पोलिमर नोट छपाइ प्रकरणमा मुछिएका पूर्वगभर्नर रावलसहित सबैलाई सफाइ

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीन जनालाई प्लास्टिक (पोलिमर) नोट छपाइसम्बन्धी मुद्दामा विशेष अदालतले सफाइ दिएको छ।

विशेषका अध्यक्ष शिवराज अधिकारी तथा सदस्यहरू शान्तिसिंह थापा र बालेन्द्र रुपाखेतीको संयुक्त इजलासले मंगलबार पूर्वगभर्नर रावल, केन्द्रीय बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट छाप्ने कम्पनीको नेपालस्थित प्रतिनिधि हिमालयबहादुर पाँडेलाई मंगलबार सफाइ दिएको हो। 

झन्डै २० वर्षअघि १० रूपैयाँका पोलिमर नोट छाप्दा भ्रष्टाचार भएको भन्दै डेढ वर्षअघि अख्तियारले पूर्वगभर्नर रावल, नोट विभाग प्रमुख उपेन्द्रकेसरी पौड्याल र अस्ट्रेलियाको मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई भ्रष्टाचार मुद्दा लगाएको थियो।

तत्कालीन गभर्नर रावल, नोट विभाग प्रमुख पौड्याल र पाँडेले ती रूपैयाँ छपाउन दिँदा नेपाल राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराएर हानी पुर्‍याएको अख्तियारको आरोप थियो।

पूर्वगभर्नरसहित रावलसहित तीन जनाले जनही ९१ लाख ९ हजार ८ सय ८९ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो।

रावल र पौडेललाई महत्वपूर्ण पदमा हुँदा राष्ट्रलाई हानी हुने काम गरेकाले ६ वर्षसम्म कैद र जनही ९१ लाख ९ हजार ८ सय ८९ रूपैयाँ नै जरिवाना तिराउनुपर्ने अख्तियारको दाबी थियो। त्यस्तै, पाँडेलाई जरिवाना उत्तिकै सुनाए पनि कैद भने ६ महिनादेखि १ वर्षसम्म गर्नुपर्ने अख्तियारको माग थियो।

दस रूपैयाँको पोलिमर नोट ५ करोड थान छाप्न मे फ्लावर कम्पनीलाई दिइएको थियो। नोट छाप्ने कम्पनीलाई परल मूल्य बढाउन लगाएर पनि उनीहरूले भ्रष्टाचार गरेको अख्तियारले जनाएको थियो।

प्रकाशित मिति: : 2020-07-14 21:15:51

प्रतिकृया दिनुहोस्