कोरोनासँगै असिनापानीले निम्त्यायो मधेशमा अर्को विपद्

कोरोना कहर झेलिरहेका मधेशवासीका लागि गएको शुक्रवारको असिनापानी पनि बैरी सावित भयो। दिनको करिब ४ बजे पन्ध्र मिनेटसम्म परेको असिनापानीले टालीको छाना भएका लाखौँ घरका छाना फुटे, करोडौँ रुपैयाँ बराबरका आँपका चिचिला र नगदेवालीमा क्षति पुग्यो। खुर्सानीलगायत जिरा, धनिया, प्याज, लसुन र गोलभेडा खेर गयो। मकैलाई पनि क्षति पुर्‍याएको छ। 

असिनापानीले पिडित बनेका मधेशका किसानमध्ये एक हुन्, महोतरी बर्दिवास नगरपालिका–७ का ६२ वर्षीय रामजुलुम महतो। ७ कट्ठामा रहेको बगैँचाको आँपका सवै चिचिला झरे। निरास मुद्रामा रामजुलुमले भने, ‘आँपका सबै चिचिला झरे, पौने दुईलाख बराबर नोक्सान भयो।’

शारिरीक रुपमा अपाङ रामजुलुम तीनपाँग्रे साईकल चलाएर किसानीमा सक्रिय छन्। उनको बारीमा लगाइएको लौका, फर्सी लगायत तरकारीका लतीमा पनि क्षति पुगेको छ। असिनापानीले बर्दिवास नगरपालिकाभरि करिब २ करोड रुपैयाँ बराबरको आँपको चिचिला झरेको रामजुलुमको अनुमान छ। असिनापानी पिडित किसानलाई सरकारले क्षति दिनुपर्ने माग उनको छ।

यसै गाउँकी महिला किसान ६५ वर्षीया राजोदेवी महतोले पनि असिनापानीले आफूले लगाएको करिब ७५ हजार रुपैयाँ बराबरको मसलाको बिउमा क्षति पुर्‍याएको बताइन्। उनले आफ्नो बारीमा लगाएको खुर्सानीको बीउ र जिरा धनिया असिनापानीले खेर गएको बताउँदै भनिन्, ‘असिनापानीले यसपालि मसला चौपट बनायो, मेरो पिडा कसले बुझिदेला?’

नजिकै रहेको बडहरी, हनुमानचोक र पथलैया बजारमा राजोदेवी आफूले उत्पादन गरेको खुर्सानी, प्याज, लसुन र जिरा , धनियालगायतका मरमसला बेच्न लाने गर्थिन्। 

राजोदेवी मात्रै होइन, मधेशमा धेरैजसो ग्रामिण भेगका महिला खेतबारीमा उब्जाएको मरमसला बेच्ने गर्छन् र शुक्रबारको असिनापानीले मधेशका मसला उब्जाएर बेच्ने धेरै राजोदेवीहरुलाई रुवाएको छ। 

राजुलुम र राजोदेवीलाई जस्तै पिडा दिएर गएको छ असिनापानीले यसै गाउँका ८० वर्षीय शोभा ठाकुरलाई पनि। भएको ११ कट्ठा जग्गामा लगाएको मकैमा असिनापानीले क्षति पुर्‍याएपछि भोलिपल्ट शनिबार आफ्नो बारीको कान्लामा बसेर बलिद्र आँशु झार्दै गरेको अवस्थामा भेटिए उनी। 

आँशुले झरेका परेली पुछ्दै उनले मनको वह पोखे, ‘फूलबारीमा आँपको चिचिला झरेर बिस्कुन भएको छ। मकैका बोट खेर गए। सागसब्जी निमिट्यान्न भयो। असिनापानीले गर्नुगर्यो।’ 

यस गाउँका अधिकांश कृषिमा निर्भर छन्। बर्दिवास र धनुषामा पर्ने लालगढको सीमा छुट्याउने रातु खोलामा उत्खनन बढ्दा पानी सुकेको छ। आयस्रोत राम्रो भएका किसान विधुतीय मेशिन मोटरबाट ईनारको पानी तानेर सिँचाई गर्छन्। सांसदहरुले ससंदीय कोषबाट पाएको रकम गाउँगाउँमा ईनार र वोरिङ बनाउन लगानी गर्दै आएपनि धेरैजसो वोरिङ पर्याप्त बजेटको अभावमा सञ्चालन हुनसकेका छैनन्।

असिनापानीले ठूलो क्षतिब्यहोरेको धनुषाको मिथिलानगरपालिका ३ हरिहरपुरमा बीस बर्षअघि निर्माण गरिएको वोरिङ पर्याप्त उपकरण र आवश्यक सामाग्रीको अभाव हुँदा सञ्चालनमा आउनसकेको छैन। सिँचाई प्रभावित हुँदा यहाँका किसान मार्कामा छन्। हरिहरपुरको ७० बिघा उब्जनीयोग्य जमिन वोरिङ सञ्चालनमा नआउँदा सिँचाईविहिन बनेको छ। 

पूर्वप्रधानपञ्च तथा वोरिङ सञ्चालन समितिका अध्यक्ष भोला महतोले भने, ‘पर्याप्त बजेट नहुँदा आवश्यक पाइपलाईन विस्तार र ओभरट्यांक बनाउन नसक्दा वोरिङ सञ्चालन हुनसकेको छैन। 

५० लाख रकम भए यो वोरिङ पूर्णरुपमा सञ्चालनमा आउने स्थानीयले बताए। हरिहरपुरमा पनि अधिकांश कृषिमा निर्भर छन्। सिँचाईको ब्यवस्था नहुँदा यहाँका किसान मर्कामा छन्।

प्रदेश सांसद शत्रुधन महतो ससंदीय कोषबाट निर्माण गरिएका वोरिङ मर्मतका लागि प्रदेश सरकारसँग आफूले पहल गरिरहेको बताउँछन्। भन्छन्, ‘यतिबेला वोरिङ मर्मतभन्दा पनि असिनापानी पिडितलाई राहत उपलब्ध गराउन सवै जुट्नु पर्छ।’

आँप जोनमा क्षति उस्तै

प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत सप्तरीमा सुरु गरिएको आँप जोनमा पनि असिनापानीले नराम्रो क्षति पुर्‍याएपछि आँप किसान चिन्तित बनेका छन्। आँप खेतीको ब्यवसायिक उत्पादन तथा प्रशोधन केन्द्र बिकाश गर्नका लागि सप्तरी जिल्लाका सुरुंगा नगरपालिका–३ दौलतपुर, ४ मधुपट्टी, ५ कुशाहा, ६ श्रीपुर र ७ हरिपुरमा आँप जोनअन्तर्गत कार्यक्रम सञ्चालनमा छन्। 

त्यस्तै , बलानबिहुल गाउँपालिकाअन्तर्गतको वडा नं. १ र २, अग्निसाईर कृष्णासवरन गाउँपालिकाअन्तर्गत हरिहरपुरका ३ क्षेत्रका २४ वटा कृषक समूह र कृषि सहकारीमा आवद् ७ हजार ६ सय २ घरधुरी आँप जोन कार्यक्रममा सहभागी छन्।

सप्तरीको ८ सय ७० हेक्टर जग्गामा आँप जोनअन्तर्गत केन्द्र सरकारको करिब २ करोड रुपैयाँको लगानी र प्रदेश सरकारको समन्वयमा सामूहिक रुपमा आँप खेती सुरु गरिएको थियो।

गतबर्ष यहाँ सञ्चालित आँप जोनबाट करिब ५ करोड रुपैया बराबरको आँप बिदेश निर्यात गरिएको थियो भने असिनापानीले यसपटक भने आप विदेश पठाउने सम्भांवना नरहेको प्रदेश–२ का भूमि ब्यवस्था तथा कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह बताउँछन्।

प्रदेश सरकारले क्षतिपुर्ती दिने

कृषि मन्त्री साह असिनापानीले प्रदेश दुईका आठमध्ये बारा जिल्लामा सवैभन्दा बढी क्षति पुर्‍याएको प्रारम्भिक तथ्यांक आफूले पाएको बताउँछन्। धेरै क्षति बेहोरेका किसानलाई प्रदेश सरकारले क्षतिपूर्ती दिने तयारी गरिरहेको उनले जानकारी दिए। 

असिनापानीले सबैभन्दा बढी आँप र हरियो तरकारी बालीमा क्षति पुगेको मन्त्री साहको ठम्याई छ। भन्छन्, ‘क्षतिको विवरण आउने क्रम जारी छ। क्षतिको पूर्णविवरण आएपछि प्याकेजमा क्षतिपूर्ती दिने सोँच बनाएका छौँ।’

तर प्रदेश सरकारले क्षतिपुर्ती दिने योजना बनाइरहँदा किसानहरु भने प्रदेश सरकारलाई पत्याइरहेका छैनन्। किनभने स्थानीय र  प्रदेश सरकारबाट बितरण गर्दै आएको कृषि अनुदान दुरुपयोग हुँदै आएको बारे प्रदेशका कोही पनि किसान बेखवर छैनन्। 

केन्द्र सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेर निर्माण गरिरहेको हुलाकी राजमार्ग बन्दै गर्दा हर्सित किसान केन्द्र सरकारले निर्माणको घोषणा गरेको सुनकोसी मरिन कमला डाईभर्सन बनेर सञ्चालनमा आएपछि कृषिबाट मनग्गे आम्दानी गर्ने सपना साँचेर बसिरहेका मधेशका किसानलाई कोरोनासँगै असिनापानीले थप झट्कादिएको छ।

अभाव र समस्या झेल्दै लगाएको तरकारीबाली र मकै लगायतका खाद्यन्नमा शुक्रबारको असिनापानीले क्षति पुर्‍याउदै काेरोना कहर झेलिरहेका मधेशवासीको मन रोएको छ। महामारीको विपद् झेलिरहँदा असिनापानीको क्षतिले मधेशमा भोकमरीको अवस्था तत्काल सिर्जना नभए पनि दाल तरकारी मरमसलालगायत खाद्य अभावको संकट निम्तिने खतरा भने सितीमिती टर्ने देखिदैन। 

‘यसतर्फ तीनै तहको सरकारको गम्भिर ध्यानाकर्षण हुन अवश्यक छ,’ प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारले टेलिफोनमा भने।

हजार बढी घरमा क्षति

धनुषाको मिथिला नगरपालिकामा असिनापानीले हजार भन्दा बढी घरमा क्षति पुर्‍याएको छ। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले शनिबार बिहान स्थलगत अनुगमन गरि क्षतिको विवरण लिएका हुन्। ‘हजारभन्दा बढी घरको छानामा क्षति पुर्‍याएको पाएँ,’ मेयर महतोले भने, ‘क्षतिबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको छु, असिनापानी पिडितलाई नगरपालिकाले गर्ने सहयोग त भई नै हाल्छ।’

तस्वीर: राजेश सिंह, बर्दिवास 
 

प्रकाशित मिति: : 2020-04-28 10:34:00

प्रतिकृया दिनुहोस्