दोस्रो विश्व युद्वका सय वर्षिय वार भेट्रान, जसले कोरोनाविरूद्ध अर्बौं चन्दा संकलन गरे   

दोश्रो विश्व युद्वका एक बेलायती योद्दाले कोरोना भाइरसविरूद्द लडिरहेको राष्ट्रिय स्वास्थ्य सेवालाई ५ अर्ब रूपैयाँ भन्दा धेरै चन्दा संकलन गरेर विश्वलाई चकित तुल्याइदिएका छन्। १ हजार पाउण्डको लक्ष्य लिएर सुरू गरिएको उनको चन्दा अभियान करोडौं पाउण्ड उठाउन सफल भयो।

***
कोरोनाको महामारीबाट मानिस डराएर घरभित्रै कुँजिइरहेका बेला कर्नेल मुरले भने आत्मविश्वासको पहाड चढेर परोपकारी काम गरे। उनको अभियानले गिनिज वर्ल्ड रेर्कड बनायो। उनले मानार्थ कर्नेल र वेलायतको प्रतिस्ठित नाइटहुड पदवीसमेत पाए।


सकारात्मक सोच र इच्छा शक्ति भएमा सत्कर्म गर्न उमेरले छेक्दैन भन्न गतिलो उदाहरण बनेका छन् बेलायती सेनाका एक जना पूर्व सैनिक। गत अप्रिल ३० मा सय वर्षमा पाइला टेकेका वेलायती सेनाका ‘वार भेट्रान’ कर्नेल टम मुरले कोरोना विरूद्धको लडाईँ लड्न ५ अर्ब भन्दा बढी रूपैयाँ चन्दा संकलन गरेर दुनियाँलाई चकित तुल्याइदिएका हुन्।

चन्दा संकलन गर्नु अघिसम्म उनको पदवी क्याप्टेन थियो। चन्दा संकलन दौरान उनले मानार्थ कर्नेल पदवी पाए।

उनको जन्मदिनमा संसारभरका करोडौं मान्छेले शुभकामना दिए। उनले चर्चा कमाउन वा सेलिब्रिटी बन्न चन्दा संकलन गरेका होइनन्। रातदिन महामारी विरूद्ध उपचारमा खटिएका बेलायतस्थित नेशनल हेल्थ  सेन्टर (एनएचएस) का स्वास्थ्यकर्मीप्रति सद्‌भाव जागेर उनले १ हजार पाउण्ड रकम संकलनको आब्हान गरेका थिए। तर, मनकारीले करोडौं पाउण्ड दान दिए।

उनको जोश, जाँगर, सहास र परोपकारी भावनाले विश्वलाई चकित बनाइदियो। उनको उद्देश्य आफ्नो १०० औं जन्म दिन मनाउनुभन्दा ठिक अगाडि बगैंचाको १०० पाइला पुरा गरेर १ हजार पाउण्ड संकलन गर्नुथियो। तर २४ घण्टा नबित्दै त्यो लक्ष्य पुरा भयो। त्यसपछि बाहिरी देशबाट पनि लगातार सहयोग खातामा चन्दा थपिइरह्यो।  

उनको साहस र समाजसेवी भावना कदर गर्दै बेलायती रक्षा मन्त्रालयले मानार्थ कर्णल उपाधि दिइसकेको छ। यति ठूलो रकम चन्दा उठाएर उनले गिनिज वर्ल्ड रेकर्ड समेत राखे।

‘मेरो हिँडाईले मैले सोचेभन्दा बढी पैसा जुटाएको छु। जसले दान गरे उनीहरूलाई धन्यवाद दिन्छु’, उनले रकेर्ड पाउँदा हर्षित हुँदै मिडियासँग भने, ‘हामीले मिलेर रेकर्ड कायम गरेकाले यो सामूहिक विश्व रेकर्ड हो। जसरी चन्दा उठाउनमा सामूहिक भावना देखियो त्यसैगरी हामी मिलेरै कोरोनालाई पराजित गर्नुपर्छ।’

‘क्याप्टेन मुर राष्ट्रिय खजाना हुन्’, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भने, ‘उनले कोरोना भाइरसको कुहिरोबाट हामी सबैलाई ज्योति दिएका छन्।’

आफ्नो अभियान सफल भएकामा क्याप्टेन मुरले सन्तोषको सास फेरेका छन्। ‘म आम बेलायती र विश्वका शुभचिन्तकप्रति कृतज्ञ छु’, उनको भनाई उद्धृत गर्दै स्काई न्यूजले लेखेको छ, ‘राष्ट्रिय सेवामा अग्रपंक्तिमा खटिरहेका हाम्रा नायकलाई चिन्ने अवसर हामीले पायौं।’
 

यसरी संकलन भयो अर्बौं रूपैयाँ  

बेलायतमा कोरोना महामारी फैलिएपछि क्याप्टेन मुरको दिमागमा रातदिन सेवामा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग गर्ने भावना पलायो। दिमागमा अचम्मको आइडिया फुर्‍यो, ‘म आफ्नो १०० औं जन्मदिनसम्म एनएचएसका लागि नारा लगाएर दिनहुँ बगैंचामा हिँड्ने छु।’
अप्रिल ३० मा जन्मदिन मनाउने बेलासम्म घरको २५ मिटर लामो बगैंचामा दिनको १० पटकका दरले सय पटक ओहोरदोहोर गर्ने प्रण गरेछन्। सुरूमा कोरोनाविरूद्ध लड्ने एनएचएस संस्थाका लागि १ हजार पाउण्ड चन्दा संकलन गर्ने लक्ष्य बोके।

हिँड्नलाई गुड्ने फ्रेमको सहायताले प्रत्येक दिन १० पटक ओहोरदोहोर गर्न थाले। उनले यो कुरा केही छिमेकीसँग पनि गरेछन्। लगत्तै खबर ब्यापक रुपमा फैलियो। टमको साहसलाई देखेर लाखौं मान्छेले उनको नाममा चन्दा दान गर्न थाले। जन्मदिनसम्म आइपुग्दा ३ करोड ३८ लाख पाउण्ड अर्थात् नेपाली रुपैंयाँ ५ अर्ब भन्दा बढी दान उठेको थियो। उक्त रकम एनएचएसलाई हस्तान्तरण गरिदिए।


टमलाई बेलायतको रक्षा मन्त्रालयले मानार्थ कर्नेल उपाधि दिने कार्यक्रम भव्य बनेको थियो। टेलिग्राफ समाचारका अनुसार सेना प्रमुख जनरल सर मार्क कार्लेटन स्मिथद्वारा उनको अविश्वसनीय उपलब्धिको सम्मानस्वरुप आर्मी फाउण्डेशन कलेज हेरोगेटको पहिलो मानर्थ कर्नेल पदवी दिइएको हो।
गत महिना लाखौं मानिसले उनको प्रयासका लागि नाइटहुड पदवीका लागि आग्रह गरेका थिए। साथै प्रधानमन्त्री जोन्सनको  सिफारिसमा महारानी एलिजाबेथले अनुमोदन गरिसकेकी छिन्। एक विशेष समारोहमा दिइने नाइटहुड उपाधि भने कोरोना महामारीका  कारण सन् २०२१ मा मात्र दिइनेछ। त्यसपछि उनलाई ‘क्याप्टेन सर टम मुर’ भनिनेछ।  

को हुन् क्याप्टेन मुर ?

क्याप्टेन टम मुरको जन्म योर्कशायरको कावेस्ट राइडि केघले बेलायतमा भएको थियो। उनका बुबा विलफ्रेड बिल्डरहरूको परिवारमध्ये एक थिए, भने आमा शिक्षक थिइन्। उनको प्राथमिक शिक्षा किगिले ग्रामर स्कूलमा भएको थियो। उनले सिभिल इन्जिनियरिङमा अप्रेन्टिसिप तालिम पूरा गरेका थिए।

युवा अवस्थामा क्याप्टेन मूर

दोस्रो विश्वयुद्वको सुरूलगत्तै उनी सन् १९४० मा ड्यूक अफ वेलिङटन रेजिमेन्टको आठौं बटालियनमा भर्ना भएका थिए। उनी सैनिक सेवामा रहँदा दोस्रो विश्वयुद्वको लडाइँमा बर्मा र भारतमा खटिएका थिए।सैनिक सेवामा रहदा उनले विभिन्न प्रतिष्ठित पदक जितेका थिए।

उनको १०० औं जन्म दिनमा संसार नै खुसी बन्यो। उनको जन्मोत्सवको खुसीयाली मनाउन बिबिसी लगायत विभिन्न सञ्चार माध्यमले विमान परेड आयोजना गरेका थिए। आकासमा २ वटा विमान उडेका थिए भने उनले हात हल्लाइरहेका थिए। उनी हर्षित् मुद्रामा महारानीले पठाएको शुभकामना कार्ड खोलिरहेका थिए भने प्रधानमन्त्री जोन्सनको भिडियो सन्देश हेरिरहेका थिए।

उनले एक लाख २५ हजार भन्दा बढी शुभकामना कार्ड पाएका थिए।

आज दुनियाँले उनको तारिफ गरेको छ। जीवन होस् त यस्तो! बधाई कर्नेल मुर। सुस्वास्थ्य र दीर्घायूको कामना!
अन्त्यमा, १०० औं जन्म दिनको उपलक्ष्यमा ‘विलेटेड ह्याप्पी वर्थडे’ एण्ड ग्राण्ड सलुट क्याप्टेन सर टम मूर।

(विभिन्न एजेन्सीजको सहयोगमा )

प्रकाशित मिति: : 2020-06-02 16:58:46

प्रतिकृया दिनुहोस्