गण्डकीका सबै जिल्लामा रङ्गशाला बनाइने

रासस

कास्की 

सङ्घीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले  प्रदेशका ११ वटै जिल्लामा एक/एक वटा रङ्गशाला बनाउने भएको छ। 

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेशसभामा सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  रङ्गशाला निर्माण गर्ने नीति लिइने जानकारी दिए। 

सरकारले प्रदेशमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ। आगामी फागुनमा प्रदेशमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने निर्णय यसअघि नै गरिएको छ। 

यसअघि आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ को बजेटका सिद्धान्त तथा प्राथमिकता सदनमा प्रस्तुत गर्दै आगामी वर्ष पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिने बनाएका थिए। 

सरकारले स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह एक खेलकूद मैदान कार्यक्रमलाई आवश्यकतानुसार निरन्तरता दिइने जनाएको छ। 
    
नीति तथा कार्यक्रममा प्रदेशमा खेलकूदको संस्थागत विकास गर्न आवश्यक कानून तर्जुमा गर्ने, नेपाल सरकारसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रङ्गशाला, उच्च हवाई खेलकूद तालिम केन्द्र र क्रिकेट रङ्गशालालगायतका खेलकूद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिने उल्लेख छ। 

सरकारले चालू वर्षमा स्थानीय तहसँगको सहकार्यमा २२ गाउँपालिका र पाँच नगरपालिकामा खेल मैदान र स्थानीयस्तरको रङ्गशाला निर्माण कार्य अघि बढाइएको जनाएको छ। 

नेपालमा आयोजना गरिएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतका आठवटा खेल प्रदेश राजधानी पोखरामा सफलतापूर्वक सम्पन्न भएको र सो प्रतियोगितामा पदक विजेता यस प्रदेशका खेलाडी र प्रशिक्षकलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ। 
 

प्रकाशित मिति: : 2020-06-01 13:55:25

प्रतिकृया दिनुहोस्