वीरगञ्जको फोटो स्टुडियो प्रकरणमा पक्राउ परेका ४ जनामाथि बाल यौन दुर्व्यवहार मुद्दा दायर

वीरगञ्जको आदर्शनगरस्थित चित्रलेखा फोटो स्टुडियोमा नाबालिका प्रयोग गरी अश्लिल गतिविधि गरेको आशंकामा पक्राउ परेका चार अभियुक्तमाथि बाल यौन दुर्व्यवहार मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रारम्भीक अनुसन्धानको क्रममा दुई नाबालिकालाई प्रयोग गरी स्टुडियो भित्र अश्लिल गतिविधि गरेको पाइएको थियो।

पक्राउ परेका स्टुडियो सञ्चालक बैजु प्रजापति, बब्लु शेख, बादल जैसवाल र मनिष मिश्रालाई बाल यौन दुर्व्यवहार आरोपमा ३ वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको पर्सा प्रहरीकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। ‘यो सानो मुद्दा पनि होइन, यसमा दोषीलाई ३ वर्षको जेल सजाय हुनसक्छ’, बिएल नेपाली सेवासँग कुरा गर्दै एसपी पन्तले भनिन्, ‘पीडितको उमेर नाबालिका भएकाले यो मुद्दा चलाइएको छ।’

नियन्त्रणमा आएका ११ र १३ वर्षका नाबालिका अहिले प्रहरीको संरक्षणमा बालमैत्री कक्षमा छन्। एसपी पन्तका अनुसार बाहिर आएको अफवाह जस्तो यो घटना नभएको र बालिकाले समेत वयानमा वास्तविक कुरा नखुलाउँदा अनुसन्धानमा प्रहरीलाई छानबिन गर्न समय लागेको उनले बताइन्।

‘पीडितले नै आफूहरू पीडित नभएको बयान दिएपछि तत्काल फेला परेको प्रमाणकै आधारमा पर्सा प्रहरीले आरोपितलाई कानुनी दायरामा ल्याएको थियो, प्रकृया पुर्‍याएर मात्रै कुनै पनि मुद्दालाई कानुनी उपचार गर्नुपर्ने भएकाले सोही अनुसार तथ्य र प्रमाणको आधारमा पर्सा प्रहरी अगाडि बढिरहेको छ’, उनले भनिन्।

घटना भएको समयमा २ नाबालिकासहित ३ जना अभियुक्त मात्र पक्राउ परेको र अर्का एक जना मुख्य आरोपि बब्लु शेख भन्ने सलाउद्धिन अली फरार रहेको अवस्थामा प्रहरीले तत्काल दुर्व्यवहारको मुद्दा चलाएको एसपी पन्तले बताइन्। तर बब्लु शेख भन्ने आरोपित पनि २ दुई दिन पछि वीरगन्जबाटै पक्राउ परेपछि प्रहरीले नै अति संवेदनशील घटना भएको भन्दै चारै जना अभियुक्तमाथि अहिले बाल यौन दुर्व्यवहार मुद्दा दायर गरेको एसपी पन्तले बताइन्।

के छ कानुनी व्यवस्था?

चित्रलेखा स्टुडियोको अवस्था र त्यहाँबाट पक्राउ व्यक्तिका विषयमा हामीलाई प्राप्त भिडियो फुटेज हेर्दा मात्रै पनि घटनामा अन्य ऐनहरुसँग आकर्षित गर्ने देखिन्छन्।

श्रोतका अनुसार पक्राउ परेका युवामध्ये केहीले ती नाबालिकलाई आफूहरूले समातेसम्मको बयान दिएका छन्। समातेसम्मले पनि ‘बलात्कार प्रयास हुने’ भएकोले यो मुद्दामा मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अन्तर्गत करणी सम्बन्धी कसुरमा पर्छ, यो दफाको २१९ मा १८ वर्ष भन्दा मुनीका बालिकालाई सहमतिमा पनि शारीरिक सम्बन्ध राखे पनि जर्बरजस्ती करणी गरेको मानिने उल्लेख छ।

सोही दफाको ३ ‘ख’ मा १० वर्ष भन्दा माथि १४ वर्षभन्दा तलकाका बालिका भएमा १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरिएको छ। करणी सम्बन्धी कसुरको दफा २२५ अन्तर्गत ३ को धारा दुईमा कसैले करणीको आशयले बालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा यौन दुर्व्यवहार गरे वा बाल यौन दुरूपयोग भएको हुने स्पष्ट उल्लेख छ। जस अपराध अन्तर्गत तीन वर्ष कैद र तीस हजार जरिवाना उल्लेख रहेको अधिवक्ता रामनारायण कुर्मीले बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-01 18:48:57

प्रतिकृया दिनुहोस्