सीपी घर्ती मगर
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा अत्यासलाग्दो दुर्भाग्यपूर्ण जुन घटना घट्यो– जेठ १० गते । त्यो मानव सभ्यताकै अत्यन्त कलंकित घटना हो । हत्या भएका छ जनामध्ये दुई जना गैरदलित र चार जना दलित समुदायकै होनहार युवा छन्– १८–२१ वर्षका । मारिएकामध्ये पाँच जना जाजरकाेटको भेरी नगरपालिकाका बासिन्दा हुन् भने एक जना पश्चिम रुकुमको चौरजहारी नगरपालिका- १ सोतीका । राष्ट्रले सही दिशा दिनसक्दा भोलि देशलाई योगदान दिनसक्ने उमेर समूहका युवा गुमाएका छौँ ।
घटना कसरी हुनसक्यो भन्ने कुरा जति हामीलाई थाहा छ, त्यति अरुलाई थाहा नहुन सक्छ । घटनाको विजारोपण भनेको अन्तर्जातीय प्रेम सम्बन्ध नै हो । २० वर्षभन्दा कम उमेरकी गैरदलित किशोरी दलित युवकसँग प्रेम सम्बन्धमा बाँधिएको भन्ने आएको छ । माइती पक्ष (केटी) चाहिँ गैरदलित र घर (केटा) पक्ष दलित पक्षको हो । प्रष्ट पार्नुपर्छ– त्यहाँ उमेरको कुरा आएन ।
प्रेमी नवराज बिक (मृतक युवक) सुष्मा मल्लको घर पुगेको छ । उनी अहिले बाल सुधार गृहमा छिन् । उनलाई अदालतले दोषी ठहर गरी पुर्पक्षका लागि त्यो चरणमा पुर्याएको हो । दलित युवकले गैरदलित युवतीलाई प्रेम गरेको कुरा माइती पक्षले स्वीकारेन । केटी पनि दुई–तीन पटक युवककै घरमा गएर सुतेकी छिन् । युवक नवराज बिकका बाउ–आमाले पनि केटीलाई भनेको रहेछ– ‘नानी तिम्रो घर त सोती रहेछ । तिमीहरु मल्ल ठकुरी खान्दानको, हामी दलित परिवारको । वर्गका हिसाबले पनि हामी मजदुरी गरेर खाने वर्गको । तिमी यसरी हामीकहाँ गाएर बस्न मिल्दैन ।’
केटीले भनेकी रहिछन्, ‘हामी त प्रेममा बाँधिएको मान्छे । म आफैँ पनि हिजोको दिनमा एउटा समाजवादी चरित्रको आन्दोलन ‘जनयुद्ध’ लडेर आएको खान्दानको मान्छे हो । यस्ता कुराको पर्वाह हुँदैन ।’
पहिलोपटक पक्रेर प्रहरी हिरासतमा
नवराज बिक (मृतक) सोती पनि गएको रहेछ– केटीको घरमा । पहिलो पटक घरमा जाँदा उसलाई पनि पुलिस बोलाएर पक्राउ गरी इलाका प्रहरी कार्यालय, चौरजहारीमा बुझाएको रहेछ ।
त्यसमा पनि समाजले दलित परिवारलाई गरेको अपशब्द प्रयोग गरी उसलाई प्रहरीमा बुझाएको रहेछ । ऊ एक दिन चौरजहारी हिरासतमा बसेर फर्केको रहेछ ।
फर्केर गएपछि पनि उनीहरुको कुराकानी हुँदै गयो । त्यसपछि पनि केटीले मेरो घरमा आउनू भनिरहेको छ । उसलाई केटीले नै केही साथीहरु लिएर आउनूपर्छ भनेर बोलाएको रहेछ ।
केटाले भनेछ, ‘म पहिलोपटक आउँदा त्यसरी कुटपिट, दुव्र्यवहार गरी प्रहरीको जिम्मा लगाइएको छ– त्यो पनि म दलित भएको कारणले । पछिल्लो पटक फेरि आउँदा त्यस्तै दुर्भाग्यपूर्ण घटना घट्न सक्छ त्यहाँ । बरु म एक्लै आउँछु । भेटौँ ।’
केटीले साथीहरु लिएर आउनू भनेर बोलाएकी छिन् । केटीसँग म्यासेन्जरबाट कुरा भएको छ । यो प्रहरी अनुसन्धानबाट प्रष्ट भइसकेको छ ।
अहिले घटनाबारे अदालतमा थुनछेकको बहस भएर पनि आदेश भइसकेको छ । २३ जना पुर्पक्षमा जेल चलान भएका छन् । दुई जनालाई सुधारगृहमा पठाएको छ । न्यायपालिकाको भाषामा त्यो पनि जेल चलान नै हो । अर्को, एक जना भीमबहादुर बुढालाई पनि पुर्पक्षका लागि जेल चलान गरेको भन्ने सुनिएको छ ।
यस्तो थियो घटना
प्रेमी नवराज बिकको साथमा उनीसमेत १८ जना गएका थिए, जसमध्ये छ जना मारिए । (मारिनेमा नवराज विक, टीकाराम बिक, गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जु बिक, गोविन्द शाही र गणेश बुढा छन् । टीकाराम सुनार रुकुम–पश्चिमको चौरजहारी नगरपालिका-१ , सोतीकै हुन् भने बाँकी पाँच जना जाजरकोटको भेरी नगरपालिकाका बासिन्दा हुन् ।)
बाँचेका १२ जनालाई उद्दार गरिसकेपछि हामी घटनाबारे सत्यको नजिक पुग्ने प्रयास गर्यौँ । छ जना त मरिसके । उनीहरुका छ वटा लाश फरक–फरक १० दिनसम्ममा फेला पार्यौँ ।
जीवितै आएका युवासँग कुरा गर्दा उनीहरु ‘बेहुली उठाएर ल्याउने’ भन्दा पनि भेटघाट गर्ने, घुमेर आउने हिसाबले गएका छन् । केटीले नै म्यासेन्जरबाट भनेको छ– तपाईं ८–१० जना साथीहरुसहित आउनुस्, एक्लै नआउनुस् । त्यो म्यासेन्जरबाट कुरा भएको हामीले पनि देख्याँै । संभवतः पहिलो पटक दुव्र्यवहार भइसकेको हुनाले त्यसो भएको हो । त्यो कुरा अनुसन्धान अधिकृतहरुलाई पनि पास गरेका छौँ ।
नवराज बिक भलिबलको राम्रो खेलाडी थिए । राष्ट्रपति रनिङ शिल्ड लगायत विभिन्न प्रतियोगितामा २०–२२ वटा मेडल जितिसकेका मान्छे हुन् । उनी जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ को स्थायी बासिन्दा हुन् ।
उनले आफ्नो व्याचका केही युवा लिएर गएका रहेछन् । बाँचेर फर्केकाहरुले भनेअनुसार, उनीहरु बिना हातहतियार गएका थिए, सुसज्जित थिएनन् । लडाइँ–झगडा गर्ने तयारी थिएन । धल्ला भन्ने पुल छ त्यहाँ । त्यसले भेरी नगरपालिकाको वडा नम्बर ४ सँग चौरजहारी नगरपालिकाको भूभागलाई जोड्छ । त्यो पुल हुँदै नवराज बिकको प्रेमिकाको घर हुँदै गएर प्रेमिकाको घर हुँदै जाने, काफल पनि खाने र अर्को एरियाको झोलुङ्गेपुल हुँदै फर्कने गरी गएको देखिन्छ । केटी उठाउने, केटीको घर पक्षसँग भिडन्त गर्ने भन्ने हिसाबले गएको देखिँदैन ।
नवराजमाथि केटीका आफन्तले पहिला पनि दुव्र्यवहार गरेको हुनाले ऊ आफूलाई लायक देखाउन साथीहरुसहित गएको देखिन्छ । ‘म पनि केटीको लागि लायक मान्छे हुँ, किन मलाई दुव्र्यहार गर्ने ? अहिलेको जमानामा पनि हामी केही गरेर खान सक्ने मेहनती, इमान्दार, कर्मठ छु । मैले पनि केही गर्नसक्छु’ भन्ने मनोवैज्ञानिक अनुभूति दिलाउन गएको हो । लडाइँ गर्न गएको भए त उनीहरुबाट हातहतियार बरामद हुनुपथ्र्यो । ‘ड्रेसअप’ बाट पनि थाहा हुनुपथ्र्यो । मारिनेमा ४०–४५ किलो तौल भएका ससाना केटा पनि छन् ।
बिचरा निहत्था युवा छन् । कोही त ४०–४५ केजीको स–साना बच्चा छन् ।
के घटना घट्यो भनेर जान्ने बाँचेका १२ जना भाइहरु हुन् । उनीहरुले भनेअनुसार, उनीहरु गए । जानासाथ दलितलाई प्रयोग गर्ने अपशब्द प्रयोग गर्ने, ‘यो फेरि आयो.... यो ?! यसलाई अझै पुगेन ?’ भन्ने हिसाबले एक्कसी प्रेमिकाकी आमा प्रकाशी मल्ल बर्बराइन् । त्यसपछि उनले वडा अध्यक्ष लगायत त्यहाँका अगुवाहरुलाई सम्पर्क गर्छिन् । चारैतिरबाट डेढ–दुई सय मान्छे जम्मा भए ।
नवराजसहित मारिएका छ जनालाई सुरुमै ‘आइसोलेट’ गरियो । १८ जनाको समूहबाट छ जनालाई अलग गराइयो । बाँचेका १२ जनाले उनीहरुलाई तथानाम गाली गरेकोदेखि छुट्याएकोसम्म मात्र देख्न पाए । त्यसपछि कुटपिट गर्दै एकातिर लगिहाले ।
म आफैँ त्यहाँ गएर वस्तुस्थिति अध्ययन गरेको छु । त्यहाँ जम्मा चार प्रकृतिको घटना घटेको छ । मारिएका छ जनालाई सुरुमै छुट्याइयो । बाँकी १२ जनालाई लखेटियो । भाग्ने क्रममा तीमध्ये पाँच जना नदीमा हाम्फालेर नदीको बीचसम्म गए– उनीहरु । नदीको एक भँगालो तरेर बीचको टापुमा गएर बसे । त्यहीँ गएर ढुङ्गा हान्दै पिट्दै वारि नै ल्याए– चौरजहारी–१ सोतीमै । भेरी नदी पार गर्न पाएनन् । फेरि पिट्दै–पिट्दै वारि नै ल्याए ।
दुई जनालाई चाहिँ वारि सोतीको सडकमै पिट्दै राखिएको थियो । उनीहरु प्राणको भीख माग्दै बसे । उनीहरुका हात–पाखुरामा खुर्पाको पछाडिपट्टिबाट हानिएको छ ।
अर्का पाँच जना चाहिँ नदीको दुवै भँगालो पार गरेर जाजरकोटको कालेगाउँको बगरमा पुगे । पारि पुग्दा पनि उनीहरुलाई वारि आएर फेरि पारि– चौरजहारी नगरपालिका वडा नम्बर १ को सोती गाउँमै लगियो ।
पहिले नै मारेर पालैपालो खोलामा फालियो
मारिएका छ जनाबारे विभिन्न किसिमका अभिव्यक्ति आएका छन् । मेरो ब्रम्हले भन्छ– ती छ जनालाई नै खोलावारि नै मारिएको छ । जाजरकोटमा प्रहरीले तदारुकता देखायो तर पश्चिम रुकुमको प्रहरीले पनि त्यहाँ एउटा गल्ती गरेको छ– एरिया सिल गर्नुपर्नेमा गरेन । त्यो पश्चिम रुकुमको क्षेत्रमा पर्छ ।
नवराज बिकको लाश जेठ १० गते राति नै फेला परेको छ । अरु पाँच जनाको लाश फेला पार्न सकिएन । उनको लाश लिन नगरपालिकाको ट्रयाक्टर र गाडीहरु पनि पठाएको छु मैले । रातभरि गरेर लाश भोलिपल्ट बिहानै जिल्ला अस्पतालमा ल्याएको छु । घटना भएपछि रुकुम प्रहरी त्यो एरिया सिल गर्ने, बेपत्ताको खोजी गर्ने काममा निकै असफल रह्यो । प्रभावित रह्यो या उसको क्षमताले भ्याएन ? यो सधैँ खडा भइराख्ने प्रश्न हो ।
मलाई अहिले पनि लाग्छ– यदि प्रहरीले सिल गरेको भए छ जनामध्ये पनि कोही बाँच्थे कि ? शंका छ । ती मान्छेलाई नराम्रोसँग पिटे । पाखामै थला पारेर सुताए । सुरुमा नवराजलाई मारेर नदीमा फाल्दिए । बाँकी रहेका पाँच जनालाई पालैपालो गरेर मारे । फरक–फरक समयमा नदीमा बगाए । नत्र एउटै एरियाबाट बगाएको लाश फरक–फरक ‘रेञ्ज’ मा कसरी फेला पर्छ त ?
पहिलो लाश फेला परेपछि भेरी नगरपालिकाबासी र पीडितका आफन्तजन शोकाकुल रहे । यो अवस्थामा कतिपयको ध्यान त्यतातिर जाँदैन नि त ! ‘एरिया सिल’ प्रहरीले गर्नुपर्ने हो । मारिएकामध्ये पाँच जना भेरी नगरपालिकाका हुन् । एक जना चौरजहारी नगरपालिका वडा नम्बर १ कै हुन– टीकाराम सुनार । उनीहरु आफन्त नै छन् । यो मारेर फालिएकै हो ।
‘जातीय अपराध’ हो कि ‘अपराध’ ?
घटनाको विषयवस्तु जातीय विभेद हो । समाज निर्माण गर्ने सन्दर्भमा मिडियाले यो कुरा प्रकाशमा ल्याइदिनुपर्छ । हामी राजनीति गर्नेहरु समाजलाई राम्रो परिणाम दिन लागेका छाँै । कति राजनीतिकर्मी त आए, जागीर खाने जसरी समय बिताएर गए । हामी सामाजिक–सांस्कृतिक विभेदविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा आइसक्यौँ । संविधानसभाबाट संविधान लेखिसक्यौँ ।
कानूनी हिसाबले संविधानको धारा २४ र धारा ४० हेर्दा सबै खालको विभेदको अत्य भइसक्यो । वर्गबिहीन समाजवादउन्मुख राज्यसत्ताको लागि लडाइँ भएको आधार इलाका नै हाम्रो भूभाग हो । त्यो भूभागमा पनि जातीय विभेदको अवशेष ज्यूँका त्यूँ छ ।
जातीय विभेदभन्दा पनि मानवताविरुद्धको ठूलो अपराध हो त्यो । दिनदहाडै छ–छ जना मान्छे कत्लेआम गरेको छ नि त ! मारेर फरक–फरक समयमा नदीमा फालिएको छ । भेरी नगरपालिकाले यो कुरालाई गम्भीर रुपमा लिएको छ ।
साँच्चिकै ‘राम राज्य’ बनाउने हामीले हो । दोषीलाई कारवाही गर्ने सन्दर्भमा निर्दोषहरु फस्ने काम कदापि हुनुहुँदैन । प्रतिशोधको भावना राखिने छैन भन्ने आवाज मैले उठाइरहेको छु ।
अहिले पुर्पक्षका लागि जेल चलान भइसक्दा पनि म भन्छु– कोही निर्दोष परेका छन् भने निर्दोष फस्नुहुँदैन । न्यायपालिकाले धेरै कुरा अघि बढाइसक्यो । यस्ता घटनामा प्रतिशोध साध्नु हुँदैन । त्यसो भयो भने भोलि समाजको स्वरुप अर्कातिर जान्छ । संविधान र कानूनबामोजिम अपराधीले सजाय पाउनुपर्छ । निर्दोष फस्नु हुँदैन ।
जातिभेदविरुद्ध विशेष अभियान
संविधानले व्याख्या गरेको छ– जातीय विभेदमुक्त समाज । हामी पनि आमूल परिवर्तन भन्छौँ नि ! हाम्रो सोच र समाज यही हो । हामीले यहीभित्र रहेर खेल्ने हो । एकैपटक जादूजस्तो त हुँदो रहेनछ । कतिपय कुरा त पुस्तौँपुस्ता पनि लाग्छ ।
भेरी नगरपालिकाले जादूगरी परिवर्तन दिन नसके पनि संविधानका धाराहरु धारा २४, धारा ४०, त्यसका उपधाराहरु अरु अनुुसूची कार्यान्वयन गर्न हामी गाउँ–गाउँ जान्छौँ । कहिलेकाहीँ त हामीले ढंग नपुर्याउँदा, शैली नमिलाउँदा त्यसले उल्टो दिशातिर लैजान्छ । हामी मान्छेलाई मनाउँदै जान्छौँ । अनुरोध गर्छौँ, ‘जनताका प्रतिनिधिले बनाएको संविधानलाई हजुरहरुले नै नमान्नु हुँदैन । सबैको रगत रातो छ । अनि किन यस्तो गर्नु ?’ त्यही ढंगले सूचकहरु तयार पारेका छौँ । मेरो बाँकी कार्यकालभरिमा म एउटा तरंग दिएर जान्छु । अब मसँग डेढ–दुई वर्ष मात्र बाँकी छ ।
(जाजरकोट सदरमुकाम भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती मगरसँग माधव ढुङ्गेलले गरेको संवादमा आधारित ।)
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया