गोंगबु विभत्स हत्या अपडेटः शव अरु ठाउँमै टुक्राटुक्रा पारेकाे प्रहरीको प्रारम्भिक निष्कर्ष

राजधानीको  गोंगबुस्थित गणेशस्थान नजिकै सुटकेश र जेब्रा झाेलामा भेटिएकाे शव अरु ठाउँमा टुक्रा टुक्रा पारेर त्यहाँ ल्याएर राखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेकाे छ।

अन्दाजी ४५ वर्षका पुरुषकाे शव आइतबार बिहान टोखा १० स्थित नवज्योती मार्गको सडक खण्डको छेउमा कालो सुटकेस भित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा शव फेला परेको थियो ।

ती व्यक्तिको सनाखत हुन सकेको छैन।

सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो। सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा शव थियो। 

शव भेटिएपछि प्रहरी तालिम प्राप्त कुकुर समेत परिचान गरिएको थियो। कुकुरले शव सुँघेपछि करीव तीन सय मिटर पर पुगेको थियो। त्यहाँ पुगेर हेर्दा अर्को शंकास्पद झोला फेला पर्‍यो। झोलामा काँटिएको टाउको र खुट्टा थियो।

टाउको र खुट्टा शव भएको ठाउँभन्दा ३०० मिटर टाढा भेटिएको थियाे।

‘उपत्यकाभित्र नै हत्या गरिएको गरेर ल्याएर फ्याँकेकाे हुनसक्ने सम्भावना छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहानैदेखि घटनाको प्राविधिक पक्षको अनुसन्धान गरिरहेको छ।  

तर अधिकारीहरुका अनुसार सुटकेश र जेब्रा झोला राखिएको ठाउँ सिसिटिभीको फ्रेमभन्दा बाहिर छ। 

त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ। त्यहाँकाे सिसिटिभी फुटेज शनिबार प्रहरीले हेरिरहेको छ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ।

प्रकाशित मिति: : 2020-08-09 14:20:34

प्रतिकृया दिनुहोस्