कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी भएपछि रोकिएको जोरपाटी–सुन्दरीजल सडकको काम सुरक्षाका उपाय अपनाई फेरि सुरु गरिएको छ । जोरपाटी–सुन्दरीजल सडकमा ढलको पाइप बिच्छ्याउने र रूख हटाउने काम बन्दाबन्दी जारी रहे पनि सुरु गरिएको हो ।
काठमाण्डौ उपत्यका सडक विस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार जोरपाटी–सुन्दरीजल सात किमी सडकको दुवै भागमा ढलका लागि हिमपाइप बिच्छ्याउने र रूख काट्ने काम सुरु भएको छ, यो मार्गमा ६७ रूख काट्नुपर्नेमा तीन दिनअघि देखि काम सुरु गरी २१ रूख काटिएको छ ।
पाइप बिच्छ्याउन आठ र रूख काट्न छजना कामदार परिचालन गरिएको छ । काम सुरु भएको तीन दिनमा १०० मिटर सडकको दुवैतिर ह्युम पाइप राखिएको आयोजनाले जनाएको छ । बन्दाबन्दी सुरु हुनुअघि दुई किमी सडकको दुवैतिर ह्युम पाइप राखिएको थियो ।
आर्थिक वर्ष २०७२७३ मा ठेक्का भएको सडक गत असार मसान्तमै सकिनुपर्ने योजना थियो । सात किमीको दूरीमा ८०० भन्दा बढी घर पर्ने कारणले म्याद सकिने बेलासम्म कामसमेत सुरु हुन नसकेको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए ।
सडकको केन्द्रविन्दुबाट ११/११ मिटर सडक विस्तार गरी कालोपत्र गर्ने योजना भए पनि गोकर्णेश्वर नगरपालिकाको समन्वयमा केन्द्रविन्दुबाट दुवैतिर सात/सात मिटर विस्तार गर्ने गरी सहमति भएको छ । सार्वजनिक जग्गा भएका स्थानमा भने केन्द्रविन्दुबाट ११/११ मिटर सडक नै बनाइने जनाइएको छ ।
आगामी असार मसान्तसम्म सडकको म्याद थप गरिएकामा हालसम्म २२ प्रतिशतमात्र भौतिक प्रगति भएको सूचना अधिकारी देवकोटाले बताए । असार मसान्तसम्म काम नसकिने भएपछि अर्को एक वर्ष म्याद थपको प्रक्रिया पनि सुरु भइसकेको छ ।
नगरपालिकाको मुख्य सडक भएकाले छिटो सम्पन्न गर्न रुख काट्ने र ढल हाल्ने काम सहजीकरणका लागि सहयोग नगर प्रमुख सन्तोष चालिसे बताउनुहुन्छ । रुख काट्ने र ढल हाल्ने काम मात्र सक्दा पनि धेरै काम हुने भएकाले रोगको सङ्क्रमणबाट बच्न सुरक्षाका उपाय अपनाएर काम भइरहेको उनले बताए।