निर्दयी शहरले कप्लक्कै घर निलेको एउटा कथा

शिशिर वैद्य

काठमाडौं

शहर जसले सलह झैं असंख्य मान्छेका

सुनौला सपना खाएको छ

शहर जहाँ धेरैको भविष्य हराएको छ...

तारा सुवेदीका शब्दहरुमा जस्तै शहरले वास्तवमै असंख्य मानिसको सुनौलो सपना निलेको छ। भविष्य खोसेको। यो शहर निर्मम छ।

‘ऊ त्यो हरियो रंगको भित्तो मेरो कोठा थियो। त्यो सुन्तला बेचिरहेको ठेला बसेको ठाउँमा चैं मेरो घर,’ चाबहिल गणेश दर्शन सकिएर पसल खोल्न हिँड्दै गरेका विकुनारायण वादे श्रेष्ठ सडक विस्तारले अस्तित्व नै गुमाएको आफ्नो ‘घर’ देखाउँदै थिए। छयत्तर बसन्त पार गरिसकेका श्रेष्ठ मेहेनत गरी बनाएको घरबाट अचानक विस्थापित भए, आठ वर्षअघि। त्यही पीडाको पोको खोलिरहेका छन् उनी। सुस्तरी अघि बढ्दै थिए उनका पाइला। बोल्दै गर्दा स्वर कतै अड्किए जस्तो अनुभूति हुन्थ्यो। उनका आँखा रसाउन खोज्दै थिए।

१९९३ सालमा उनका बाजे व्यापार र समृद्दिको सपना बोकेर बनेपाबाट काठमाडौं बसाईं सरेका थिए। चाबहिल पूर्व, पुरानो बस्ती पारी, जम्मा जम्मी सात आठ घर थिए त्यतिबेला। बाँकी खेतै खेत। तीन सय रुपैयाँमा किनेको जग्गामा घर बनाएर कपडाको व्यापार शुरु गरेका थिए बाजेले। गोरेटो छेउमै थियो घर। अहिले जस्तो फलामे सटर भित्रिएकै थिएन। सिन्धुपाल्चोक, तारामाराङ, मेलम्ची, हेलम्बु आदि ठाउँबाट उनीकहाँ कपडा किन्न आउँथे भोटेहरु। बौद्धमा बाक्लो बस्ती भए पनि व्यापारको केन्द्र चाहिँ चाबहिल नै थियो।

शहरले सपना देखाउँछ पनि र भत्काउँछ पनि। श्रेष्ठ परिवारको सपना पनि शहरले भत्काइदियो। पहिलो पटक २०३० सालमा। चक्रपथ निर्माणका लागि उनको जग्गा अधिग्रहणमा पर्‍यो। श्रेष्ठसमेत चार घर परिवार विस्थापित बने। व्यापार व्यवसाय भताभुङ्ग भयो। मुआब्जा पाए, अठार हजार रुपैयाँ। अधिग्रहणपछि बचेको जग्गामा श्रेष्ठ परिवारले जेनतेन फेरि घर ठड्याए, २०३१ सालमा। घर बनाउने स्वीकृति पाउन निकै हन्डर खानु परेको उनलाई झल्झल्ती छ। चक्रपथ आयोजनाका एक कर्मचारीले उनलाई निक्कै असजिलो बनाइरहे। घर बनाउने स्वीकृति पाएनन् श्रेष्ठले। आफ्नै जग्गामा घर बनाउन श्रेष्ठ निर्माण तथा यातायात मन्त्री गुहार्न पुगे। मन्त्रीका सचिवसँग परिचय थियो। नत्र जाबो घर बनाउने विषयमा मन्त्रीको समय कहाँ पाउँथे?

प्रकाशित मिति: : 2020-08-01 23:39:16

प्रतिकृया दिनुहोस्