‘उमेर र तागत हुँदा जोश आउने रहेछ, उमेर ढल्किँदै गएपछि झोंक चल्दोरहेछ’
मर्दी पदमार्गमा कालिमाटीबाट उभो लागेपछि एउटा घना जंगल आउँछ। जंगलको बीचमा केही चौर जस्तो देखिन्छ। जहाँ साना–साना छाप्रा छन्। छाप्रामा केही भैंसी देखिन्छन्। र, त्यही भैंसीगोठमा बस्छन्- कास्कीको माछापुच्छ्रे ८ कालिमाटीका ५६ वर्षीय पूर्णभद्र ढुंगाना।
पूर्णभद्रको गोठमा ५ वटा भैंसी छन्। भैंसी चराउने, घाँस काट्ने, दूध दुहुने, मोही मथ्ने र घ्यु बनाउने उनको दैनिकी हो। गाउँबाट झण्डै ३ घण्टाको उकालो चढेपछि गोठ आउँछ। उनकै गोठ हुँदै मर्दी पदमार्गको फरेस्ट क्याम्प पुगिन्छ।
समाजबाट टाढिएर गोठमा दैनिकी बिताउनु उनका लागि नौलो कुरा होइन। उनका बाबु–बाजेले पनि यसरी नै जंगलमा गोठ बनाएर बसे। यसरी नै भैंसी पाले। तर, उनी यसरी जंगलमा एक्लै ‘भैंसी गोठालो’ बसेको भने धेरै भएको छैन।
पूर्णभद्रको हकमा दुई वर्ष अघिसम्म उनको दिनचर्या अर्कै थियो। त्यसभन्दा अघिको दिनचर्या झनै भिन्नै।
पूर्णभद्र सानो छँदा संस्कृत पढे। बुवाले उनलाई संस्कृत पढ भनेका थिए। उनका बुवा गाउँका कहलिएका पण्डित थिए। गाउँमा मर्दा–पर्दा उनकै बुवाले पण्डित्याइँ गर्थे। संस्कृत पढे पनि उनले पण्डित्याइँ गरेनन्, बरु नेपाल प्रहरीमा भर्ती भए।
२०४४ सालमा भर्ती हुँदा पूर्णभद्र २० वर्षका थिए। सेवामा रहँदा उनले अनुशासनका पुरस्कार पाए। पछि २०६० साल भदौमा हवल्दार हुँदै उनले अवकाश लिए। उनले अवकाश लिने बेलासम्म नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा थियो। युद्धका बेला दुर्गमतिर पनि सरुवा भए। संयोगले उनी भएका ठाउँमा माओवादी आक्रमण भएनन्, उनीहरू पनि आक्रमणमा उत्रनु परेन।