हरिविनोद अधिकारी
चीनको मानसरोवरसम्म तीर्थाटन जाने निहुँमा नेपाली भूभागतर्फको कालीको तिरैतिर बनाएको मोटर जाने बाटोले यति ठूलो सीमा विवाद ल्याउला भन्ने सायदै भारतले सोचेको थियो होला। अर्काको जमिन त जहिले पनि अर्काकै हुन्छ। फेरि त्यो जमिन नेपालको नै घटाएर खुम्च्याएको सीमाबन्द ठाउँ थियो भन्ने भारतले बुझेन।
भारतले बारम्बार वार्ता गर्न नचाहेको तर नेपालले भद्रता प्रदर्शन गर्दै मिचिएको जमिनका बारेमा द्विपक्षीय वार्तामा छलफल गरिरहेको कुरा अहिले छर्लङ्ग हुँदैछ। यसमा नेपालका कुन सरकारको दोष भन्दा पनि भारतसँगको सम्बन्धमा विश्वास गर्ने नेपाली बानीले अहिले खस्रो मसिनो पारेको हो। हाम्रो कति क्षेत्रफल भारतले मिचेको छ भनेर भन्नका लागि दुईतर्फबाट फेरि सौहार्द तरिकाले नापजाँच हुनैपर्छ र भारत जतिजति समस्या समाधानका लागि भाग्छ, उतिउति यो समस्या अन्तर्राष्ट्रियकरण हुन्छ।
हुन त हामीले अन्तराष्ट्रियकरण नगरेर के भयो र ? भारतले गरेको व्यवहारले दुनियाँले थाहा पाएकै छन्। कसैले पनि अहिलेको बेलामा नेपालको अर्घेल्याईँ भन्दैनन्, भनेका पनि छैनन्। किनभने नेपाल खपेर बसेको छ र वार्ताको लागि पर्खेर बसेको छ।