सभामुख पहिरोस्थलमा, ३७ घरमा क्षति ३ दर्जनभन्दा बढी बेपत्ता

सिन्धुपाल्चोकको उत्तरपूर्वी विकट जुगल गाउँपालिका २ मा शुक्रबार बिहान पहिरो जाँदा ३७ घरमा क्षति पुगेको छ। ३८ जना पहिरोमा परी बेपत्ता भएका छन् ।

पहिरोले ८ जनालाई गम्भीर घाइते बनाएको छ। ४ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल चौतारा पुर्‍याइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार बिहानै आएको पहिरोले गावैँ क्षतविक्षत तुल्याएको छ। बम पड्किएजसरी विशाल आवाजका साथ आएको पहिरो गाउँको बीचबाट पस्दा ३८ जना बेपत्ता भएका छन्।

सिर्जनाका अनुसार तामाङ बाहुल्यको बसोबास रहेको लिदीभन्दा करिब १०० मिटर माथि १५ दिनअगावै चर्किएको र धाँजा फाटेको थियो। तत्काल सबै गाउँ सार्ने अवस्था नरहेकाले उनीहरूलाई पाल–त्रिपाल, प्लास्टिक आदि उपलब्ध गराएर बस्तीमा नबस्न सतर्क गराइएको उनले बताइन् ।

उनीहरू गाउँभन्दा केही पर सुरक्षित स्थानमा बस्ने गरेका थिए। रातिराति त्रिपालमा बस्ने र बिहानीपख के होला र भन्दै बस्तुभाउ स्याहार्न, खोलेपानी गर्न जाँदा लिदीबासीलाई पहिरोले छोपेको उनले बताइन्।

२०७१ साल साउनमा इटनी र राम्चेको पहाडै खस्दा २५० भन्दा बढी जुरेबासी बेपत्ता भएका थिए। जुरे खस्दा सुनकोसी नदी थुनिन पुगेको थियो। पुरिएकाको हाडखोरसमेत नभेटिएपछि एकमुष्ठ मृत घोषणा गरिएको थियो ।

पहिरोले गावैँ पुरेको खबर पाएपछि सभामुख अग्नि सापकोटासहितको टोली घटनास्थल पुगेको छ। पहिरोमा हराइरहेका खोजी भए पनि जीवितै भेटिने सम्भावना कम हुँदै गएको सिर्जनाले जानकारी दिइन्।

प्रकाशित मिति: : 2020-08-14 12:05:23

प्रतिकृया दिनुहोस्