ओ हो सन्तोषजी के छ? कता बाट? जिल्ला प्रशासन कार्यालय धनुषाको माथिल्लो तलामा रहेको पास ब्यवस्थापन कार्यकक्षमा प्रवेश गर्नासाथ प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकिय सचिव जितेन्द्र यादवले हात उठाउँदै भनेँ।
हामी दुवैले माक्स लगाएका थियाैं। तर पनि एकअर्कालाई नचिन्ने कुरै भएन।
‘काठमाडाैं जानुपर्ने जरुरी भएकाले पास बनाउन आएको,’ मैले साेधे, ‘मुख्यमन्त्रीज्यू कता हुनुहुन्छ नि?’
उनले तत्काल जवाफ दिए, ‘काठमाडाैं जानुभएको छ, म पनि आज जान लागेको।’ उनि पनि पास बनाउन आएका रहेछन्।
कार्यकक्षमा पास बनाउन आउनेको भीड थियो। पास बनाउन खटिएका कर्मचारी सेवाग्राहीसँग झर्को मानिरहेका थिए। कुनै दिन भेटेर गफिने वाचा गर्दै हामी दुवै आ–आफ्नो पास बनाउन लाग्यौँ। दिउँसो ४ बजिसकेकाले गर्दा कर्मचारी घर जान हताराे गरिरहेका थिए।
हाम्रो पालो आयो। पास दिनका लागि कर्मचारीले कागजपत्र हेर्दै हामीसँग केरकार थाले। आवश्यक कागजपत्र चेक गरेपछि प्रमुख जिल्ला अधिकारीको तोक चाहियो भने। प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला कार्यकक्षमै व्यस्त थिए। मोबाईलमा भने, ‘सन्तोषजी मैले भनिदिइसकेँ। पास लिनुहोला।’
ब्यस्त कर्मचारीले केहिबेरको झिनाझपटीपछि तीन दिनको सवारी पास बनाइदिए। पास पाइयो। मित्र राजेश सिंहले पास हातमा लिँदै भने, ‘बाफरे सन्तोषजी। तपाई नआएको भए पास नपाइने रहेछ।’
लकडाउनका कारण प्रदेश–२ को राजधानी जनकपुर सुनसान थियो। गौँडा र चोकमा सुरक्षाकर्मी तैनाथ थिए। हामी स्कोरपियोमा हुँइकिरहेका थियौँ। लडेर बेहोस हुनुभएकी राजुजीको आमालाई बर्दिवासस्थित अस्पतालबाट काठमाडाैं लैजान ढिला भइरहेको थियो।
घटना गत बैशाख ९ गते मंगलबारको हो। बिहान झिसमिसेदेखि नै सिमसिम पानी परिरहेका बाटाहरु हिलाम्मे थिए। कोरोनाले यसै पनि मथिङ्गल घुमिरहेका बेला परेको झरीले मधेशको जनजीवन थप प्रभावित बनिरहेको थियो। यस्तैमा झरी ओभाउन नपाउँदै राजेशजीको ६५ बर्षिया आमा उर्मिलादेबी नजिकैको बर्दिवास बजार जाने क्रममा बेहोस भएर बाटोमै ढल्नुभएछ।
बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा प्रारम्भिक चरणको उपचारपछि थप उपचारका लागि काठमाडौं बीर अस्पतालमा रिफर गरिएकाे थियाे। राजुजीको दाईको आफ्नै स्करपिओ गाडी थियो। एम्बुलेन्समा महँगाे पैसा खर्चिनुभन्दा आफ्नै स्करपिओमा बिरामी आमालाई काठमाडाैं लैजाने निधो भएछ। तर लकडाउनमा सवारी पास बेगर नीजि सवारीमा बिरामी काठमाडाैं लान सम्भव थिएन।
धनुषाको ढल्केवरस्थित घरबन्दीमा हिन्दीमा डब गरिएको सुपरस्टार रजनिकान्त अभिनित साउथ फिल्म काला हेरेर बसिरहेका बेला राजुजीको फोन आयो। राजुजी आमाको अवस्थाबारे बताउँदै हतारमा भन्दै हुनुहुन्थ्यो, ‘लौ न सन्तोषजी, उपचारका लागि आमालाई काठमाडाैं लानुपर्ने भयो, सवारी पास बनाउन सहयोग गरिदिनुपर्यो।’
मैले तत्काल धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई फोन गरेँ अनि सबै कुरा जानकारी गराएर काठमाडाैंको लागि पास बनाइदिन आग्रह गरेँ। उहाँले मेरो आग्रह स्विकार गर्नुभयो र पास बनाउन जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय बोलाउनुभयो। म र राजुजी तत्काल जनकपुर हानियाैँ। सवारी पास बनायौँ। फर्कने बेलामा मैले प्रमुख जिल्ला अधिकारीलाई मोबाईलबाट म्यासेज पठाएँ, ‘थ्याकंयू सर।’
कोरोनाले जनजीवन त्रसित बनिरहँदा लकडाउनले सडक खाली थियो। जनकपुरबाट करिब २० मिनेटको समयावधिमै बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालको प्राङ्गणमा पुगिसकेका थियौँ। डिस्चार्ज गरेर राजुजीको आमालाई गाडीमा चढाइयो। उहाँ अचेत हुनुहुन्थ्यो। ब्रेन ह्याम्रेज भएको अस्पतालको ठहर थियो। बर्दिवासबाट काठमाडाैं हिँड्ने बेला झमक्क साँझ परिसकेको थियो। राजुजीको आग्रहमा म पनि काठमाडाैं जाँदै थिएँ।
धनुषा र सिन्धुली जिल्लाको सीमा क्षेत्रमा पर्ने रातमाटेमा तैनाथ शसस्त्र प्रहरीले गाडी रोके। बिरामी देखेपछि सवारी पास पनि मागेनन्। भिमानमा पास देखाएर इण्ट्री गरेपछि हाम्रो गाडी तेज रफ्तारमा दौडियो। सेल्फि डाँडाबाट उकालो लाग्दै गर्दा पानी छिटाउन सुरु भयो। लकडाउनका कारण विपी राजमार्ग सुनसान थियो।
गाडीमा थियौँ म, राजुजी, राजुजीको दाई योगकुमार सिंह, बहिनी शिवकुमारी महतो र भाञ्जा मनिष महतो। बिरामीलाई बीचको सिटमा सुताएर बहिनी र भाञ्जाले सम्हालिरहेका थिए। यस्तैमा खनियाखर्कमा गाडी रोकियो। पसलहरु सबै बन्द थिए। सबैलाई भोक लागेको थियो। घरमै पकाएर ल्याएको गहुँको रोटी र तरकारी सडक किनारमै उभिएर खाँदै थियौँ। एक बर्दिधारी प्रहरी आइपुगे र भने, ‘यहाँबाट छिटो गइहाल्नुस्। यहाँ गाडी रोक्न निषेध छ। उनले हाम्रो समस्या बुझ्न चाहेनन्।हामी छिटै हिँडिहाल्ने वाचा गर्दै छिटोछिटो रोटी तरकारी खायौँ, पानी पियौँ र लागि लाग्यौं।
विपी राजमार्गमा काठमाडाैंबाट हुलका हुल बस आइरहेका थिए। एउटै लाममा ६० वटासम्म बस हिँडिरहेको गन्न भ्याएँ मैले। सरकारले काठमाडाैंबाट घर फर्कनेलाई ओसारी रहेको थियो सायद। धुलिखेल आइपुग्न लाग्दा अनगिन्ती बस लाम लाएर राखिएको थियो। सबै बस पूर्व जान लागेको भनेर चेकपोष्टमा तैनाथ प्रहरीहरु भनिरहेका थिए।
मध्य राती करिब १२ बजेको थियो। बीर अस्पतालमा बेड पाइने कन्फर्म नभएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल पुग्यौँ हामी। बिरामी भर्ना गर्यौँ। सिमसिम पानी परिरहेको थियो। केही क्षण अस्पतालमै बस्यौँ। रात ढल्कदै थियो।
हामी बास बस्न राजुजीको भाञ्जा अर्थात बहिनी शिवकुमारीको कान्छो छोरा अनिश महतोको बुद्नगरस्थित डेरामा पुग्दा रातको तीन बजेको थियो।
लकडाउनका अनिश र घरबेटीसमेत जनकपुरस्थित पुख्र्यौली घर गएका थिए। गेट ढ्कढ्क्याएर डेरामा बस्नेलाई उठाउनु भन्ने घरबेटीले मोबाईलमा सुझाएका थिए। राजुजीको बहिनी शिवानीले त्यसै गरिन्। घरमा को हुनुहुन्छ? गेट खोलिदिनुस् न। यसो भन्दै धेरैबेर गेट ढ्कढ्क्याइन राजुजीको बहिनी शिवकुमारीले।
‘होहल्ला गर्ने को हो हँ?’ घरको तीन तला माथीको बारदलीबाट कसैले कर्कश स्वरमा सोध्यो।
‘म अनिशको आमा हुँ। यही घरमा डेरा लिएर बस्ने अनिश क्या!’ शिवकुमारीले जवाफ दिइन्, ‘आमा बिरामी भएर गाउँबाट उपचारको लागि लिएर आएको। गेट खोलिदिनुस् न। घरबेटीसँग हाम्रो कुरा भइसकेको छ।’
ती युवा जँगिन थाले, ‘यस्तो बेला किन आउनु भएको? घरबेटीले भनेर हुन्छ, ‘अहिले घरमा बस्ने त हामी हौँ, हामीलाई रोग सर्यो भनेँ कसले जिम्मा लिन्छ? लकडाउनमा पनि काठमाडाैं आउने?’
उनी यसरी कड्किदै गएकी मानौँ हामी कोरोना संक्रमित हौँ। उनको ठूलो स्वरले वरिपरी घरका मानिस उठिसकेका थिए।
‘हामी वाध्यताले काठमाडाैं आउनु परेको हो भाई,’ शिवकुमारीले आग्रह गरिन्, ‘प्लिज ढोका खोलिदिनुस् न भाई। कम्तिमा मानवीयता त देखाउनुहोस्।’
यस्तैमा डेरा रहेको घरसँगै टाँसिएको तीन तले घरबाट एक महिला कराउन थालिन्, ‘लकडाउन छ भन्ने तपाईहरुलाई थाहा छैन। यस्तो बेलामा मधेशबाट तपाईँहरु काठमाडाैं आउने हो? कम्तिमा अरुको त ख्याल गर्नुपर्छ? कोरोना सरुवा रोग हो भन्ने तपाईहरुलाई थाहा छैन? के पारा हो तपाईहरु को?’
अति भएपछि राजुजीले पनि ठूलै स्वरमा प्रतिकृया जनाउनुभयो। टोलै थर्किने गरि राजुजीले मानवीय सवेंदनाको कुरा गरेपछि कसैले भन्यो, ‘ल ठिक छ आज बस्न दिउँ। भोलिचाहीँ तपाईहरु फर्कनुहोला।’
गेट खुल्यो। उहाँहरु डेरा छिर्नुभयो। म र चालक बाटोमै राखिएको स्कोरपियोमा सुत्यौँ। आँखा चिम्लिए पनि हामी दुवै त्रसित थियौँ। मुटुमा ढ्याग्रों बजिरहेको थियो मेरो।
बिहान सबैजना खाना खान डेरामा जम्मा भयौँ। डाक्टरले बिहान ११ बजे बोलाएकाले छिटोछिटो खाना खाएर अस्पताल जानुपर्ने थियो। बेलुकी झर्को मानेर गेट खोलिदिएका ती युवा फेरि कड्किदै थिए, ‘तपाईहरु आजै गइहाल्नुस् है, नत्र म पुलिस बोलाउँछु।’
त्यतिबेला तरकारी पाक्दैथियो।
युवाले थ्रेट दिइरहँदा राती पड्किएकी छिमेकी महिला घर भित्रैबाट फेरि आगो ओकल्न थालिन्। यो पनि कहीँ तरिका हो, ग्वारग्वारी आउने? म अहिले बोलाउँछु।’ सायद उनले फाेन गरिन हाेला। उनकाे स्वर सुनियाे–‘हेल्लो, हाम्रो छिमेकमा नचिनेका एक हुल काला मान्छे आएका छन्। छिटो आएर छानविन गर्नुपर्यो। हाम्रो कुरो सुनेनन्।’
फाेनमा कुरा सकिएपछि उनले भनिन्, ‘अब चाल पाउँछन्।’
याे सुनेर राजुजी भन्दै हुनुहुन्थ्यो, ‘अब केहिबेरमै पुलिस आउँछ अनि हामीलाई क्वारेन्टाइनमा लान्छ होला।’
मलाई भने यी परिघटनाले अजीव तुल्याइरहेको थियो।
छिमेकी महिलाले फोन गरेको लगभग १५ मिनेट पनि बितेको थिएन। ‘खै कोहो? बोलाउनुस् त, कसैले भनेको तीन तला माथीबाट हामीले प्रष्ट सुनिरहेका थियौँ,’ भन्ने आवाज आयाे।
राजुजीले भन्नुभयो,‘ ल सन्तोषजी तल जाउँ। सायद पुलिस आए हाेलान्। राजुजी र म तल झर्याै। गेट अघिल्तिर उभिरहेका थिए केही थान मान्छे। छिमेकी महिला भन्दैथिइन्, ‘हामीले भनेको केही सुनेन् त। सवै भारतीय जस्ता छन्।’
‘ए तपाईहरु नै हो,’ भलाद्मीजस्ता देखिनेले भने,‘के कामले आउनुभएको हो? कति जना हुनुहुन्छ? किने आउनुभएको हो?’
राजुजीले काठमाडाैं आउनु परेकोबारे बेलिबिस्तार लगाउनुभयो। स्थानीय टोल सुधार समितीका सदस्य रहेछन्। सवारी पास र अस्पतालले दिएको रिफर पेपर हेरेपछि ती भलद्मी भन्दै थिए,‘ए, ल ठिक छ। उपचार गर्न आउनुभएको रहेछ तर छिटै फर्किनुहोला।’
उनीहरु सवै जना गए। टोलमा सवैको बाेल्ती बन्द भयो। हामीले पेटभरी खाना खायौँ र सवै जना अस्पतालतिर लाग्यौँ।
काठमाडाैंका सडकमा फाटफुट मोटरसाईकल लगायत सवारी साधन चलिरहेका थिए। केहि पैदल यात्रु पनि देखिन्थे। सुरक्षाकर्मी भने जताततै तैनाथ देखिन्थे। कोटेश्वरमा भने अलिबढी नै मानिस हिँडिरहेका थिए।
तीन दिनको पासको म्याद सकिने अन्तिम दिन थियो बैशाख ११। आदर्णीय दाई कवि श्यामलसँग भेट्ने फोनवार्ता भएको थियो। किसान टेलिभिजनका अध्यक्ष पवन श्रेष्ठ र म श्यामल दाईले दिएको १२ बजेकाे समयमा राष्ट्रिय समाचार समितिको कार्यालय तिर लाग्यौँ। श्यामल दाईसँगको करिब ३ घण्टा लामाे भलाकुसारीपछि छुट्टियाै।
अस्पतालले कुरुवाको रुपमा एकजना मात्र बस्न अनुमति दिएका कारण म फुर्सदिलो समय सदुपयोग गरिरहेको थिएँ। साँझ ५ बजे दिन ढल्कदै गर्दा बहिनी शिवानीलाई बिरामी आमासँग छोडेर हामी त्यही स्करपियोमा घर फर्किरहँदा म भने काठमाडाैंमा ती युवा र छिमेकी महिलाले गरेको व्यवहारबारे मनमनै गम खादै थिएँ। मधेश त्यतिकै बिद्रोही बनेको होइन रहेछ।
कोरोनाकाे त्रासका बीच लकडाउनमा काठमाडाैं लगायत ठाउँबाट ग्वारग्वारी पैदल घर फर्किरहेका पूर्ववासीहरुलाई मधेशले गौँडैपिच्छे खाना, खाजा खुवाएर दिल खोलेर सकेको सहयोग गरिरहँदा मधेशबाट समस्यामा परेर काठमाडाैं आएकालाई भने छिछि र दूरदूर गरिरहेको मैले प्रत्यक्ष भोग्ने अवसर पाएँ।