मुलुकभर अविरल वर्षा, ठाउँ ठाउँमा पहिरो र सडक अवरूद्ध (कहाँ कस्तो क्षति)

अहिले देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको र यो क्रम करीब ३ घण्टासम्म रहने जनाएको छ। मौसमको यो प्रणाली अब बिस्तारै पूर्वतिर सर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा रहने जनाइएको छ।

यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

देशभर कहाँ कस्तो क्षति ?

लमजुङको घरभित्र पहिरो पस्दा तीनको मृत्यु, तीन घाइते

लमजुङ बेँसीशहर नगरपालिका–७ का एक स्थानीयको घरमाथिबाट खसेको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ । स्थानीय ३३ वर्षीय दीपक तामाङको घरभित्र गए राति पौने १२ बजेतिर अविरल वर्षासँगै पहिरो पस्दा ३३ वर्षीय दीपकसहित नौ वर्षीय छेवाङ तामाङ र २६ वर्षीया विमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङको घरदेखि करिब २५/३० मिटर माथिबाट आएको पहिरो घरभित्र छिर्दा उहाँको परिवारका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकास पुनले बताए। घरभित्र पुरिएको अवस्थामा शव सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर उद्धार गरेका थिए। २६ वर्षीया विमायाको राति १ बजे र दुई जनाको राति साढे २ बजे शव निकालिएको प्रहरीको भनाइ छ । उद्धारपश्चात् उनीहरुको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । त्यस्तै, मृतक ३३ वर्षीय तामाङको घरमा काम गर्न बसेका तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही वडा सातविसे घर भएका २६ वर्षीय सन्तबहादुर गुरुङ, बेँसीशहर नगरपालिका १० घर भएका २० वर्षीय सुमन गुरुङ र २३ वर्षीय अनिल गुरुङ रहेको प्रहरीको भनाइ छ । घाइते तीन जनालाई नै जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पुनले बताए।

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते

अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। आज बिहान अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।

सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताए।  प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभए पनि तीन  बाख्रा पुरिएका छन् ।

पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको  घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमती शान्ति र छोरा सुशान  सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिए।

अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति  नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ।

म्याग्दीमा पहिरोले घर बगाउँदा सात जना बेपत्ता, मुस्ताङ जोड्ने बेलिब्रिज भत्कायो

लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए। माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उनले बताए। घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । “गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ”, वडासदस्य पुनले भने, “पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ ।”

यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए। घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्कविच्छेद भएको छ ।

यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

असार २६ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २७ गते (शनिबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का  थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेश,  प्रदेश ५ र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

असार २८ गते (आइतबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का  थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश,  प्रदेश ५ र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रकाशित मिति: : 2020-07-10 09:16:52

प्रतिकृया दिनुहोस्