भोलिबाट सार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने

सरकारले काठमाडौं उपत्यका र अन्य जिल्ला भित्र मात्र सार्वजनिक यातायात र ट्याक्सी चल्न दिने निर्णय गरेको छ।

असार २३ को मन्त्रिपरिषद बैठकको निर्णय बिहिबार सार्वजनिक गर्दै अर्थ, सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा ट्याक्सी चल्न दिने र अन्य जिल्लाका हकमा जिल्ला भित्रमात्र सार्वजनिक यातायात चलाउन दिने निर्णय गरिएको बताए।

काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर सरकारले ट्याक्सी र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो।

ट्याक्सीले यात्रु लिएर काठमाडौं बाहिर जान र काठमाडौं बाहिरबाट उपत्यका भित्रिन पाउने छैनन्। ट्याक्सीमा २ जनाभन्दा बढी यात्रु राख्न पाइने छैन। एकै परिवारका सदस्य भएमा  पाँच वर्ष मुनीको बालबालिकालाई पनि सँगै ट्याक्सीमा यात्रा गराउन पाइने प्रवक्ता खतिवडाले बताए। ट्याक्सीले यात्रुसँग प्रचलित दर अनुसार नै भाडा लिनुपर्ने पनि उनले बताए।

त्यसैगरी, सार्वजनिक सवारी साधन पनि उपत्यकाका तीन जिल्ला भित्र र काठमाडौं बाहिरका सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको छ।

यसरी सञ्चालन हुने सवारी साधनले सिट क्षमताको आधा मात्र यात्रु राख्न पाउने छन्

एक लहरको एक पंक्तिमा मात्र यात्रु राख्न पाउने र मास्क अनिवार्य गरिएको प्रवक्ता खतिवडाले बताए।

सवारी चालक र सहचालकले पनि मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्नेछ । यसका साथै प्रत्येक दिन यातायातका साधन डिसइन्फेक्सन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ

आधा मात्र यात्रु चढाउन पाउने भएपछि यो व्यवस्था लागू हुँदासम्म ५० प्रतिशत बढी भाडा लिन सक्ने गरी व्यवस्था गरिएको छ ।

निजी सवारीमा भने जोरविजोर कायमै

सरकारले निजी सवारी साधनमा भने जोर विजोर प्रणाली कायमै राखेको छ। यसअनुसार, जोर गतेका दिन जोर नम्बरका सवारी र विजोर गरेका दिन विजोर नम्बरका निजी सवारी साधन चल्न पाउने मन्त्री खतिवडाले बताए।

प्रकाशित मिति: : 2020-07-09 17:18:22

प्रतिकृया दिनुहोस्