नेकपा स्थायी कमिटी बैठक पर्सिसम्मका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सि असार ४ गतेसम्मका लागि स्थगित भएको छ।

बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो। अधिकांश नेताहरु प्रधानमन्त्री निवास, बालुवाटार पुगिसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका लागि समय नपुगेको भन्दै दिउँसो ३ बजेसम्मका पछि सारिएको थियाे।

तर विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भएकोले अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको एक नेताले बताए।

स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहित प्रचण्ड-माधव नेपाल समूहका नेताहरुले ओलीले प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिन दबाब दिइरहेका छन्। ओली भने महाधिवेशनअघि अध्यक्ष र आगामी संसदीय चुनावअघि राजीनामा नदिने अडानमा छन्।

असार १८ गते सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि प्रचण्ड स्वयम्ले ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेको ब्रिफिङ स्थायी समितिका सदस्यहरुलाई गरेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ।

सहमतिको प्रयासमा दुवै अध्यक्षबीच बिहीबार समेत सात पटक छलफल भइसकेका छन्। कार्यकारी अध्यक्ष प्रचण्ड बहुमतको बलमा कम्तिमा पनि ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट हटाएरै छाड्ने रणनीतिमा छन्। स्थायी कमिटी स्थगनपछि ओली-प्रचण्डबीच यसअघि सात पटक बैठक बसिसकेका छन्। हिजाे वरिष्ठ नेता माधव नेपालसहित भएकाे छलफलपछि फेरि विवाद चुलिएको हो।

प्रकाशित मिति: : 2020-07-17 13:10:19

प्रतिकृया दिनुहोस्