के लडकडाउनमा सञ्चालित अनलाइन कक्षा प्रभावकारी छन्?

जीवन बनिया

रूपन्देही

विगत चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ। अत्यावस्यक बाहेक अन्य सबै ठप्प छ। स्कुल कलेज ठप्प हुँदा लाखौ विद्यार्थी प्रभावित छन्।

सहरका विद्यार्थीहरू घरभित्रै रहे पनि ग्रामिण भेगका अधिकांश विद्यार्थी यतिबेला खेल मैदान, नदि र खोलाको बगर, घर छेउछाउका गहुँ काटेको खेतमा व्यस्त छन्।

यसैबीच बालबालिकाको मानसिक अवस्थामा कुनै असर नपरोस् भनेर विभिन्न रेडियो तथा टेलिभिजनबाट दूर शिक्षा सुरू भएको छ। इन्टरेनटको पहुँच भएका स्थानमा अनलाइनबाट कक्षा सुरू भएको छ।

यता रूपन्देहीको मायादेवि गाउँपालिका ४ रमवापुरका सरोकारवालाले पनि स्थानीय विद्यार्थीका लागि भन्दै रेडियो, टेलिभिजन र अनलाइनबाट कक्षा सञ्चालन गरे पनि यहाँका अधिकाश विद्यार्थीको पहुँच बाहिर रहेको छ।

नौ वर्षिय शुसान्त अग्रहरीको घर रमवापुरमा छ।  लकडाउन भएपछि फुर्सदिलो भएका उनी घर नजिकै माटोमा खेल्दै थिए। उनलाई अनलाइन कक्षाका बारेमा केही थाहा छैन।

रमवापुरकै स्थानीय स्कुलमा अध्ययनरत शुसान्तका बुबा मनोज अग्रहरी गल्लाको काम गर्छन्। स्कुलले अनलाइन र रेडियो-टिभीबाट पढाउने विषयमा उनलाई पनि थाहा छैन। ‘रेडियो टेलिभिजनबाट बच्चालाई पढाउँछन् मलाई केही थाहा छैन’, उनले बिएल नेपाली सेवाको संवादमा भने।

यस्तै सेमरी मावी कक्षा आठमा अध्यनरत १४ वर्षिय सस्कला पासीलाई पनि अनलाइन र रेडियो टिभीबाट पढाइन्छ भन्ने थाहा नभएको बताइन्। पासिको घर रमवापुरमा छ। उनलाई इन्टरनेटको बारेमा केही जानकारी भए पनि घरमा इन्टरनेट नभएकाले अनलाइन कक्षाबारे केही थाहा नभएको बताइन्।

सस्कलाको बुबा साइकल बनाउने काम गर्छन्। उनीहरूको परिवार इन्टरनेटको पहुँचबाट धेरै टाढा छ। यहाँसम्म कि उनको घरमा भएको टेलिभिजनमा समेत नेपाली च्यानल आउँदैन। यस्तोमा कसरी अनलाइन शिक्षा लिन्छन् बच्चाहरूले।

स्थानीय सरकार र विद्यालयले अनलाइन कक्षाका बारेमा बिगुल फुके पनि सस्कला र शुसान्तजस्ता  बालबालिकाहरूका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै हो।

यता मायादेवि गाउँपालिकाका अधक्ष ध्रुवनारायण चौधरीलाई यस विषयमा प्रश्न गर्दा पछिल्लो समय रूपन्देहीमा कोरोना भाइरसका संक्रमण बढिरहेको भन्दै पालिकाले सबै ध्यान यसैमा केन्द्रीत भएकाले विद्यार्थीको बारेमा केही समयपछि सोचिने बताए।

‘कोरोनाको सन्त्रास बिच हामी बालबालिकालाई लक्षित गरेर अहिलेनै कुनै विशेष कार्यक्रम ल्याउन सक्दैनौ’, उनले भने।

यता श्री शान्ति नमुना मावि मणिग्रामका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यार्थिलाई अनलाइनबाट कक्षा चलाउँदा रिजल्ट राम्रो नआउने दाबी गरे।

उनले सबै विद्यार्थीको पहुँचमा इन्टरनेट नपुगेको भन्दै उनले यदि नेटको पहुँचमा भइहाले पनि बेलाबेलामा जाने बत्तिले नेट द्रूतगतिमा नचल्दा समस्या आउने बताए।

प्रधानाध्यापक लामिछानेले विद्यार्थीलाई घरमै बसेर स्वअध्ययन गरिदिन आग्रहसमेत गरे। उनले बच्चाको पहिलो पाठशाला घर भएकाले विद्यार्थीका अभिभावकलाई शिक्षकको भूमिका खेलिदिनसमेत आग्रह गरे।

अनलाइन वा इ-लर्निङ विधि नेपाली समाज सापेक्ष र सुहाउँदो नभएको विद्यमान विश्वव्यापी सङ्कटको अवस्थामा बालबालिकाको शिक्षा सुचारूका लागि केही न केही वैकल्पिक उपायहरू त अवश्य नै सोच्नुपर्ने देखिन्छ। हालकै परिस्थिति रहिरह्यो भने असार यता विद्यालयहरू सुचारू हुने अवस्था छैन। अझै पनि कोरोना परीक्षणको दायरा बढ्न सकिरहेको छैन, लकडाउन मै समय व्यतीत भैरहेको छ।

अलि पहिल्यै सूचित गरेर माध्यमिक शिक्षा परीक्षा परीक्षा बन्दगर्नुपर्ने बेलामा सम्बन्धित निकायको अपरिपक्वताका कारण अघिल्लो दिनमा मात्रै परीक्षा स्थगनको सूचना जारी गरियो। त्यसैको केही दिनमा नै मुलुक पुरै बन्दाबन्दीको अवस्थामा गयो र हालसम्म पनि बन्दाबन्दीको अवस्था कायमै रहेको छ।

यस्तो बेलामा बालबालिकाको शिक्षासम्बन्धी केही वैकल्पिक उपायहरूका बारेमा नयाँ आयामबाटै छलफल गर्नपर्ने हुनजान्छ।

हाल प्रस्तावमा ल्याइएको तर पूर्णतः व्यवहारिक नभएको अनलाइन कक्षाको सट्टामा टि.भी. तथा रेडियोका माध्यमबाट कक्षा सुचारू गर्ने एउटा भरपर्दो माध्यम बन्न सक्छ। जसका लागि सरकारी व्यवस्थापनका नेपाल टेलिभिजनका हालै पनि ५ वटा जति च्यानलहरू सुचारू नै छन्, तिनै च्यानलहरूमा कक्षागत तह र समय व्यवस्थापन गरेर दूरशिक्षा प्रणाली लागू गर्न सकिन्छ। यसोगर्दा सरकारी व्यवस्थापनकै रेडियो नेपालका SW, MW तथा FM फ्रिक्वेन्सी मोडुलेसनहरूका माध्यमबाट पनि एकसाथ त्यही कक्षा प्रशारण गर्न सकिन्छ।

यसका लागि स्थानीयस्तरका शिक्षक वा शैक्षिक स्वयम् सेवकहरू तयार हुनुपर्छ साथै पाठ्क्रम वा पाठ्यपुस्तक भने अद्यावधिक पनि हुन जरूरी छ। बालबालिकालाई आवश्यक पर्ने पाठ्यपुस्तकको गर्जो भने अग्रजहरूका पाठ्यपुस्तक तथा नोटहरूबाट पुरा गर्न सकिन्छ। तिनै पाठ्यपुस्तक तथा नोटकपीहरूलाई सन्दर्भ सामग्रीका रूपमा अध्ययन गर्ने व्यवस्था मिलाउन सकिन्छ।

त्यसैगरी सुरक्षित ग्रामिण इलाकाहरूमा नियमित विद्यालय सञ्चालन गर्ने वा समुदास्तरमै सामुदायिक वैकल्पिक कक्षाहरू सञ्चालन गर्ने पनि अर्को महत्वपूर्ण वैकल्पिक उपाय हुनसक्छ। जसका लागि स्थानीय स्तरमा वडा शिक्षा समितिले नेतृत्व गर्न सक्छ र जनशक्तिका लागि स्थानीयस्तरमै उपलब्ध भएका शैक्षिक जनशक्ति वा माथिल्लो तह वा उच्च तहमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई पनि परिचालन गर्न सकिन्छ। यतिमात्रै होइन नेपाल सरकार तथा गैरसरकारी वा सामाजिक संस्था  मातहतका कर्मचारी तथा पदाधिकारीहरूले पनि स्वयम् सेवकका रूपमा योगदान गर्न सक्छन्।

यस्ता किसिमका उपायहरूले बालशिक्षाको अवरूद्ध प्रणाली केही हदसम्म भए पनि सुचारू हुनसक्छ नै, मुलुकभर हाल तत्कालका लागि एउटै प्रणाली लागू भई एकरूपतामा परीक्षा प्रणाली सुचारू गर्न सकिन्छ र प्रविधि, वर्गीयता र विद्यमान सङ्कटको भुमरीमा परेको बालशिक्षाको अवस्थालाई सहजै पार लगाउन सकिन्छ।

प्रकाशित मिति: : 2020-05-18 14:32:24

प्रतिकृया दिनुहोस्