट तंग्रिन दीपालाई लामै समय लागेको थियो। यस दौरान श्रीमतीको स्वास्थ्यका कारण प्रमोद निकै तनावमा परेका थिए। 

प्रमोदले श्रीमतीका लागि व्रत बस्ने कुरा सार्वजनिक गरेपछि ट्विटरमा धेरैबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।

प्रकाशित मिति: : 2020-08-21 14:17:17

प्रतिकृया दिनुहोस्