सदरमुकाममा खानेपानी पुनःसञ्चालन

व्यास नगरपालिका–४ स्थित बैरेनीमार्गमा २२ दिनपछि खानेपानी पूर्ण रुपमा सञ्चालन भएको छ।

गत असार २९ गतेको पहिराले खानेपानीको पाइप क्षति पुगेपछि अवरुद्ध भएको खानेपानी २२ दिनपछि सञ्चालन भएको हो। 

पहिराले पाइप क्षति पुगेपछि दमौलीमा खानेपानीको हाहाकार भएको थियो।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक अमर गिरीका अनुसार पहिराले जिआइ पाइप बगाएको ठाउँमा ढलान गरिएपछि मङ्गलबार साँझदेखि खानेपानी वितरण गरिएको हो।

पहिराले ४२ इन्चको जिआइ पाइपमा क्षति पुगेको बताउँदै उनले भने, ‘उक्त स्थानमा गाह्रो लगाएर ढलान गरेपश्चात् खानेपानी पुनःसञ्चालन भएको छ। मङ्गलबार साँझबाटै पानी छाड्यौँ, आज बिहानदेखि पूर्णरुपमा खानेपानी वितरण भएको छ।’ 

पहिराले पाइपमा क्षति पुगेपछि समितिले दैनिक बिहान एक घण्टा मात्रै पानी वितरण गर्दै आएको थियो। 

तनहुँ सदरमुकामस्थित व्यास नगरपालिका वडा नं २, ३ र ४ मा समितिले खानेपानी वितरण गर्दैै आएको  उनले जानकारी दिए। 

‘तीन वडामा दैनिक ३० लाख लिटर खानेपानीको आपूर्ति भइरहेको थियो, पहिराले पाइप क्षति पुगेपछि भने दैनिक १० लाख लिटर मात्रै पानी वितरण गरेका थियौँ’ उनले भने।

फेरि पनि खानेपानी सम्बन्धि समस्या आएमा दैनिक ३० लाख लिटर नै पानी वितरण हुने उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-08-05 12:03:06

प्रतिकृया दिनुहोस्