एक साता भित्र भएका ६ जनाको मृत्युमा निजी स्वास्थ्य संस्था मात्र होइन सम्बन्धित निकाय पनि उत्तिकै दोषी देखिन्छन्।
यसअघिनै जिल्ला प्रशासन कार्यालय पर्साले कोरोनाको बहानामा कुनै पनि बिरामी उपचार नगर्ने निजी स्वास्थ्य संस्थालाई कानुनी कारवाही गरिने सूचना निकाले पनि ती संस्थाले सूचनाको वेवास्ता गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले यस्ता निजी स्वास्थ्य संस्थालाई कारवाहीको दायरामा ल्याउन नसक्नुले स्थानीय जनतामा आक्रोश उत्पन्न भएको देखिन्छ। स्वास्थ्य संस्थाको गैरजिम्मेवारीपूर्ण कार्यले भएको मृत्यु, सामान्य मृत्यु नभइ हत्या भएको भन्दै स्वास्थ्य संस्थामाथि मृतकका आफन्तले उचित छानबिन गरी दोषीमाथि कारवाहीको माग गरेका छन्।
यद्यपी अहिलेसम्म पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि कारबाहीको दायरामा नल्याउनु जिल्ला प्रशासन कार्यालयको गम्भीर गल्ती देखिन्छ।
प्रशासनको मौनताले थप व्यक्तिको ज्यान गएको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।
पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले वीरगंजवासीले सतर्कता नअपनाउदा यस्तो भयावह स्थिति आएको बताउँछिन्। तर के प्रहरीले आफ्नो भूमिका र जिम्मेवारी ईमानदारीपूर्वक निर्वाह गर्यो त? वीरगंजको पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्म मेनरोड मात्र प्रवेश निषेध गर्दैमा समस्याको समाधान हुने होइन उपरीक्षक ज्यू।
साधारण जनताको लागि भारत-नेपाल सीमाना बन्द गरिए पनि तस्करीको लागि सिमाना रातदिन खुल्लै छ। सीमापारीबाट पैसा लिएर मानिसलाई नेपाल छिर्नदिनुमा, के प्रहरीको दोष देखिन्न? वीरगंजमा सामुदायिकस्तरमा कोरोना फैलाउनमा स्थानीय जनताभन्दा पनि प्रहरी निकायको दोष बढी देखिन्छ।
एक अर्कामाथि दोषारोपणको बन्द गरेर स्थानीय जनतासँग हरेक काम कारबाहीमा समन्वय गरेमा सायद यस्तो अवस्था आउन्न थियो होला।
अहिलेको स्थिति आउनुमा पूर्वयोजनाको कमी, विज्ञ चिकित्सकको कमी, सम्भावित संक्रमितको लागि पूर्व एकान्तवासको व्यवस्थाको कमी, राहत व्यवस्थापन सम्बन्धी पूर्व योजना तथा अनुमान नहुनू तथा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य सम्बन्धी संस्था बीच परस्पर समन्वयको कमीले गर्दा वीरगन्जले भयाभह झेल्नु परेको हो।
बढ्दो संक्रमणले वीरगन्ज महानगरका प्रमुख जिम्मेवार राजनीतिक एवं सामाजिक ब्यक्तित्व आइसोलेट भएपछि वीरगन्जको पूर्ण जिम्मेवारी यहाँका युवामाथि आईपरेको देखिन्छ।
सरकार र सरोकारवाला ब्यक्ति एवं संस्था जब आफ्नो जिम्मेवारी बाट भाग्छ त्यतिबेला सामाज आफ्नो अस्तित्व माथिको खतरासँग लड़दै इतिहास रचेको थुप्रै उदाहरण भेटिन्छन्। मधेस आन्दोलन् होस या देश निर्माणका लागि हुने हरेक क्रियाकलापमा वीरगन्जको युवा सामाज आफ्नो जिम्मेवारी र बलिदानीदेखि कहिले पछि हटेन।
वीरगन्जमा पछिल्लो एक सातामा भएका ६ घटनाक्रमले यहाँका निजी अस्पताल तथा डाक्टरी पेशाप्रति स्थानीयको सोच बदलिदिएको छ।
कोभिड़-१९ भन्दा पनि अरू रोगले थलिएका सामान्य बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनुपरेको छ।
अस्पतालहरूले कोरोनाको बहाना देखाएर रूघा खोकीका सामान्य बिरामीलाई पनि भर्ना लिन नमान्नू दुर्भाग्यपूर्ण हो। यसबाट मानवसेवाको लागि समर्पित हुने भन्दै खोलिएका व्यापारिक अस्पतालले पनि आफ्नो जिम्मेवारीबाट पछि हटेको आभास हुन्छ।
स्वास्थ्य र शिक्षा जनताको आधारभूत मौलिक अधिकार हुन्। तर निजी स्वास्थ्य संस्थाले गरेका यस्ता अमानवीय कार्यले मौलिक अधिकारको हनन भएको ठहर्दै सरकारले यस्ता स्वास्थ्य संस्थालाई आफ्नो मातहतमा राखी आधुनिकीकरण गरी चलाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता देखिएको छ।
नारायणी अस्पताल तथा नारायणी अस्पतालको मातहतमा रहेको कोभिड़-१९ अस्पतालहरुको लापरवाहीमा मेडिकल सुपरिटेन्डेंटको कमी कमजोरी देखिन्छ।
पर्याप्त स्वास्थ्य उपकरण बिना आफ्नो ज्यान जोखिममा राखेर दिनरात कोभड-१९ संक्रमितको स्वास्थ्य सेवामा लागिरहेका डाक्टरको काम सह्राननीय छ। वीरगंजका संचारमाध्यमले पनि यस्तो बेलामा खेलेको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको छ। यद्यपी वीरगन्ज भनेको गण्डकदेखि भन्सारसम्म मात्र होइन भन्ने सञ्चारमाध्यमले बुझ्न जरूरी छ। संचारको दायरा फराकिलो पार्न जरूरी देखिन्छ।
एक साता भित्रका घटनाक्रम :
घटना १ : साउन २० गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सोही दिन राति ९:०० बजे एम्बुलेन्समार्फत वीरगन्ज हेल्थ केयर (कोभिड-१९ अस्पताल) पुगेका वीरगन्ज महानगरपालिका १५ का प्रमोद कुशवाहाको २१ गते बिहान ५:३० बजे संकास्पद मृत्यु हुन्छ ।
साउन २१ गते बिहान ५:२८ बजे कुशवाहाको कान्छो छोराले बाबूलाई फोन गर्छन्। बाबुले छोरालाई अस्पतालको व्यवस्था सम्बन्धी गुनासो गर्छन्, ‘बाबु अस्पतालभन्दा घर नै ठीक थियो।’ त्यसपछि बिरामीलाई सम्पर्क गर्दा फोन उठदैन उनका दाजू सुनाउछ्न । एक्कासी अस्पतालबाट बिहान ८:१५ बजे दाजू रामदरशलाई फोन आउछ र तपाई प्रमोद कुशवाहाको आफ़न्त बोल्नु भएको हो । यताबाट उतरमा हो, सुनेपछि महिला कर्मचारीले भन्छिन, ‘ सर हामी धेरै प्रयास गर्यौ ICU भेंटिलेटर सम्म तर हामी हजूरको भाईलाई बचाउन सकेनौ । उहाको बिहान ५:३० बजे दुखद निधन भयो ।
अस्पतालको लापरवाहीकै कारण भाइको अकालमा ज्यान गएको मृतकका दाजु रामदरश र भाइ उदयनारायणले बताए।
‘हामी न्यायको लागि सम्बन्धित निकायदेखि प्रशासन एवं सुरक्षा निकायसम्म गुहार्यौं। तर कतैबाट सन्तोषजनक जवाफ आएन। मृतकको परिवार पीडामा भए पनि अस्पतालको लापरवाहीले अरुको ज्यान नजाओस् भन्दै उनको उपचार कसरी भएको आफ्नो सन्तुष्टिको लागि उपचार कक्षमा जड़ित CCTV क्यामेराको फुटेज अस्पतालले देखाउनुपर्ने भन्दै जिल्ला प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायसँग अनुरोध गरे पनि अहिलेसम्म सन्तोषजनक जवाफ कतैबाट आएको छैन’, उनले भने।
मृत्यु प्रमाणपत्रमा पनि मृत्युको समय ६:३० बजे लेखिएको छ, अस्पतालले नै साढे ५ बजे भने पनि समय फरक परेपछि आपत्ति जानाउँदा पनि केही प्रतिउत्तर अस्पतालबाट नपाएको गुनासो गरे।
घटना २ : साउन २२ गते वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ६० वर्षीय चलितर महतो बिरामी पर्छन्। कोरोना नेगेटिभ भएपछि परिवारजनले उनलाई उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेज लैजान्छन्। तर पीसीआर रिपोर्ट नेगेटिभ हुँदाहुँदै पनि अस्पतालले भर्ना लिन मान्दैन। NMC आकस्मिक कक्षको गेट अगाडि नै रिक्सामा बिरामीको मृत्यु हुन्छ।
आकस्मिक कक्षका चिकित्सकलाई समेत पीसीआर नेगेटिभ रिपोर्ट देखाउँदा पनि भर्ना नलिएको मृतकका भाइ शम्भु महतोले बताए। ‘समयमा उचार नपाएर दाइको मृत्यु भयो।’
घटना ३ : साउन २३ गते वीरगन्ज महानगरपालिका वडा नम्बर २ की २० वर्षीय युवती बिष्णु लामालाई बिहान सामान्य ज्वरों र खोकी लाग्छ। सोही दिन राति लगभग १० बजे श्वासप्रश्वासमा समस्या आएकाले उनका भिनाजु रूपेश सिंहले उनलाई अटोमा राखेर वीरगन्जको एड्भान्स हस्पिटल लैजान्छन्।
अस्पतालका चिकित्सकले बिरामीमा कोरोना संक्रमणको लक्षण देखिएकाले त्यहाँ इमरजेंसी सेवा बाहेक बाँकी सेवा बन्द रहेको भन्दै बयोधा अस्पताल लैजान शुक्रवार मात्रै अस्पतालका चिकित्सक तथा नर्स समेत १५ जनामा कोरोना संक्रमण र त्यहीँ अस्पतालको आईसीयूमा मृत्यु भएका दुई महिलामा पनि कोरोना पुष्टि भएकाले यहाँका डाक्टरहरुलाई कोरोना लागेको भन्दै बयोधाले पनि उपचार गर्न नसक्ने भन्दै फिर्ता पठाउँछ।
बिरामी लामालाई कोभिड़-१९ विशेष अस्पताल गण्डक लिएर जान्छन। गण्डक अस्पतालले कोरोना पुष्टि नभएका बिरामीलाई राख्न मिल्दैन भन्दै फर्काउँछ।
त्यसपछि बिरामीलाई भवानी अस्पताल लगिन्छ। त्यहाँ पनि गेट बाहिरबाटै बिरामीलाई फर्काउँछ। त्यसपछि उनलाई तराई अस्पताल लगिन्छ। बिरामीको लक्षण थाहा पाउनासाथ तराई अस्पतालले पनि आईसीयू खाली नभएको भन्दै बिरामी फर्काउँछ।
बिरामी लाई ततपश्चात वीरगन्जको NMC लिएर गईन्छ तर त्यहा पनि अनेकों प्रयास बिफल हुन्छ र त्यहाँबाट पनि फर्काईन्छ। एक स्थानीय पत्रकार र युवा नेताको पहलमा उनलाई पुनः नारायणी अस्पताल लगिन्छ। नारायणीमा ड्यूटीमा खटेका चिकित्सकले यहाँ सामान्य उपचार मात्रै सम्भव छ तर बिरामीको लक्षण कोरोनाको देखिन्छ त्यहीँ भएर यहाँ उपचार सम्भव छैन भन्दै पुनः पर्काईदिन्छन्।
त्यसपछि उनलाई नारायणी अस्पतालको अस्थायी कोभिड़ अस्पताल वीरगन्ज हेल्थ केयर लगिन्छ। वीरगन्ज हेल्थ केयरले नन-कोभिड़ बिरामी भर्ना गर्न मिल्दैन भन्दै फर्काउँछ।
पत्रकार र युवा नेता तबरेज आलम कै पहल र डाक्टर उदय नारायण सिंहको समन्वयमा बिरामीलाई पुन कोभिड़-१९ विशेष अस्पताल गण्डक लगिन्छ। गण्डक अस्पतालको गेटमा उपचार पाउनु पूर्व नै उनको मृत्यु हुन्छ।
घटना ४ : वीरगन्ज महानगरपालिका २५ का ६५ वर्षीय बृद्ध महिला मधुमेहबाहेक उनको ढाड़ दुख्ने समस्या छ। तर प्राय सामान्य उपचारले ठीक हुन्छिन्। साउन २४ गते राति उनलाई ढाड़को समस्याले थला पार्छ। ढाडको दुखाई सहन नसकेर उनलाई वीरगंजको एड्भांस हास्पिटल लगिन्छ। एड्भान्स हस्पिटलले भर्ना लिन नमानेपछि उनलाई नेशनल मेडिकल कलेज लगिन्छ।
नेशनल मेडिकलले पनि भर्ना लिन नमानेपछि उनलाई नारायणी अस्पताल लगिन्छ। नारायणी अस्पतालले पनि भर्ना लिन नमानेपछि उनलाई नेपाल-इण्डो अस्पताल लगिन्छ। त्यहाँ पनि भर्ना लिन मान्दैन त्यही क्रममा बिरामीको मृत्यु हुन्छ।
मृतकका नाती अर्जुन साह दुःख सुनाउँदै भन्छन्, ‘मेरो हजुरआमा बाचुञ्जेल कुनै पनि अस्पतालले भर्ना लिन मानेन अब उनको मृत्युपछि स्वाब संकलनको लागि लास चाहियो रे। समयमा उपचार नपाएर मेरो हजूरआमाको मृत्यु भयो।’
घटना ५ : साउन २३ गते वीरगन्ज महानगरपालिका १३ का ६२ वर्षीय शारदा देवी रौनियारलाई राति श्वासप्रश्वासको सममस्या देखिन्छ र उनलाई तराई अस्पताल लगिन्छ। तराई अस्पतालाले भर्ना लिन नमानेपछि बिरामीलाई नेशनल मेडिकल कलेज पुर्याइन्छ। त्यहाँ पनि भर्ना लिन नमानेपछि अन्तत नारायणी अस्पताल लगिन्छ। नारायणी अस्पतालको आकस्मिक सेवा कक्ष आगाडि शनिवार बिहान पौने ११ बजे उनको मृत्यु हुन्छ।
‘कोरोना परीक्षण नेगेटिभ भए पनि निजी अस्पतालले भर्ना लिन मानेनन्। यदि अस्पताल र चिकित्सकले चिकित्सकीय धर्म अपनाएको भए अकालमै मृत्यु हुने थिएन’, मृतकका एक आफन्तले गुनासो गरे।
घटना ६: साउन २४ गते वीरगन्ज महानगरपालिका-७ रामटोलका कक्षा ११ मा अध्यन्नरत छात्र अनीश गुप्ताको स्वास्थ्य खराब हुन्छ र उनका आफ़न्त उनलाई नारायणी अस्पताल लिएर जान्छन्। अस्पतालले भर्ना लिन अस्वीकार गर्छ र त्यहाँबाट उनलाई नेशनल मेडिकल कलेज लगिन्छ तर अस्पताल नपुग्दै बाटोमा उनको मृत्यु हुन्छ।
मृत्यु पश्चात प्रहरीले उनको स्वाव शंकलनका लागि भन्दै मृतकको घर पुग्छन तर स्थानीयको बिरोध पश्चात प्रहरी फर्किन्छन् र उनको अन्तिम संस्कार गरिन्छ।
अन्तत: कोरोना महामारीको संक्रमणकालमा वीरगन्जमा घटित यी घटनाक्रमको दोषी र ज़िम्मेवार को त? के ती स्थानीय जनता दोषी छन् जसले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्यो। या ती स्वास्थ्य संस्था दोषि छन् जसले कोभिड़-१९ को नाममा सामान्य उपचार र आफ्नो मानव प्रतिको दायित्वबाट पन्छिन खोज्दैछन्। या जिल्ला प्रशासन कार्यालय जसले निजी स्वास्थ्य संस्थालाई उपचार नगरे कानूनी करवाही गर्ने सूचना निकाले पनि मौन बसेको छ। या ती सुरक्षा निकाय जसलाई मारणोप्रान्त स्वाब संकलनलाई शव चाहिन्छ तर बाचुञ्जेल उपचारको व्यवस्था मिलाउन सक्दैन? जवाफ को सँग छ?