काेराेना संक्रमितकाे रिपाेर्ट नआउँदै अन्तिम संस्कार, मलामीमा जाेखिम बढेपछि बाह्रबिसे सिल

बिएल संवाददाता

सिन्धुपाल्चाेक

बाह्रबिसे ४ पलातिका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि बाह्रबिसे नगरपालिकाका केही क्षेत्र सिल गरिएकाे छ।

साउन २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएका पलातिकाका ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना परीक्षणको रिपोर्ट नआइकनै उनकाे २३ गते बाह्रबिसे बगरमा अन्त्यष्टि गरिएको थियो। 

उनमा कोरोना पुष्टि भएसँगैं मलामीमा संक्रमणको जोखिम बढेको भन्दै न्यूनिकरण गर्न नगरपालिकाले सिल गरेको जानकारी दिएको छ।

नगरपालिकाले वडा नम्बर २ पूर्वको कर्थली बुँदेपा, उतरपट्टि वडा नम्बर ३ को खाक्दल खोला, पश्चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र र दक्षिण तर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सीमानासम्मको चार किल्ला भित्र सिल गरेको छ।

सो ठाउँभित्र मानिसहरु आवतजावत गर्न, सवारी साधन चलाउन पूर्ण निषेध गरी व्यापार व्यवसाय लगायत अन्य क्रियाकलाप बन्द गरेको सूचना उल्लेख गरेको छ।

यस्तै अर्को सूचना नआउँदासम्मका लागि असार २३ गते दाहसंस्कारमा सामेल भएका, भेटघाटका क्रममा आएका र त्यसक्षेत्रका सम्पुर्ण नगरवासीलाई क्वारेन्टाइनमा बस्न नगरपालिकाले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-08-11 21:57:19

प्रतिकृया दिनुहोस्