लकडाउन अन्त्य गर्ने सरकारका निर्णय

नेपाल सरकारले चैत ११ गतेदेखि सुरू भएको लकडाउन मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार प्रविधि एवं अर्थ मन्त्री युवराज खतिवडाले बताए।

बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलमा उनले भने, ‘आज मंगलबार राति १२ बजेबाट लकडाउन सकियो भन्ने बुझ्नुपर्‍यो।’ यद्यपी विभिन्न क्षेत्रमा जारी कतिपय प्रतिबन्धहरू कायमै राखिएको र त्यसलाई क्रमश: खुला गर्दै लगिने पनि उनले जानकारी दिए।

‘एउटा कुरा म फेरि दोहोर्‍याउँछु। हामी अहिले लकडाउनमा छौँ भन्ने दिन अब भरे राति १२ बजेबाट परेन,’ मन्त्री खतिवडाले भने, ‘यो लकडाउनले हामीलाई धेरै मनोवैज्ञानिक त्रास पनि दियो र अर्को प्रकारले हामीलाई धेरै कुराका लागि बहानाबाजी पनि भयो। यो कुरा चाहिँ अब नहोस्।’

उनले जोखिम कायम रहेकै कारण अन्य केही क्षेत्रमा प्रतिबन्धहरू कायमै रहने बताए।

खुल्ने क्षेत्र के-के?

खतिवडाका अनुसार सरकारले साउन १५ गतेदेखि सर्तहरूसहित होटल, रेस्टुराँ, ट्राभल तथा ट्रेकिङलगायत पर्यटन व्यवसायहरू खुला गर्ने निर्णय गरेको छ।

पर्वतारोहण भने खुला गरिएको छैन।

त्यस्तै अन्य विभिन्न व्यवसाय र क्षेत्रहरू पनि आगामी भदौ १ गतेदेखि खुला गर्ने जानकारी खतिवडाले दिए।

खतिवडाले दिएको जानकारी अनुसार सबै खुला गरिने क्षेत्रले जनस्वास्थ्य मापदण्ड र कोरोनाभाइरसबाट बच्ने सुरक्षात्मक उपायहरू अपनाउनुपर्नेछ।

होटलहरू खुले पनि त्यहाँ सामूहिक भोज भने गर्न पाइने छैन।

भदौदेखि विद्यालयले भर्ना लिन पाउने

भदौ १ गतेदेखि विद्यालयहरूले विद्यार्थी भर्ना लिन पाउनेछन्।

तर कक्षाहरू भने दूर शिक्षाकै माध्यमबाट मात्र चलाउनुपर्ने मन्त्री खतिवडाले जानकारी दिए।

त्यस्तै भदौ १ गतेदेखि लामो र छोटो दूरीका अन्तर-जिल्ला सार्वजनिक यातायात पनि सञ्चालन गर्न सकिने खतिवडाले बताए। तर सभा, सम्मेलन, सैलुन, ब्युटिपार्लर, स्पा, खेल मैदान र धार्मिक स्थलहरू भने भदौ १ गतेपछि पनि बन्दै रहनेछन्।

सीमा पनि बन्द

साउन मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय निरन्तर रहने उनले जनाए।

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि खुला गर्ने निर्णय गरेको सोमबारै पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका थिए।

खतिवडाले खुला गर्ने निर्णय गरिएका क्षेत्रहरू पनि तत्कालै पूर्ण सञ्चालनमा आउन नसक्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने बताए।

खुला गरिएका क्षेत्रमा सामाजिक दूरी कायम गर्नुपर्ने र जनस्वास्थ्य सम्बन्धी मापदण्डको पालन गरिनुपर्ने सरकारले जनाएको छ।

खेलकुद प्रशिक्षण भदौ १ गतेबाट

अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षणको बाटो खुलेको छ। 

सरकारले अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरू भदौ १ गतेबाट सुरु गर्न सकिने निर्णय गरेको छ। 

लकडाउनका कारण खेलकुदका प्रशिक्षणहरू अन्योलमा परेका थिए।

हेर्नुहोस् मन्त्रिपरिषद बैठकको निरणयका पूर्ण पाठ

प्रकाशित मिति: : 2020-07-21 21:33:35

प्रतिकृया दिनुहोस्