बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो। हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ।
कान्तिपुर दैनिकमा सहायक–सम्पादक रहेका पत्रकार बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन थिए। प्रहरीका अनुसार उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करीब पौने चार बजे देखापरेका थिए।
बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो। त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ ।
एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए। तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन्। त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन।
बानियाँले सोमबार दिउँसो करीब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए। त्यसपछि उनी सम्पर्कमा नरहेको कान्तिपुर पब्लिकेशनले जानकारी दिएको छ।
बुधबार बिहान मात्रै उनी तीनदिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले निवेदन दिएको थियो।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए। त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।