फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ

सेतोपाटी

काठमाडौँ

डा लुना भट्ट, भाइरोलोजिष्ट

कोरोनाभाइरसको संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्।

मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो।

मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने त्यस्तो अवस्थामा मास्कले मात्रै संक्रमण रोकिँदैन। मास्क लगाएको भए पनि धेरै समय भीडभाडमा बस्न हुँदैन।

जतिखेर पनि साबुन पानी उपलब्ध नहुने भएकाले सेनिटाइजर गोजीमा राखेर हिँड्नुपर्छ। पैसा  वा अन्य सामान चलाउँदा सेनिटाइजर दल्नुपर्छ। कहीँ पनि बस्दा सेनिटाइजर भएको टिस्यु पेपरले पुछेर बस्नुपर्छ।

भीडभाडमा बसेर गफ गर्ने धेरैको बानी हुन्छ। यसलाई हामीले तत्कालै बन्द गर्नुपर्छ। सार्वजनिक स्थानमा बोल्ने, हाँस्ने काम एकदमै कम गर्नुपर्छ। भीडभाडमा सकेसम्म जानु हुँदैन, जानै परे धेरैबेर बस्नु हुँदैन। गएको अवस्थामा २ मिटर भौतिक दूरी कायम गर्ने कोशिश गर्नुपर्छ भने मास्क छुटाउनु हुँदैन।

प्रकाशित मिति: : 2020-08-14 11:17:33

प्रतिकृया दिनुहोस्