शैजा र म धरानको महेन्द्र क्याम्पसमा संगै डेरा बसेर पढ्न थालेको पनि पाँच महिना बितिसकेको थियो। ऊ भोजपुरबाट आएकी म धनकुटाबाट। शैजा वि एस्सी प्रथम बर्षमा पढ्थी म वि वि एस दोस्रो वर्षमा। मेरो कलेज बिहान लाग्थ्यो शैजाको दिउँसो। खाना पकाउने पनि हाम्रो आ आफ्नै पालो थियो। हाम्रो आ आफ्नै स्वभाव थियो, म बेलुका नौ बजे सुत्थें र बिहान चार बजे उठ्थें, शैजा बेलुका बाह्र बजे सुत्थी र बिहान सात बजे उठ्थी। यसरी हामीबीच बेलुका पनि गफगाफ गर्ने मौकै हुँदैनथ्यो। ऊ बाह्रबजेसम्म पढ्थी या के गरेर बस्थी मलाई थाहा थिएन।
कहिलेकाहीँ त मलाई लाग्थ्यो म बेकारमा शैजासंग एकैठाउँ बसें। किनकी ऊ मलाई जानकारी नै नगराई कहिले मामाघर जान्थी, कहिले साथीकहाँ, कहिले फुपूको घर अनि एक/दुईदिन उतै बिताएर आउँथी। फेरि ऊ एउटा राम्रो अभिनय गर्ने कलाकार पनि थिई। विभिन्न अवसरहरुमा नाटक, नाचगानको सिलसिलामा टाढा–टाढा पनि पुग्थी। ऊ मलाई जानकारी गराइरहन आवश्यक ठान्दिनथी। त्यसदिन पनि दुईदिनमा कोठामा आईपुगी मामाघर गएकी थिएँ भन्दै। मलाई रिसले टाउको दुख्यो। सोचें, अँहँ यो पाराले हुँदैन अब म शैजासँग नजिकिने प्रयास गर्छु र पनि यसको यही चाला हो भने म बेग्लै बस्छु भन्ने सोचेर भित्रभित्रै रिस उठे पनि बिहान कलेजमा भएको एउटा घटना हाँस्तै—हाँस्तै सुनाएँ—‘शैजा सुन न आज कलेजमा लामो लामो केश पालेको र मुन्द्रि लगाएको एउटा केटाले मलाई एउटा कागजमा रगतले आई लभ यु लेखेर दिएको थियो, मैले त यो कुखुराको खुन कि खसीको खुन भनेर फिर्ता गरिदिएँ ऊ त रिसले राता—राता आँखा पार्देै पो गयो।” शैजा एकछिन मज्जाले हाँसी र एकैछिनमा अँध्यारो अनुहार लगाई। ‘शैजा तिमीलाई त यस्तो प्रेम प्रस्ताव आएको छैन नि।” ऊ केही लजाए जस्तो गरी र मुस्कुराईमात्र। ‘भन न शैजा यस्तो कुरा त बाँड्नु पो पर्छ त किन कुरा लुकाउँछौ।” ‘सेविका मैले आजसम्म तिमीलाई एउटा कुरा भनेकै थिईन मलाई गलत नसोच ल म भरतसंग प्रेम गर्छु।” ‘अनि मलाई किन आजसम्म नचिनाएकी त? ‘भरत पनि यहाँ डेरा बस्छ उसको घर खोटाङको नालापानी भन्ने ठाउँमा छ म तिमीलाई भोलि चिनाइदिन्छु नि।”
भोलिपल्ट क्याम्पसको वार्षिक उत्सव थियो। म भरतको बारेमा सोधखोज गर्दै थिएँ। भरत एउटा राम्रो रचनाकार र गायक रहेछ ऊ आफैँ गीत र गजल लेखेर गाउँदो रहेछ। उसको एउटा गीति संग्रह समेत निस्किसकेको रहेछ। जब भरतले स्टेजमा आएर
पवित्र तिमी म तिरै सर्दै आऊ गङ्गा
झरना झैँ कलकल गरी झर्दै आऊ गङ्गा
भन्ने गीत गाउँदै थियो शैजाले मेरो कानमा आएर भरत त्यही हो भनेर सुटुक्क भनी। भरतको गीतमा सबैले ताली बजाए, कसैले फेरि अर्को गीत गाउन अनुरोध गर्दै केही नगद समेत दिए। भरतले फेरि अर्को गीत प्रस्तुत गर्यो–
मुटु दुखायौ र रोएँ म, तिमी हाँस्नु है
यता बन्धन टुटायौ, उतै मुटु गाँस्नु है
उक्त गीत सकिएपछि शैजाको ग्रुपले एउटा राम्रो नाटक प्रदर्शन गरे। कार्यक्रम सकिएपछि शैजा र म संगै कोठामा आयौँ। उसैले खाना पकाई, संगै खान बस्यौ उसले दुई÷चार गाँस खाएर जुरुक्क उठी। आ यसको बानी नै यस्तै हो भन्ने सोचेर मैले पनि केही वास्ता गरिन। बेलुका सुत्ने बेलामा मैले नै भरतको कुरा कोट्याएँ, ‘शैजा, भरत त कस्तो हेन्डसम रहेछ नि तिमीहरूको जोडी एकदमै मिल्ने रहेछ।” ‘तर सेविका मलाई किन—किन भरतदेखि छुटेर टाढा जान मन लाग्छ, म उसलाई पे्रम गर्न सक्दिन होला भन्ने लागिरहन्छ मनमा।” ‘शैजा तँ किन यसो भन्दैछेस् यसको कुनै कारण त होला नि भन् शैजा, तेरो यो शब्दले मलाई दुखी बनायो।” ‘सेविका भरतको एउटा अतित छ त्यही अतितमा डुबेर उसले आफ्नो पढाइ बिगार्यो र ऊ अझै पनि दुखी छ। म त भन्छु दोस्रो विवाह र दोस्रो प्रेम कसैले पनि गर्नु नपरोस् म भरतकी दोस्री प्रेमिका हुँ।
भरतको अतितले मेरो वर्तमान जीवनलाई दुखाउँछ किनकी मसंग त्यस्तो कुनै दुखाउने अतित छैन म त अतित सम्झी कहिल्यै नरुने मान्छे किनकी अतित सपना हो, भविष्य सम्झी कहिल्यै नहाँस्ने मान्छे किनकी त्यो त कल्पना हो। सधैँ वर्तमानलाई अँगालेर रमाउने मान्छे म। अनि जसले जीवनभरी दुःख सुखमा साथ दिन्छ त्यो नै मेरो जीवन हो। तर भरत मभन्दा फरक छ। म उसको पीडा र भावना बुझ्दिन होला जस्तो लाग्छ। म भरत दुःखेको हेर्न सक्दिन जसलाई नपाएर ऊ दुखेको छ उसलाई पाओस् र कहिल्यै नदुखोस्। फिल्मको कहानी जस्तो वास्तविकता वास्तविक जीवनमा हुने भए म खुसी हुँदै उनीहरुलाई एकअर्कामा हात थमाईदिएर टाढा जान्थेँ।” ‘शैजा तँ कसरी थाहा पाउँछेस् र भरत अतित सम्झि तड्पिन्छ भनेर? कि त तेरो यो शंका हो या त तँ भरतलाई एककोहोरो प्रेम गर्छेस्।” ‘होईन उसले सायद मैले भन्दा धेरै प्रेम गर्छ, मलाई उसको अतित एकाएक थाहा छ र अझै पनि उसका गीतका अन्तराहरुमा अतित छ, गजलका सेरहरुमा वास्तविकता राखेर गाउँदै चित्त बुझाउन खोज्छ। यसरी ऊ आफ्नो अतित अमर राखेर अतितमा दुखिरहन्छ।” ‘त्यसो भए किन तैँले उसलाई साथ दिने वचन दिईस् त शैजा? अब उसलाई तैँले यस विषयमा सम्झाउनुपर्छ।” “मलाई राम्ररी थाहा छ सेविका सम्झाउँदाको परिणाम, उसले मलाई नारीहरू इष्र्यालु हुन्छन्। मेरी गंगाको ईष्या गरी भन्छ। पुरुषहरु आफ्नो महानमा देखाउन नारीहरुलाई बढी सहानुभूति दिन्छन्। कहिल्यै नदेखेका भगवानकै कुरा गर्ने हो भने पनि बुद्धले एउटी सोझी नारीसंग विवाह गरी आधा रातमा घरबाट छोडेर हिँड्दा ती यशोधराले कति पीडा भोगिन् होला खै ती नारीको पीडालाई कसले लेख्यो?” ‘सेविका मलाई सक्षमले धेरै मन पराउँछ, मलाई पनि ऊ मनपर्छ। ऊ अतितले दुखेको मान्छे होईन तर मैले भरतलाई आफ्नो बनाउने वचन दिइसकें। अब म भरतलाई धोका दिएर फेरि अर्की नारीलाई भरतको अतितसंगै दुखाउन चाहान्न। त्यसैले अब म भरतलाई नै पहिलो र अन्तिम प्रेम गर्न चाहान्छु। सक्षमले नै आज मलाई कलाकार बनायो। ऊ अब मेरो नाटक र फिल्मको नायक मात्र हो।” ‘शैजा यदि तैँले भरतलाई बाध्यताले स्वीकारेकी होस् भने छोडिदे त्यो बाटो।” ‘सेविका म खुसी छु, हुन त भरतको जस्तो अतित मेरो थियो भने भरतले मलाई चरित्रहिन भन्थ्योहोला। मैले मेरी आमाको सपना चाहिँ पूरा गर्न सकिन, मेरी आमाले मलाई जहिले पनि डक्टर, इन्जिनियर र प्रोफेसरसँग विवाह गरिदिने इच्छा गर्नुहुन्थ्यो। मैले आमासंग भनेकी थिएँ—‘आमा मलाई डक्टर, इन्जिनियर,र प्रोफेसर चाहिँदैन किनकी मलाई पुरुषको कमाईमा बाचौँला र मोज गरौंला भन्ने छैन, धनले दुखै भएपनि मनको धनी पुरुष मनपर्छ भनेकी थिएँ तर दुखेको मान्छेसंग प्रेम गर्न पुगेँ, न आमाको सपना पूरा भयो न मेरो। म मेरी आमालाई कसरी भनूँ कि म भरतसंग प्रेम गर्छु भनेर। उहाँले मलाई भरतको अतित सोध्नुहुनेछ। भरतको अतित सोध्नका लागि जताततै प्रमाणहरु सार्वजनिक छन्। उसको अतित सबैले मलाई सोध्नेछन्।’ बिहान उज्यालो हुँदा सम्झेँ शैजाले कतिबेरसम्म आफ्नो कहानी सुनाइरही? ‘अतित ब्यूझाउने प्रमाणहरु जताततै सार्वजनिक छन्। उसको अतित सबैले मलाई सोध्नेछन्।’ यहाँदेखि म निदाएछु। बिहान चार बजे म ब्यूँझिदा शैजा निदाइरहेकी थिई। म तयारी भएर क्याम्पस गएँ। कलेजबाट आउँदा भरत र ऊ संगै खाना बनाउँदै थिए। भरतको बारेमा सबै मलाई थाहा भएपछि शैजालाई कोठामा लिएर आउन सजिलो लाग्न थालेछ त्यस दिनदेखि भरत हाम्रो कोठामा आईरहन्थ्यो।
शैजा लगातार पाँच दिनसम्म विभिन्न स्थानहरुमा नाटक मञ्चनको लागि हिँडेकी थिई सिकिस्त बिरामी भएर कोठामा आईपुगी र खाटमा पल्टी। म अलमल्ल परेँ कहाँ लैजाने, कसरी लैजाने हनहनी ज्वरो आइरहेको थियो उसलाई। टुप्लुक्क भरत आइपुग्यो र एम्बुलेन्स बोलाएर तुरुन्त हस्पिटल लग्यो, म पनि संगै गएँ। शैजालाई टाईफाइट भएको रहेछ। डक्टरले आज यहीँ राख्नुपर्छ भनेपछि भरत र म शैजालाई कुरेर बस्यौँ। नौ बजेपछि मलाई निद्राले च्याप्न थाल्यो म एउटा खाली वेडमा पल्टेँ। तर किन निद्रा लाग्थ्यो र? लामखुट्टेको टोकाई र औषधिको गन्धले। म शैजातिर हेरेर ढल्केकी थिएँ। मैले थाहा पाएँ भरतले शैजालाई कति धेरै प्रेम गर्दो रहेछ। ऊ औषधि लिन पनि आफैं जान्थ्यो, शैजालाई ट्वाईलेट पनि आफैं डोहोर्याउँदै लान्थ्यो अनि पटकपटक खानेकुरा ख्वाउने प्रयास गर्दै छेउमा बसेर शैजालाई हेरिरहेको थियो। मेरो मनमा अनेक प्रश्नहरु उठ्न थाले–‘भरतले शैजालाई कति धेरै प्रेम गर्छ तर शैजा किन मेरो दोस्रो प्रेमी हो भन्छे, यसमा भरतको के दोष छ र? भरत एउटा राम्रो सम्भावना भएको मान्छे हो तर शैजाको यस्तै ईष्यालु र शंकालु बानी हो भने भरतको प्रगतिमा शैजा काँडेतार बन्छे। भरत जस्तो प्रेमी सबैले पाउँदैनन्। यदि मैले भरत जस्तो जीवन साथी पाएको भए सारा कुरा भुलेर प्रेममा रमाउँथे।’ यस्तै कुरा खेलाएर छर्लङ्ग उज्यालो पारेँ।
म कलेजबाट आउँदा शैजा थिईन। उसको जानकारी नगराई हिँड्ने बानी कायमै रह्यो। त्यस दिन पनि ऊ कतै गई भन्ने कुरा उसका कपडा, ब्याग र चप्पल हेरेर थाहा पाएँ अब त अति भयो मलाई पनि रिस उठ्यो। ऊ दुई दिनका लागि बाहिर गएकी होली म पाँच दिनका लागि मामाघर जान्छु भन्ने सोचेँ र मोवाइल स्वीच अफ गरेर मामाघर गएँ। चारदिन बितेपछि शैजा कलेज आएकी छे कि छैन भनेर चियोचर्चो गरेँ तर चारदिन अघिदेखि नै शैजा, भरत र सक्षम नआएको कुरा थाहा पाएँ। शैजाको मोवाइलमा फोन गरेँ स्वीच अफ थियो। अबचाहिँ मलाई कताकता शङ्का र डर लाग्न थाल्यो। अचानक शैजाकी साथी सलोमी आएर एउटा फोटो दिँदै गोप्य रुपमा हेर्नु है भन्दै गई। मैले एकान्तमा लगेर हेरेँ। सक्षम र शैजाको अङ्कमाल गरेको फोटो थियो। म छक्क परेँ। मैले कलेजबाटै घरबेटी आन्टीलाई फोन गरेँ–‘आन्टी शैजा कोठामा आएकी छे कि छैन?” ‘तिमीहरु कहाँ हराएका शैजा पनि आएकी छैन तिमी पनि हरायौ, यहाँ एउटा भरत भन्ने केटा शैजालाई खोज्दै पटक पटक आईरहन्छ।”
म कोठामा गएँ शैजा र सक्षमको फोटो कापीको चेपमा हालेँ। के शैजाले भरतलाई जानकारी नदिई हिँडेकी हो त? भन्ने खुल्दुली भयो। यो कुरा भरतलाई थाहा छ कि छैन? भरत के गर्दै छ भनेर बुझ्न मन लाग्यो र भरतको कोठामा गएँ। भरतलाई कोठामा नभेटेपछि सरासर आफ्नै कोठामा फर्के। घरबेटी आन्टीले भन्नुभयो त्यो भरत भन्ने केटो अहिले पनि तिमीहरुलाई खोज्दै आएको थियो। कोठामा पसेर एकछिन बस्यो र निस्केर गयो भन्नुभयो। म कोठामा पसेँ शैजा र सक्षमको फोटो कापीको चेपमा थियो। भरतले हेरेछ र बाहिरै राखिएको थियो। म भरतको कोठामा गएँ ऊ चाहिँ मेरो कोठामा आएछ भेटै भएन।
शनिबारको दिन भएकोले नुहाइधुवाई गरि सकेँ र फेरि भरतको कोठामा हिँड्न लाग्दा एउटा नयाँ नम्बरबाट फोन आयो शैजाले गरेकी रहिछे। ऊ भन्दै थिई ‘सेविका खुसीको कुरा म एकदुई दिनका लागि मामाघर आएकी थिएँ पूर्वाञ्चल स्तरीय नृत्य प्रतियोगीता हुनेकुरा थाहा पाएँ र मैले सक्षम, सलोमी लगायतका साथीहरुलाई बोलाएर हामीले नृत्य प्रस्तुत गर्यौँ। उक्त नृत्यमा हामी प्रथम भयौँ। हामीले अप्रतियोगी नाटक पनि मञ्चन गरेका थियौँ उक्त नाटकमा सक्षम र मैले प्रेमी पे्रमीकाको भूमीका खेलेका थियौँ। सोही अवसरमा खिचिएको एउटा फोटो मैले तँलाई पठाईदिएकी थिएँ छक्क परिस् होला है।” ‘अनि तँ भरतलाई जानकारी नगराई हिँडेकी शैजा?” ‘म भरतलाई झुक्याउन दुई दिनका लागि आएकी थिएँ तर नृत्य प्रतियोगितामा भिड्ने अवसर पाएपछि यो सरप्राईज लिएर मात्र भरतलाई सम्पर्क गर्छु भनेर नगरेकी हुँ। आज हामीलाई वीरता जेसीसले सम्मान तथा नगद पुरस्कारका साथै भरतको गीति संग्रहका साथै विभिन्न पुस्तकहरु पुरस्कार पायौँ। मैले भरतको गीतमा समेत अभिनय गरेकी थिएँ। म यति खुसी भएँ पुरस्कार थापिसकेर भरतलाई फोन गर्न मन लाग्यो जताततै भीडले घेरिएका थियौँ। कतै एकान्त नपाएपछि ट्वाईलेटमा गएर मोवाईल स्वीच अन गरेँ भरतका पचास वटा म्यासेज आएका थिए तर हेर्न नपाउँदै मोवाईल ट्वाईलेटमा खसेर कामै नदिने भयो। सेविका मलाई कतिखेर भरतलाई भेटेर यो सब खुसी बाँड्नु जस्तो भएको छ। तँ अहिले नै गएर भरतलाई हाम्रो कोठामा लिएर आइज र म आउले बित्तिकै पहिलो पटक भरतलाई देख्न पाउँ तर यो सब कुरा भरतलाई नभन है म उसलाई सरप्राईज दिन चाहान्छु। म अहिले पाँच बजे कोठामा आईपुग्छु।” यति भनेर उसले फोन राखी।
म भरतको कोठामा गएँ। भरत थिएन कोठा खुल्लै थियो। कोठामा पसेर हेरेँ। आधा सामानहरु थिएनन्। टेबलमा एउटा पत्र देखेँ, शैजालाई लेखेको पत्र रहेछ। कोठामै पुगेर पढ्छु भनेर लुकाएर बोकेँ र घरबेटीसँग सोधेँ भरत जी कता लाग्नुभएछ भनेर। ‘भरतले अहिलेसम्मको सबै कोठाभाडा तिरेर एउटा झोला बोकेर सबैसँग बिदा मागेर हिँड्नुभयो तर कहाँ जानुभएको हो थाहा छैन।” म छक्क परेर मेरै कोठामा फर्किदै थिएँ, झट्ट सम्झेँ अघि नुहाउँदा घाँटीको सुनको लकेट फुकालेर बाहिर धारामा छोडेकी थिएँ लगाउनै बिर्सिएछु हरायो होला भनेर आत्तिएँ पत्र त्यही खाटमा राखेर लकेट खोज्न गएँ। निकैबेर खोज्दा पनि लकेट भेटिन र पत्र पढ्न खुल्दुली हुँदै कोठामा आएर हेर्छु त घरबेटी भाउजुकी सानी डेढ वर्षे छोरीले खेल्ने क्रममा पत्र सबै टुक्राटुक्रा हुनेगरी च्यातिछे र कागज मुखमा हालेर चपाईरहेकी थिई। म निराश भएर खाटमा पल्टें। भरत भरत भनेर चिच्याउँदै शैजा आईपुगी। भरतलाई कोठामा नदेख्नु मलाई त्यो हालतमा देख्दा मलाई ठूला ठूला आँखा तुल्याएर हेरी मेरो शीर निहुरियो उसले सम्झी मैले यत्रो पुरस्कार र सम्मान पाएकोमा सेविकाले ईष्या गरी भन्ने सोचेर ऊ झोला बोकी बोकी भरतको कोठातिर लागि मैले शैजा शैजा भनें उसले फर्केर हेरिन।
संजोग पनि कस्तो, भरतले शैजा र सक्षमको अंकमाल गरेको फोटो भेट्नु, शैजाले एकैचोटी ठूलो सफलता पाउनु, शैजाले भरतको गीतमा अभिनय गर्नु, पुरस्कारमा भरतको गीतिसंग्रह पाउनु। भरतले म्यासेजमा के लेखेको थियो शैजाले हेर्न नपाउनु,त्यही बेला मेरो लकेट हराउनु, भरतले लेखेको पत्र पढ्न नपाउँदै निर्दोष बच्चाको खेलौना बन्नु, शैजाले खुसी बाँड्न नपाउँदै भरत बेपत्ता हुनु। यहाँ कसलाई दोषी ठानूँ म? भरतलाई, भरतको अतितलाई, शैजालाई, सक्षमलाई कि निर्दोष बच्चालाई वा म आफैँलाई।
मनको घर भत्किएपछि जोड्न गाह्रो हुँदोरहेछ। सुरुमा गङ्गा र भरतको मनको घर भत्कियो त्यसपछि शैजा र भरतको। अब यो शैजासंग जोडिने व्यक्तिसम्म सर्छ। न त सक्षम र शैजाको मनको घर सजियो। म पनि मनको घर भत्काउने एउटा भुइँचालो बन्न पुगेँ।