नेपाल र भारतबीच एक सय ५४ भन्दा बढी स्थानमा सीमा विवाद छ। त्यसमध्ये सर्वाधिक विवादित र जटिल क्षेत्र हाे लिपुलेक, कालापानी र लिम्पियाधुरा। यी क्षेत्र भारतले बि.सं २०३५ सालदेखि अतिक्रमण गरेकाे छ।
यता दार्चुलाको व्यास क्षेत्रभित्र पर्ने नेपाली तीन गाउँहरु गुञ्जी, नाबी र कुटी पनि भारतको अधिनमा छ। भारतको उराखण्ड राज्यले यी गाउँका जनतालाई भारतीय नागरिक सरह नै सेवा–सुविधा दिइरहेको छ। गुञ्जी, नाबी र कुटीका थुप्रै मानिसहरु भारतीय सरकारी सेवामा माथिल्लो तहका अधिकारीहरु समेत बनेका छन्।
गुञ्जी, नाभी र कुटी गाउँमा भारत सरकारले निःशुल्क पेट्रोल, स्वास्थ्य, शिक्षा, तथा रासन कार्ड र रोजगारीको सुविधा उपलब्ध गराउँदै आएको छ।
पछिल्लो समय भारतले बीआरओ (सीमा सडक संगठन) मार्फत यी क्षेत्रमा सडक विस्तारमा समेत तिब्र रुप दिएको छ। नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन कुटनीतिक नोट पठाएपनि भारतीय पक्षले त्यसको ब्यवास्ता गर्दै सडक निमार्ण गरिरहेकाे छ।
तवाघाट–लिपुलेक सडक निमार्ण सम्पन्न गरिसकेको बीआरओले केही दिनअघि मात्रै गुञ्जी, नाबी र कुटी गाउँ हुँदै ज्योलिंकांगसम्म ३४ किलोमिटर ट्रर्याक खोल्ने काम पूरा गरेको छ। अहिले यस सडकखण्डमा पर्ने नदी तथा खोलाहरुमा पुल बनाउँने कामलाई तिब्रता दिएको छ।
गुञ्जीदेखि ज्योलिंकांगबीचमा पुलहरू बनेपछि आदी कैलाश जाने तिर्थयात्रीहरुका लागि सजिलो हुनेछ। आदी कैलाश तिर्थ यात्रा जानेहरुका लागि यसअघि दुई दिन लागेपनि, सडक निर्माण सम्पन्नपछि गुञ्जी गाउँबाट डेढ घण्टामा पुगिने छ।
अहिलेसम्म गुञ्जी र कुटी गाउँ जोड्नलाई दुईवटा पुल निर्माण समेत गरिएको छ। केही दिनमै कुटी गाउँको घाटखोलामा तेस्रो पुल निमार्ण कार्य पनि पुरा हुने सडक डिभिजनमा कार्यरत कर्माचारीले जानकारी दिए।
भारतमा लागि यी सडकहरु निकै महत्वपूर्ण मानिएका छन्। सडक निमार्ण पूर्ण रुपमा सकिएपछि भारत–चीन सिमानासम्म छिटो पहुँच पुग्ने भारतीय पक्षको अनुमान रहेको छ। नेपालले पटक–पटक बिरोध जनाएपनि लिपुलेकसम्मको सडक निर्माणलाई भारतले ठूलो उपलब्धि ठानेको छ।
कैलाश मानसरोवर हिन्दुहरूको सबैभन्दा पवित्र स्थल मानिन्छ। यहाँ पुग्न सबैभन्दा धेरै तछाडमछाड भारतीयहरुले गर्ने गरेका छन्। भिसा शूल्क महँगो भएका कारण सबै मानिसहरु जान सक्ने अवस्था छैन। तर, भारतीय भूमिमा रहेको पार्वती सरोवर र आदी कैलाश जान भने यस सडकले निकै लाभ दिनेछ।