काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषद्को सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको अधिकार स्थानीय प्रशासनलाई दिएको थियो।
बैठकले अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय भएको छ। अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्द हुनेछ।
काठमाडौं उपत्यकामा मंगलबार सर्वाधिक २०५ जना कोरोना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित थपिएका थिए।