‘वुद्धि र शक्तिलाई मिलाउने प्रयास विरलै मात्र सफल भएको छ, सफल भए पनि केही समयको लागि मात्र सम्भव छ’, समयको कालखण्डमा अल्वर्ट आइन्सटाइन राजनीतिले यस्तै प्रश्नको खोजी गर्दोरहेछ।
राजनीतिमा शक्ति प्राप्त गर्नु नै ज्ञान प्राप्त गर्नु होइन। राजनीतिमा शक्ति भनेको सत्ता मानिन्छ। तर, शक्तिशाली बुद्धि विवेक र ज्ञान नै हुनुपर्ने हो। भ्रम के भयो भने पद प्राप्त गर्नुनै बुद्धिमान हुनु हो तर बुद्धिमान बन्न बुद्धि नै चाहिन्छ न कि, पद वा शक्ति। त्यसैले दुवै महत्वपूर्ण हुँदाहुँदै यसको सन्तुलन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भ महत्वपूर्ण छ।
राजनीतिक सन्दर्भमा पनि पार्टीको आन्तरिक जीवनमा ज्ञानका श्रोतहरू प्रसस्त हुनुपर्ने र त्यो ज्ञान र श्रोत शक्ति वा राज्यको शक्ति मार्फत श्रमजीवि जनताको पक्षमा काम गर्ने र राष्ट्रको विकासमा योगदान गर्ने गरी सन्तुलन कायम गर्न सक्ने हो भने यसले परिणाम दिनसक्छ। त्यसो नहुँदा निरपेक्ष विज्डमले धेरै काम गर्न नसक्नेरहेछ। यसको सन्तुलननै राजनीतिक विज्ञानमा खोजको विषय रहेछ।
नेपालको राजनीति एकाएक तरङ्गीत बनेको छ। प्रधानमत्री केपी शर्मा ओलीले जारी गरेको अद्यादेश र त्यसबाट उत्पन्न परिस्थितिले नेकपा भित्र र बाहिर आफ्नै आफ्नै खालको जनमत सिर्जना गरेको छ। राष्ट्रिय राजनीतिमा आउने यस्ता प्रसंगले मुलुकका हरेक नागरिक, राज्य संयन्त्र प्रभावित बनेको हुन्छ। यसबाट प्रतिपक्ष, नागरिक समाज, राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत चासो बढेको छ।
ओली सरकार लोकतन्त्रको आगमनपछि सबैभन्दा आशा गरिएको सरकार हो भन्नलाई केही अप्ठेरो छैन। केही कमी कमजोरीबाहेक योभन्दा पहिलाको सरकारले नेपाली जनताको स्वाभिमानलाई जोगाउन सफल भएको प्रसंग हरेक नेपालीको मनभित्र छ। पछिल्लो निर्वाचनमा नेकपाको दुई तिहाइको सरकार बन्न सफल हुनुमा केपी ओलीको नेतृत्वनै हो भन्दा अत्युक्ती हुँदैन।
‘नेपालको इतिहासमै दुर्लभ राजनीतीक मोड हो, कम्युनिस्टको नेतृत्वमा सर्वशक्तिमान सरकार निर्माण’ भनेर विश्लेषकले गरेको बिश्लेषण पनि हाम्रोसामू छ।
यसका बावजुद राजनीतिक संकटहरूले जहिले पनि सकारात्मक परिवर्तन र अवसरलाई सँगै लिएर आएको हुन्छ। यस्ता संकटलाई पार लगाउन गर्नुपर्ने कुरा के हो त? समस्याको जडमा पुगेर त्यसको विश्लेषण हुन जरूरी छ। योसँगै जोडिएर आएको आगामी सम्भावना र यसले माग गरेको कुरालाई पनि हेक्का राख्नु अनिवार्य छ।
राजनीतिमा समयले ल्याउने छ्लाङ्लेनै युगान्तकारी परिवर्तन ल्याएको इतिहास हाम्रो सामू छ। अब नेकपा भित्र उत्पन्न राजनीतिक समस्याको उपयुर्क्त समाधान के हुन सक्ला? नेकपा भित्रको तरल अवस्थालाई सिर्जनशील, दुरगामी र फलदायी हिसाबले हेर्नु आवश्यक छ।
नेकपा भित्र दोस्रो पुस्तामा नेकपा स्थापना र विस्तार, राष्ट्र निर्माण र जनताको पक्षमा योगदान भएको पंक्तिको कमी छैन। वैचारिक धरातल र समयानुकुल नेतृत्व गर्न सक्ने क्षमता परिचित भईसकेको अवस्था छ।
नेपालमा दोस्रो पुस्ता मात्र होइन, तेस्रो पुस्तासमेतको सहभागितामा अबको राजनीति अघि बढ्नुपर्छ। कम्युनिष्ट आन्दोलनको विकास, सामाजिक न्याय र सम्बृद्ध देश निर्माणमा यो दुई पुस्ताको उदय जरूरी छ। अब यो प्रकृया कसरी गर्ने? यो प्रकृयामा पहिलो र हालको नेतृत्वले समयको माग र परिस्थितिलाई विश्लेषण गर्दै नेतृत्व हस्तान्तरण गरेर नेपालको इतिहासमा पुरानो पुस्तालाई आफू ‘राजनीतिक हिरो’ को रूपमा आफैं स्थापित हुने अवसर समयले प्रदान गरेको छ। खास गरी नेकपाको ४ जना वरिष्ठ नेताहरू केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाललाई अब यो अवसर इतिहासले पटक पटक दिनेछैन। त्यसैले यो अवसरले नेताको कदलाई उँचो राख्ने कुरामा आफैं सचेत भई हेक्का पुर्याउनु आवश्यक छ।
नेपाली जनताको चाहना स्थिरता हो। २०७३ सालको निर्वाचनबाट जनताले जनमत मार्फत त्यो अभिमत प्रकट गरे। नेकपाकै एकलौटी सरकार हुँदा हुँदै पनि सरकार सञ्चालनमा समस्या उत्पन्न भयो। यससँग अन्तरनिहित विषयहरु, यसका पर्दा पछाडिका तथ्यको खोजी तथा अध्ययन हुनु आवश्यक छ।
अबको वहस शासकीय स्वरूप, पार्टीको स्कूलिव र यसको चेतनास्तरको बारेमा हुनु आवस्यक छ। जनताको सरकार भनिए पनि जनताबाट प्रत्यक्ष प्रधानमन्त्री निर्वाचित नभएकाले प्रधानमन्त्री पार्टी प्रति जवाफदेही हुने कि, जनता प्रति हुने प्रश्न उत्तिकै वहसमा छ। यद्यपि लोकतान्त्रिक वयवस्थामा पार्टी नै मुख्य कुरा हो।
यसो भनिरहँदा अहिलेकै अवस्थाको पार्टी पंक्ति सक्षम छ कि, छैन भन्ने विषयमा वहस गर्नुपर्ने देखिन्छ। सांसदहरू एउटा क्षेत्रबाट निर्वाचित भई सोही क्षेत्रमा मात्र सिमित हुने ब्यवस्थाले सिङ्गो मुलुकका लागि कसले सोच्ने भन्ने तर्कले पनि स्थान पाउनुपर्ने हालको अस्थिर राजनीतिक व्यवस्थाले सिर्जना गरेको छ। अबका दिनमा यदि जनमत तयार हुन सक्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा पनि नेपालको राजनीति तरङ्गीत हुनुपर्छ।
त्यसैले सरकार परिवर्तनको खेल केही क्षणको लागि समाधान जस्तो देखिए पनि स्थिरता कायम गर्ने हो भने दोस्रो पंक्ति तयार हुनुहोस्, हिम्मत गर्नुहोस् अब तपाईँहरू संबृद्ध देश बनाउने अभियानमा अग्रपंक्तिको मोर्चा सम्हाल्नुहोस्।
कोभिड–१९ ले निम्त्याएको संक्रमणपछि राज्यका सबै तहलाई एकपटक पुनर्व्याख्या, पुनर्विश्लेषण र प्राथमिकिकरण गर्नुपर्ने संघारमा पुर्याएको छ। मानव जातिको लागि चुनौतीपूर्ण रहेको भाइरसको अस्तित्व केही समयमा अन्त्य हुने कुरा निश्चित छ। पोष्ट कोभिड सिनारियोले मुलुकको राजनैतिक प्रणाली भित्र चिकित्सा विज्ञानको व्यवस्थापन कसरी आधारभूत आवश्यकता र प्राथमिकतामा पार्ने भन्ने विषय महत्वपूर्ण छ। त्यसैले यो विषम परिस्थितिमा राजनीतिक सुझवुझ आवश्यक देखिन्छ।
नेपालका अन्य राजनीतिक पार्टीले पनि वर्तमान परिस्थितिको यथार्थ विश्लेषण गर्दै नयाँ रणनीति तय गर्नुपर्ने आवश्यकता महसुस भएको छ। राजनीतिक पार्टीहरू निर्वाचनका बेला जनताको घरदैलोमा भोटका लागि मात्र पुग्ने स्वार्थी संस्कार छोडेर अबदेखि नयाँ सूचना जानकारी चेतना र सेवा सुविधासहित जनताको घरदैलोमा उपस्थित हुने नयाँ शैली र परम्परा स्थापित गर्नुपर्ने आवश्यकता छ।
वर्तमान परिस्थितिमा जनताको चेतनाभन्दा राजनीतिक पार्टीसँग रहेको चेतनास्तर कमजोर रहेको चर्चा सर्वत्र भइरहेको छ। यस्तो परिवेसमा राजनीतिक पार्टीले आफ्ना कार्ययोजना, कार्यशैली र व्यवहारमा परिवर्तन नगर्ने हो भने राजनीतिक पार्टीको भविष्य सुन्दर छैन। यसबाट राज्यमा राजनीतिक अस्थिरता कायम रहने र विकास निर्माण तथा श्रमजीवी जनताको समस्या सम्वोधन हुन सक्दैन।