साँगा नाकाबाट काठमाडाैं उपत्यका प्रवेशमा रोक

विभिन्न जिल्लाबाट साँगा नाका हुँदै काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाइएको छ।

उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको बताए।

साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको उनले बताए। विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको प्रनाउ जोशीले बताए।

उनका अनुसार साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकलबाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको छ। पास भएका सवारी साधन पनि साँझ ७ बजेपछि प्रवेश गर्न पाउने छैनन्।

ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन्। तर, ढुवानीका साधनमा पनि एक चालक र एक सहचालकबाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताए।

प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ। राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ।

प्रनाउ जोशीले भने, “राति ९ बजेदेखि बिहान ५ बजेसम्म तोकिएकोबाहेक कुनै पनि यातायात सञ्चालन गर्न पाइने छैन, त्यो अवधिमा पैदल यात्रीलाई समेत हिँडडुल गर्न रोक लगाएका छौं। त्यसैले ९ बजेभित्र सबैजना आ–आफ्नो घर पुगिसक्न आग्रह गर्दछौँ।”

त्यस्तै, राति ९ बजेपछि कुनै पनि पसल, होटल, रेस्टुरेन्ट सञ्चालनमा रोक लगाइएको छ। काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिइएको छ।

केही दिनअघि नमूनाका रूपमा साँगा नाकाबाट उपत्यका प्रवेश गर्ने ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको हो। लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ। (रासस)

प्रकाशित मिति: : 2020-08-10 11:22:19

प्रतिकृया दिनुहोस्