नेकपाकाे सचिवालय बैठक आज बस्दै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक आज शनिबार बस्दै छ । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने छ ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । सचिवालय बैठकपछि आइतबार अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने छ।

नेकपामा पछिलाे पल्ट देखा परेकाे विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । 

गत असार १७ गतेदेखि सुरु भएकाे स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहित प्रचण्ड-माधव नेपाल समूहका नेताहरुले ओलीले प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिन दबाब दिइरहेका छन्। ओली भने महाधिवेशनअघि अध्यक्ष र आगामी संसदीय चुनावअघि राजीनामा नदिने अडानमा छन्।

असार १८ गते सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि प्रचण्ड स्वयम्ले ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेको ब्रिफिङ स्थायी समितिका सदस्यहरुलाई गरेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ।

सहमतिको प्रयासमा दुवै अध्यक्षबीच शुक्रबार समेत आठ पटक छलफल भइसकेका छन्। कार्यकारी अध्यक्ष प्रचण्ड बहुमतको बलमा कम्तिमा पनि ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट हटाएरै छाड्ने रणनीतिमा छन्।

 

प्रकाशित मिति: : 2020-07-18 08:14:29

प्रतिकृया दिनुहोस्