स्टार अन्तर्राष्ट्रिय खेलाडी–३
सन् १९८६ को जनवरीमा इटालीका स्टार स्ट्राइकर रोबर्टो बाजियो पहिलो पल्ट आफ्नो देशको युवा टोलीमा समावेश भए। त्यही वर्ष उनी इटालीको घरेलु ‘ए’ डिभिजन क्लब फ्लोरेन्टिनोबाट खेल्दै थिए। साम्पडोरियाविरूद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा उनको घुँडामा नराम्ररी चोट लाग्यो। उनको देब्रे घुँडा खुस्कियो। ३–४ महिनाको विश्रामपछि उनी पुनः खेलमा फर्किने तयारी गरिरहेका थिए। त्यति बेला उनको उमेर थियो, मात्र १९ वर्ष। उनी राम्रोसँग तंग्रिन सकिरहेका थिएनन्। एकपल्ट हिम्मत बटुलेर अभ्यास सत्रमा पनि सहभागी भए। तर, १० मिनेटको प्रयासपछि उनलाई महसुस भयो, अब फुटबल खेल्न सकिन्न।
त्यति नै बेला उनी फ्लोरेन्टिनोका एक मित्र मोरिचियोसँग बढी नै घुलमिल हुन पुगेका थिए। मोरिचियो बौद्ध धर्मालम्बी थिए। उनले सधैं खेलको तनावमा रहने बाजियोलाई सन् १९८७ मा पहिलो पल्ट बौद्ध धर्मको विषयमा जानकारी दिए। र, बाजियोलाई तनावमुक्त रहन बौद्ध धर्मसम्बन्धी किताब पढ्न र ध्यानमा बस्न प्रोत्साहन गरे।
सानोमा आफ्ना क्रिश्चियन परिवारसँग चर्चमा प्रार्थना गर्दै हुर्किएका बाजियोका लागि बौद्ध धर्म नौलो अनुभव थियो। त्यसैले उनी चाँडै आफ्नो साथीको भनाइबाट यति प्रभावित भए, एक दिन उनको व्यवहारबाट मोरिचियो नै दंग परे।
सन् १९८८ को नयाँ वर्ष अर्थात जनवरी १ मा बाजियो बिहान साढे सात बजे मोरिचियोको घर पुगेका थिए। त्यो दिन मोरिचियो नयाँ वर्ष मनाउने क्रममा बिहान साढे ४ बजेमात्र घर छिरेका थिए। बाजियोले फ्लोरेन्टिनास्थित मोरिचियोको घरको ढोका ढकढकाउँदा उनी मस्त निन्द्रामा थिए। ढोका ढकढक गरेको आवाज आएपछि निन्द्रामै ढोका खोल्न पुगेका मोरिचियो त्यति बेला चकित परे, जब उनको अगाडि उभिएका बाजियोले भने, ‘म बौद्ध धर्म अपनाउन चाहन्छु।’
अर्धनिन्द्रामा बाजियोको कुरा सुनेका मोरिचियो तीन फ्ल्याट खाए। र, आँखा उघार्दै सोधेछन्, ‘तिमी पागल त भएनौं, यति बिहानै यही कुरा गनै आएको?’
तर, कोठामा यी साथीबीच चलेको छोटो वार्तालापपछि बाजियोले आफ्नो भनाइ स्पष्ट पारे, जुन कुराबाट मोरिचियो यति प्रभावित भए कि, उनले त्यो चिसो दिन बाजियोलाई आफ्नो कोठामा बौद्ध धर्मको ज्ञान दिए। वास्तवमा त्यो दिन बाजियोका लागि नयाँ वर्षको पहिलो दिन मात्र थिएन, उनको जीवनकै ठूलो खुड्किलो पनि थियो।
त्यो दिनदेखि बाजियो बौद्धत्व प्राप्त गर्न रातदिन खटिएका छन्। तर, उनले आफ्नो फुटबल यात्रालाई पनि निरन्तरता दिइराखे। आजभोली बाजियो दिनको दुई पल्ट, त्यो पनि १–१ घण्टा ध्याक्रिया र पुजामा व्यस्त हुन्छन्। अझ फुर्सदको समय उनको पुजा र ध्यानको समय कति लामो हुन्छ, त्यो अनुमान गर्न गाह्रो छ। उनी लामो समय ध्यानमा लीन हुन्छन्। उनी कर्ममा विश्वास राख्छन् र सबैजना आफ्नो कर्मका कारण सुखी र दुःखी हुने पौराणिक मान्यतालाई उचित ठान्छन्। बौद्ध धर्म अंगाल्नुअघि, जब उनको घुँडामा चोट लागेको थियो। उनी आफैंलाई प्रश्न गर्नेगर्थे, ‘मलाई मात्र किन?’
बौद्ध धर्म अंगालेपछि उनी ‘जीवन कटु यथार्थ हो’ भन्ने दर्शनबाट प्रभावित भए। र, जीवनलाई नयाँ ढंगले हेर्ने, बुझ्ने र परिभाषित गर्ने मौका पाए। चोटका कारण उनले सुरुमा आफ्नो फुटबल जीवन समाप्त भएको ठहर गरिसकेका थिए। तर, बौद्ध धर्म अपनाएपछि उनमा अथाह आत्मविश्वास जाग्यो। उनले आफ्नो अन्तर्वार्तामा जहिल्यै भन्दै आइरहेका छन्, ‘बौद्ध धर्म अंगालेपछि मैले महसुस गरेँ, जीवन भनेकै संघर्ष हो। र, यसैले मलाई चुनौतीको सामना गर्न साहस प्रदान ग¥यो।’
बाजियो फुटबलमा आफ्नो पुनरागमनको श्रेय बौद्ध धर्मप्रति आफ्नो अथाह विश्वासलाई दिने गर्छन्। केही वर्षअघि इटालीको स्थानीय समाचारपत्रमा छापिएको एउटा समाचारले उनलाई निकै भावुक र उदास बनायो। पत्रिकामा बाजियोको फुच्चेका साथी तथा पूर्व खेलाडी लागु औषध दुब्र्यसनका कारण निधन भएको समाचार छापिएको थियो। उनी त्यति बेला आफ्नो साथीलाई सहयोग गर्न नपाएको र उनले बौद्ध धर्म अवलम्बन गरेको भए, त्यो घटना नहुने भन्दै उदास बनेका थिए। उनले त्यति बेला आफूले बेलैमा बौद्ध धर्म नअपनाएको भए दुब्र्यसनीमा कारण साथीको जस्तै हालत आफ्नो पनि हुन सक्ने बताएका थिए।
चोटका कारण एक वर्ष लामो अँध्यारो दिनबाट उन्मुक्ति पाएका बाजियो सन् १९८९ मा युभेन्ट्स क्लबमा आवद्ध भएका थिए। त्यति बेला उनलाई अनुबन्ध गर्न युभेन्ट्सले फ्लोरेन्टिनालाई २ करोड ५० लाख लिरा तिरेको थियो। उनी त्यो वर्ष विश्व फुटबलमै सर्वाधिक महंगो रकम तिरेर क्लब स्थानान्तरण हुने खेलाडी बन्न सफल भएका थिए।
बाजियो सन् १९९३ मा युरोप वर्ष खेलाडी मात्र होइन, फिफा वर्ष खेलाडीबाट पनि सम्मानित भएका थिए। तर, सन् १९९४ को विश्व कपमा इटाली फाइनल जित्नबाट बञ्चित हुँदा उनलाई पराजयको सबैभन्दा ठूलो जिम्मेवार ठह¥याइयो।
अमेरिकामा भएको सन् १९९४ को विश्व कपको फाइनलमा इटाली पेनाल्टी सुटआउटमा ब्राजिलसँग पराजित भएको थियो। त्यो विश्व कपमा बाजियोले अन्तिम पेनाल्टी प्रहार गरेका थिए, जुन मिस भएपछि इटालीले उपाधि ब्राजिललाई सुम्पियो।
त्यति बेला धेरैको भनाई थियो, ‘यदि बाजियोले बौद्धभन्दा ब्राजिलियन खेलाडी जस्तै जिजस (क्रिश्चियनका भगवान) को प्रार्थना गरेको भए, सायद उनी गोल गर्न सफल हुने थिए र इटाली विजयी हुने थियो।’
पछि, जापानमा अन्तर्वार्ता दिनेक्रममा बाजियोले भनेका थिए, ‘क्रिश्चियन बाहिरी देउतामा विश्वास गर्छन्। तर, उनी अन्तरआत्माभित्रको शान्ति खोज्ने कुरामा विश्वास राख्छन् र त्यही उनको धर्म हो। धर्म मान्छेको नितान्त व्यक्तिगत कुरा हुन्।’
उनले त्यो अन्तर्वार्तामा अर्काको धर्मको सम्मान गर्न नसक्ने मान्छे देखेर आफूलाई उदेक लाग्ने बताएका थिए। र, उनले सन् १९९४ को विश्व कप इटालीले हार्नुमा आफूले अँगालेको धर्मलाई कारण देखाउने व्यक्तितर्फ इंकित गर्दै भनेका थिए, ‘मैले पेनाल्टी हान्नुअघि हाम्रा दुई खेलाडी फ्रान्को बारेसी र डानियल मासारोले पनि पेनाल्टी मिस गरेका थिए। तर, उनीहरूमाथि प्रश्न तेर्सिएन।’
त्यति बेला बाजियोकै उत्कृष्ट खेलका कारण इटाली विश्व कपको फाइनल प्रवेश गरेको थियो। उत्कृष्ट खेल्दाखेल्दै एउटा पेनाल्टी मिस गर्नाले हिरोबाट भिलेनका रूपमा ब्याख्या गरिएका बाजियोलाई अहिलेसम्म त्यो घटनाप्रति कुनै पछुतो छैन। उनले त्यसको ४ वर्षपछि फ्रान्समा भएको अर्को विश्व कप पनि खेले।
१५ वर्षको उमे, जुनबेला उनले स्थानीय काइडोग्नो क्लबको जुनियर टोलीबाट खेल्न सुरु गरिसकेका थिए, उनी आफ्नो घरनजिकै बस्ने बच्चादेखिको छिमेकी साथी आन्ड्रेइनाको प्रेममा डुबिसकेका थिए। पछि उनले आन्ड्रेइनासँगै विवाह गरे।
भन्छन्, ‘उनी एक्लौ थिइन्, जुन बेला म चोटको पीडाले सताइरहेको थिएँ, त्यति बेला मलाई हौसला दिन्थिन्।’ सन् १९८२ जुलाई २४ मा अभ्यासका लागि तीन साता भिसेन्जाबाट बाहिर जाँदा बाजियोले आन्ड्रेइनालाई एउटा रिङ उपहार दिएका थिए।
अभ्याससत्रमा उनी आन्ड्रेइनालाई खुब याद गर्थे। काइडोग्नो फर्केपछि यो जोडीले १९८२ अगस्ट २२ मा स्वयंवर रचायो। करिब ७ वर्षपछि १९८९ जुलाई २ मा बाजियो वैवाहिक बन्धनमा बाँधिएका थिए, आन्ड्रेइनासँग। उनी ती दिन सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छन्। ‘युएफा कपअन्तगृत रोमासँगको खेल सकेर म हानिँदै काइडोग्नो पुगेको थिएँ। त्यो रात, साथीसँग गितार बजाउँदै सुत्ने कोठाको झ्यालबाट बिहानको ७ बजेसम्म गीत गुनगुनाइरहेको थियौं। अन्ड्रेइना पनि आफ्नो सुत्ने कोठाको झ्यालबाट हाम्रो गीत सुनिरहेक थिइन्।’ तीन घन्टापछि यो जोडीले क्याथोलिक चर्च पुगेर विवाह गरेका थिए।
त्यति बेला बौद्धमार्गी भएर गिर्जाघरमा विवाह गर्ने बाजियोको निर्णयप्रति धेरैले आलोचना गरेका थिए। केहीको बुझाइ रहेछ, उनी क्याथोलिक नभएका कारण चर्चमा विवाह गर्नु उपयुक्त थिएन। तर, बाजियोले क्याथोलिक र बौद्ध धर्मबीचको भिन्नता मज्जाले बुझेका थिए। तर, उनी आफू बौद्धमार्गी हुँदाहुँदै गिर्जाघरमा विवाह गर्नुको कारण प्रस्ट्याउँदै भन्छन्, ‘म आफ्नो परिवार र ससुरालीलाई सम्मान गर्न चाहन्थेँ र उनीहरूको सम्मानमाथि ठेस पु¥याउन चाहन्नथेँ।’ उनले विवाहभन्दा डेढ वर्षअघि बौद्ध धर्म अंगालेका थिए।
क्रिश्चियन धर्म परिवर्तन गर्दै बौद्धमार्गी बन्ने बाजियो निर्णयलाई सुरुमा उनका परिवारले ठाडै अस्वीकार गरे। उनको श्रीमती आन्ड्रेइना पनि यसको विपक्षमा थिइन्। जति बेला उनको आमाले आफ्नो छोरा धर्म परिवर्तन गर्दै बौद्धमार्गी बन्न लागेको थाहा पाइन्, उनी निकै अतालिएकी थिइन्। उनले छोरालाई भुतपिचास लागेको भन्दै क्याथोलिक पादरीलाई घर झिकाएर झारफुकसम्म गर्न लगाएकी थिइन्।
पछि बाजियोको संगतले आन्ड्रेइना पनि बौद्धमार्गी बनिन्। उनले पहिले आफ्नो श्रीमतीलाई बौद्ध धर्मसम्बन्धी किताब पढ्न प्रेरित गरेका थिए। पछि आन्ड्रेइनालाई महसुस भएछ, आफ्नो श्रीमानलाई तनावबाट उकास्न बौद्ध धर्मले कति सहयोग गरेको रहेछ! त्यसयता आन्ड्रेइना पनि बाजियोसँगै दैनिक ध्यानक्रिया र पुजजामा लाग्न थालेकी छन्।
बाजियो भन्ने गर्छन्, ‘बौद्ध धर्मबिना मेरो जीवन अधुरो छ। र, उनी हालसम्म आन्ड्रेइना र आफूबीच विश्वासको वातावरण बनिरहनु र अहिलेसम्म आफ्नाबारे नकरात्मक हल्ला नचल्नुमा आफूले अंगाल्दै आएको बौद्ध धर्मलाई जस दिन्छन्।
उनी अहिले आफ्नो नियमित काम सकिनेवित्तिकै तीन केटाकेटीसँग समय बिताउन घर फर्किन्छन्। उनलाई संयुक्त राष्ट्र संघले सन् २००२ अक्टोबरमा खाध तथा कृषि संगठन (एफएओ) को सद्भावना दूत घोषणा गरेको थियो। बाजियोले सन् २००४ मा व्यावसायिक फुटबलबाट सधैंका लागि सन्यास लिए। इटालीबाट खेल्दा १० नम्बरको निलो रंगको जर्सी, बौद्धमार्गी छवि र लामो कपाल राख्ने कारण उनी ‘दि डिभाइन पोनिटेल’ उपनामले चर्चित थिए। उनी तीन भिन्न विश्व कपमा गोल गर्ने इटालीका एक मात्र स्ट्राइकर हुन्। र, उनलाई विश्वले इटालीको उत्कृष्ट खेलाडीको रूपमा अहिले पनि सम्झन्छ।
–विभिन्न एजेन्सीहरूको सहयोगमा