लकडाउन अगाडिकै भाडामा सुन्दर यातायातले ४ वटा बिजुली गाडी चलाउने भएको छ।
सरकारले आधा मात्र यात्रु हाल्न पाइने भएर थप ५० प्रतिशत भाडा लिन पाउने निणर्य गरे पनि आफूहरू पुरानै भाडामा गाडी चलाउने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।
२ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा यातायात सेवा सञ्चालन गर्न लागिएको उनले बताए।
रिङ रोडसँगै यातायातले मंगलबारदेखि २ वटा नयाँ गाडी सूर्यविनायक–जमल–रत्नपार्क रुटमा चलाउने भएको छ। गाडीमा नेपाल सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने उनको दाबी छ।
चालक सह–चालकहरुले कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क लगाएर सेवा दिनेछन्। उनले प्रत्येक यात्रुको तापक्रम जाँचिने भन्दै मास्क नलगाउने यात्रुलाई चढ्न नदिइने स्पष्ट पारे। त्यस्तै मास्क नलगाएका ६० वर्ष माथिकालाई निःशुल्क मास्कसमेत वितरण गर्ने यातायातको योजना छ।
घातक किटाणुबाट जोगाउन प्रत्यक दिन गाडीलाई स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि पनि हाते पम्पबाट स्प्रे गरिने भएको छ।