नेपालगञ्जका चार स्थालमा शील गरिएको छ । शुक्रबार नेपालगञ्ज उप–महानगरपालिकाको महेन्द्र पार्कमा घर भएका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँका चारवटा स्थाल शील गरिएको हो ।
उनी लकडाउनको समयमा भारतको बहराइचबाट नेपाल आएका थिए । उनी नेपाल आएलगत्तै महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।
सोही क्वारेन्टाइनबाट लकडाउनको समयमा ६ सय जना भागेका थिए । ती भाग्ने मध्ये एक संक्रमित पुरुष पनि थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएलगतै नेपालगञ्जका डिएसपी रोड, वडा नम्बर ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र शिल गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय जानकारी दिए ।
उनका अनुसार संक्रमित पुरुष डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गरिरहन्थे। ‘थुप्रै व्यक्तिसँगको सम्पर्कमा आएका कारण उक्त क्षेत्र जोखिममा देखिएपछि शील गरिएको हो’,उनले भने,‘संक्रमित गइरहेको मस्जिद,गाउँ शील गरिएको छ।’
आसपासका क्षेत्रमा कडा निगरानी बढाएको प्रजिअ उपाध्यायले बताए । उनले एक जना युवामा समेत कोरोना आशंका गरिएको र पुष्टि भइनसकेको बताए ।
शुक्रबार कोरोना पुष्टि भएका पुरुषलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ ।