ओली र दाहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा, विवाद सल्टिएको संकेत

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो सम्पन्न नेकपा सचिवालय बैठक सकिएलगत्तै पार्टीका दुई अध्यक्षहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

शनिबार बालुवाटारमा करिब ४ घन्टा बसेको सचिवालय बैठक सकिएलगत्तै  प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन्। बैठकमा सहमतिबाटै निकास निकाल्ने गरी छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

‘सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ। सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने।

यसअघि दुवै अध्यक्षबीच बालुवाटारमा एक्लाएक्लै वार्ता पनि भएको थियो।

पार्टी विवाद सुल्झाउने महत्वपूर्ण निर्णय हुँदा ओली र दाहाल एकैसाथ राष्ट्रपतिकहाँ जाने गरेको विगत छ। दाहाल र ओली एकैसाथ राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानु नेकपाभित्रको विवाद सल्टिएको संकेतका रुपमा हेरिएको छ। 

यता आइतबार ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले बताए।

नेकपा बैठक असार १८ यता ५ पटक स्थगित भएर आइतबारसम्मका लागि सारिएको छ।

प्रकाशित मिति: : 2020-07-18 20:24:06

प्रतिकृया दिनुहोस्