कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतमा आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन हुने भएको छ।
मे १० आइतबारदेखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गर्ने कुवेतको मन्त्रीपरिषदले निर्णय गरेको छ। आइतबार दिउँसो चार बजेदेखि यो निर्णय लागू हुनेछ।
कुवेतमा अहिलेसम्म ७ हजार २०८ जनामा कोरोना संक्रमण देखिएको छ। २ हजार ४६६ जना निको भएर घर फिरेका छन् भने ४ हजार ६९५ जनाको अस्पतालमा उपचार भइरहेको छ। ४७ जनाको कोरोनाको कारण ज्यान गएको छ। त्यहाँ रहेको नेपाली दूतावासका अनुसार कुवेतमा अहिलेसम्म ८४ जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएको छ।
कोरोना भाइरसको महामारीबाट बच्न यो नै अन्तिम विकल्प भएको कुवेतको भनाइ छ। तर मन्त्रिपरिषदले अत्यावश्यक सेवा जस्तै विद्युत, तेल, नगरपालिका लगायतका क्षेत्रमा कार्यरतलाई भने आवश्यकता हेरेर कामका लागि जान छुट दिइने जनाइएको छ।
यस्तै दिउँसोको साढे चार बजेदेखि साढे ६ बजेसम्म मानिसलाई हिँड्न दिने, तर गाडी भने चलाउन नदिने कुवेतले जनाएको छ।