काठमाडौं :
दृष्टान्त १
एमाले र माओवादी केन्द्रबीच २०७४ असोज १७ गते ६ बुँदे सहमतिसँगै वाम एकताको यात्रा आरम्भ भयो। त्यस क्रममा २६ महिनाअघि २०७५ जेठ ३ गते दुई पार्टीबीच एकीकरण भयो। नाम रह्यो— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)। पार्टीका जोर पाइलट (अध्यक्ष) घोषणा गरिए केपी शर्मा ओली र पुष्पकमल दाहाल। पार्टी र सरकार सञ्चालन, दुई अध्यक्षको कार्यविभाजनलगायत विषयमा यसबीच ओली-दाहाल खटपट चलिरह्यो।
एकतापूर्व आलोपालो सरकार सञ्चालनको सहमति गरेका दुई नेताले २०७६ मंसिर ४ मा नयाँ ढंगले कार्य विभाजन गरे। ओलीले पाँच वर्षै सरकार र दाहालले पार्टी सञ्चालन गर्ने सहमति भयो। तर, उक्त सहमति कार्यान्वयन र दुई अध्यक्षबीचको नेतृत्व टकरावका कारण नेकपामा विवाद चर्किएको छ। आरोप÷प्रत्यारोप कति उत्कर्षमा छ भने पार्टी एकताबद्ध रहन्छ या फुट्छ ? अहिले दोसाँधमा छ।
विश्लेषक श्याम श्रेष्ठ नेकपामा समस्याको मुख्य जड बहुपदीय प्रणाली नै रहेको बताउँछन्। ‘जबसम्म बहुपदीय नेतृत्व प्रणाली रहन्छ तबसम्म साना-ठूला दुर्घटना भइरहन्छन्। दुर्घटनाको कारक बहुपदीय नेतृत्व प्रणाली नै हो, जसले देशलाई नै अस्थिरतातिर धकेल्छ’, विश्लेषक श्रेष्ठ भन्छन्,
‘अहिले सत्तारूढ नेकपामा नेताको अभाव होइन, नेतृत्व गर्ने मान्छेको अभाव हो। नेकपामा सर्वस्वीकार्य नेता छैनन्। एउटा नेताले अर्कोलाई मान्दैनन्। यही कारण किचलो जारी छ।’
दृष्टान्त २
जनता समाजवादी तीन महिनाअघि मात्रै एकीकृत भएको पार्टी हो। समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकतापछि गठित जनता समाजवादीले पनि बहुअध्यक्ष प्रणाली अंगीकार गरेको छ। अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्। पार्टीले कानुनी मान्यता सबै पाइसकेको छ तर वरीयता विवाद चर्को छ। उपल्लो तहका नेताहरू ‘पर्ख र हेर’को रणनीतिमा छन्। एकीकृत पार्टीले आफ्ना मुद्दासमेत बलियो गरी उठाउन सकेको छैन। केही शीर्ष नेता भूमिकाविहीन छन्। उनीहरूको असन्तुष्टि बढिरहेको देखिन्छ।