बन्दाबन्दीको अन्तिम दिनमा फ्रान्स

कोरोना भाइरसका कारण ५५ दिन सम्म बन्दाबन्दीमा रहेको फ्रान्स भोलि सोमबारबाट पूर्ववत अवस्थामा फर्कने तयारी गरिरहेको छ ।

सार्वजनिक यातायातका साधन, घरेलु तथा साना उद्योग र कल कारखानाले कम्तीमा एक मिटर दुरी कायम राखेर आ-आफ्ना काम कारबाही सुचारु गर्न तयारी गरिरहेका छन्।

रेल तथा मेट्रो स्टेशनमा रहेका कूर्चि तथा प्लेटफर्महरुमा सामाजिक दुरी कायम राख्ने चिन्हहरु धमाधम लगाइन थालेको छ। यसैगरी कयौँ कलकारखानाहरुले आफ्ना कामदारका लागि कारखाना भित्र छिर्दा ज्वरो नाप्ने, सेनेटराइज जेलले हात धुने, मास्क र पन्जा अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेका छन्। एक अर्कालाई भाइरस नसरोस् भन्नका लागि कलकारखाना भित्र रहेका कफी मेशिन तथा क्यान्टिनहरु भने बन्द गरिएको छ।

यसैगरी विद्यालयमा पनि निकै सतर्कता अपनाइएको छ । जसअनुसार कक्षाहरुमा ५० प्रतिशत मात्र विद्यार्थी उपस्थिति रहनेछ भने ५० प्रतिशतको पठन पाठन इन्टरनेटबाटै हुनेछ। केही स्थानमा सिडिओ तथा नगरपालिकहरुको अगुवाइमा कक्षा सन्चानलनको मिति पछि धकेलिएपनि धेरै नगरपालिकहरुले भने कक्षा सन्चालन गर्न प्रोत्साहन गरिरहेका छन् ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोँले बन्दाबन्दीको समयमा सानो तथा साँघुरो कोठाहरुमा सुविधाबिहिन अवस्थामा बच्चाहरुले समय कटाइरहेको भन्दै कतिपय बच्चाहरु घरेलु हिंसाको चपेटामा परेकोले बिद्यालयहरु भोलिबाट अनिवार्य खोल्नुपर्ने भनि सरकारलाई आदेश दिएका थिए ।

सरकारले कोरोना भाइरस पुन नफैलिओस भन्नका लागि सबैका लागि मास्क अनिवार्य गरेको छ। सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुले अनुसासान पालन गरे नगरेको हेर्नका लागि भारी मात्रामा प्रहरीहरु समेत परिचालन गर्ने तयारी सरकारको रहेको छ। कसैले मास्क नलगाएको पाइएमा १ सय ३५ यूरो जरीवाना लगाइनेछ।

भविष्यमा आउन सक्ने आर्थिक मन्दीलाई रोक्न सरकारले बन्दाबन्दी खोल्ने भनि महत्वपूर्ण निर्णय गरे पनि नागरिकहरुले आ-आफ्ना आनी बानीमा ठूलो परिवर्तन ल्यानुपर्नेछ।

भाइरसको पुन संक्रमण बढ्ने नबढ्ने कुरा नागरिकहरुको आनीवानीमा भर पर्छ भन्दै प्रधानमन्त्री एडवार्ड फिलीपले भनेका छन्, ‘यो बन्दाबन्दीमा नागरिकले सरकारी आदेशको पालना गरेका छन् र आउने दिनमा पनि नागरिकहरुले सामाजिक दुरीको अनुसासनलाई कायम राख्नेछन् भन्ने बिश्वास गरेका छौँ ।’

भोलिबाट फ्रान्समा कमसेकम पनि साना ठूला गरी चार लाख ठूला उद्योग र कम्पनीहरु सन्चालनमा आउनेछन्। फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेयरले दिएको जानकारि अनुसार कमसेकम पनि भोलिबाट  ८ लाख ७५ हजार मानिसहरुले आफ्नो नियमिम काममा फर्कनेछन् । जसमा शैलुनहरु फूल ब्यवसायिहरु कपडा पसले तथा पुस्तक पसलहरु समेत समेटिएका छन्।

पेरिस र वरपरका ४० हजार मिटर भन्दा ठूला पसलहरुलाई भने खुल्ने अनुमति दिइएको छैन।

काममा जानेहरुले अनिवार्य रुपमा कम्पनीको परिचय पत्र र कम्पनीमा काम गर्न आउने अनुमति पत्र बोकेको हुनुपर्नेछ। इन्टरनेट मार्फत गर्न सकिने कामहरु घरमै बसेर पुरा गर्न सरकारले अनुरोध गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण आइतबारसम्म २६ हजार तीन शय १० मानिसहरुको मृत्यु भइसकेको छ। कोरोना भाइरसको संक्रमणको दर ह्वात्तै घटेको छ। पेरिस र आसपपासका ३२ वटा क्षेत्रहरु अझै पनि रातो चिन्हले अँकित छन्। जसको मतलबा यहाँ कोरोना सँक्रमणको दर अझैपनि महत्वपूर्ण छ भन्ने हो।

हरियो र रातो जुन क्षेत्र भए पनि आफ्नो घरबाट १०० किमी टाढाको दूरीमा कुनै पनि नागरिक जान पाउने छैन।

बन्दाबन्दी बिस्तारै खुले पनि फ्रान्समा ठूला ठूला खेलकुद नाट्यशाला गीत तथा संगीत कन्सर्ट रेष्टुरेन्ट र बारहरु बन्दै रहनेछन् ।

 

प्रकाशित मिति: : 2020-05-10 16:49:47

प्रतिकृया दिनुहोस्