युरोप र अमेरिकी शहर ‘साइकल लेन’ बनाउने अभियानमा, पेरिसमा २०२४ सम्म डिजेल गाडी प्रतिबन्ध

कोरोना भाइरसको महामारीका बीच युरोपदेखि अमेरिकासम्म विकसित देशका ठूला शहरले आफ्नो नियम कानुनमा परिवर्तन गर्ने संकेत गरेका छन्। यी देशका मेयरहरूले हजारौं विघा जमीनमा पर्यावरण मैत्री नयाँ पार्क बनाउने संकेत दिएका छन्। 

सौर्य उर्जालाई विशेष महत्व दिइने यस्ता परियोजना कार्बन उत्सर्जनलाई घटाउने अभियानको रूपमा आफूहरूले लिएको उनीहरूले बताएका छन्। 

प्रदूषणलाई नियन्त्रण राख्न शहरको भित्री ठाउँमा पनि प्राइभेट गाडीलाई प्रतिबन्ध लगाउने अभियान सञ्चालन गर्ने बताइएको छ। 

पेरिसका मेयर एन हिडाल्गोले आफ्नो शहरमा १४ सय किलोमिटर सडकमा साइकल लेन बनाउने निर्णय गरेका छन्। उनी भन्छन्, ‘महिनौसम्म भएको लकडाउनले शहरको वातावरण स्वास्थ्य भएको सन्देश गएको छ।’ 

हिडाल्गो भर्खरै ६ वर्षका लागि मेयर पदमा पुनः निर्वाचित भएका थिए। उनको चुनावको पनि मुद्धा थियो, कारको प्रयोगमा कटौती गर्ने। 

सबै देशका नेताहरूले सन् २०१५ मा कार्बन उत्सर्जन घटाउने विषयमा जलबायु सम्झौतामा हस्ताक्षर गरेका छन्। यसैले हिडाल्गोलाई यो परियोजना लागु गराउन सहज भएको छ।

उनी पेरिस हुँदै निस्किने १४ सय किलोमिटर सडकमा साइकललाई सुरक्षित हिसाबले कुदाउन र पार्किङ गर्न दिने योजनालाई लागु गर्ने अभियानमा जुटेका छन्। यसका लागि उनले हजारौं पार्किङ क्षेत्रलाई समाप्त पारिसकेका छन्। र, धेरै ठाउँमा कार प्रवेशलाई पूर्ण रूपमा बन्द गरिएको छ। 

पेरिसमा २०२४ सम्म डिजल कार पूर्ण रूपमा बन्द हुनेछ। लकडाउनको बेला ४९ किलोमिटर सडकलाई साइकल लेनमा परिवर्तन गरिएको थियो। 

यसलाई कोरोना लेन्सको नाम दिइएको छ। केही दिनअगाडि उबर तथा अन्य नीजि ट्याक्सी गरि २५ सय चालकले साइकल लेनको विरोध प्रदर्शन गरेका थिए। 

कोरोना भाइरसको महामारीको बीच गत मे महिनामा मेयरहरूको अनलाइन बैठक भएको थियो। जसमा मिलानका मेयर गुईसेपे सालाले आफ्नो शहरमा पनि ३० किलोमिटर साइकल लेन बनाउने प्रस्ताव अगाडि सारिएको बताएका थिए। यस्तै, लण्डनका मेयर सादिक खानले शहरको भित्री बाटोमा प्रवेश गर्ने कारको टोल ट्याक्स बृद्धि गरिएको जानकारी दिए। 

इस्तानाबुलका मेयरले पनि शहरमा हरियाली बनाउने अभियान सुरु भएको बताए। युरोपमा हाल पर्यावरण समर्थक पार्टीको प्रभाव बढ्दै गइरहेको छ। २८ जुनमा भएको चुनावमा ग्रीन पार्टी–इईएलबीले फ्रान्सको लियोन, बोर्डिअक्स जस्तो ठूलो शहरमा मेयर पद जितेको थियो। 

ग्रीन पार्टीले गत वर्ष युरोपको संसदमा १० प्रतिशत सिट जित्न सफल भएको थियो। यस्ता संगठनले जर्मनीको स्थानीय चुनावमा पनि २० प्रतिशत मत प्राप्त गरेको थियो। 

संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार पृथ्वीमा शहरी आवादी २ प्रतिशत छ। तर, ७८ प्रतिशत उर्जाको खपत यही हुन्छ। शहरी क्षेत्रमा कार्बन उत्सर्जनको मात्र ६० प्रतिशतभन्दा बढी रहेको छ। 

टोरन्टो विश्वविद्यालयको शहरी जीवनका विशेषज्ञ रिचर्ड फ्लोरिडाका अनुसार शहर औधोगिक युगको अवशेष भइसकेको छ। यसलाई स्वास्थ्य तथा सुरक्षित बनाउन नयाँ ढंगले डिजाइन गर्न जरुरी छ। 

कार्बन उत्सर्जन गर्ने विश्वको एक सय शहरमध्ये ६३ अमेरिकामा छ। यो संख्या चीनभन्दा ४ गुणाले बढी छ। चीनको पनि १४ शहर कार्बन उत्सर्जनको सूचीमा रहेको छ। बाँकी २३ शहर अन्य देशमा छन्।

प्रकाशित मिति: : 2020-07-12 07:41:25

प्रतिकृया दिनुहोस्