एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलले देश दौडाहा सुरु गरेका छन्।
‘मातृभूमि जागरण अभियान’मार्फत् पूर्वी नेपाल निस्किएका रावललाई आज विराटनगर विमानस्थलमा एमाले, एकीकृत समाजवादीका नेता-कार्यकर्ता तथा स्वतन्त्र नागरिकहरूले भव्य स्वागत गरे।
रावलले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट जागरण अभियान सुरु गर्ने सचिवालयका एक सदस्यले जानकारी दिए। उनले भने, ‘डाक्टर साप आज विराटनगर जानुभएको छ, अब उहाँ झापा जानुहुन्छ र अभियान त्यहीँबाट शुरु हुन्छ।’
स्रोतकाअनुसार जागरण अभियानलाई ६ महिनापछि समाजवादी धारकाे गैरकम्युनिष्ट पार्टीमा रुपान्तरण गर्ने रावलको योजना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा नेता-कार्यकर्ता र शुभचिन्तकको साथ पाउन तुलनात्मक रूपमा सजिलो रहेको निष्कर्ष निकाल्दै उनी कोशी प्रदेशमा माहोल बनाउन पूर्वीजिल्लामा होमिएका हुन्।
‘उहाँले पहिलो चरणमा झापा, मोरङ, सुनसरी, इलामका पूर्वीजिल्लाहरूमा अभियान चलाउने खाका बनाउनुभएको छ, खासगरी ती क्षेत्रमा पनि केपी ओलीबाट पीडित भएकाहरूलाई एकताबद्ध गर्ने सोच छ,’ रावलनिकट एक नेताकाे दाबी छ।