भारतका पूर्व क्रिकेटर तथा मन्त्री चेतन चौहानको कोरोनाका कारण निधन

सत्तरीको दशकमा भारतका चर्चित क्रिकेटर सुनिल गावस्करको ओपनर पार्टनर रहेका पूर्व ब्याट्सम्यान चेतन चौहानको ७३ वर्षको उमेरमा निधन भएको छ। 

उत्तर प्रदेश राज्यका मन्त्री समेत रहेका चौहानको आइतबार ह्दयघातका कारण निधन भएको हो। उनलाई कोरोना संक्रमणका कारण ११ जुलाईमा लखनउस्थित पीजीआई अस्पतालमा भर्ना गरिएको थियो।

 भर्ना भएदेखि उनको स्वास्थ्यमा खासै सुधार भएको थिएन। शनिबार उनको दुबै किड्नीले काम गर्न छोडेको थियो। उनलाई तत्कालै गुरुग्रामस्थित मेदान्ता अस्पताल भर्ना गरियो। जहाँ उनी भेन्टिलेटरमा थिए। 

उनी उत्तर प्रदेशको अमरोहा जिल्लाको नौगांवबाट सांसद निर्वाचित भएका थिए। सन् २०१७ को विधानसभा निर्वाचनमा जित हात पारेपछि उनलाई भारतीय जनता पार्टीको तर्फबाट युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको थियो। 

चौहान कोरोनाबाट निधन हुने उत्तर प्रदेशका दोस्रो मन्त्री हुन्। यसअघि कमला रानी वरुणको पनि निधन भएको थियो।

 चौहान ७० को दशकमा भारतीय क्रिकेटका भेट्रान ब्याट्सम्यान सुनिल गावस्करका प्रारम्भिक जोडी थिए। उनले ४० टेस्टमा २ हजार ८४ रन बनाएका थिए। 

उनी टेस्टमा कुनै पनि सतक नबनाई दुई हजार रन पुरा गर्ने थोरै ब्याट्सम्यानहरूमा पर्छन। बलरहरू प्रभावशाली रहने ७० को दशकको क्रिकेटमा उनले गावस्करसँग मिलेर १० वटा सतकीय साझेदारी गरेका थिए। उनले भारतका लागि ७ एकदिवसीयमा १ सय ५३ रन बनाएका थिए।

प्रकाशित मिति: : 2020-08-17 08:16:13

प्रतिकृया दिनुहोस्