प्रधानमन्त्रीलाई दम्भ र प्रचण्डलाई भावावेश त्याग्न नेपालको आग्रह, पार्टी एकताबद्ध बनाइराख्न पार्टीपंक्तिलाई आह्वान

नेकपा वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सबै नेता–कार्यकर्तालाई हार्दिकता अभिवृद्धि गर्दै पार्टीलाई एकताबद्ध बनाइराख्ने गरी काम गर्न आह्वान गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीकोे ७१औं स्थापना दिवशको अवसरमा विज्ञप्ति जारी गर्दै कसैको पनि नाम नलेखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहम् त्याग्न र कार्यकारी अध्यक्ष प्रचण्डलाई भावावेशबाट मुक्त हुन उनले आह्वान गरेका हुन् । 

नेता नेपालले भनेका छन्, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेस वा अनावश्यक आशङ्का र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो ।’ 

‘हाल विकसित कतिपय घटना क्रमले पार्टी भित्र अनेकाैँ आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ’, नेता नेपालले भनेका छन्, ‘यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्दछ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु ।’

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा जानकारीसमेत नदिई सोमबार दुई वटा अध्यादेश जारी गरेपछि पार्टीभित्र पैदा भएको आशंका र अविश्वासप्रति नेता नेपालले सम्बोधन गर्न खोजेका हुन् । उनले भनेका छन्, ‘राष्ट्रिय राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका पार्टीको विधि–पद्घति तथा संगठनात्मक प्रणाली, नेतृत्व तहबीचको विश्वास, कार्यकर्ताहरु बीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिन्छ।’

विगतमा १५ वर्ष पार्टी प्रमुख र डेढ वर्ष प्रधानमन्त्री समेत भइसकेका पवरिष्ठ नेता नेपालले स्थापना दिवशको सन्देशमा भनेका छन्, ‘चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहन आव्हान गर्दछु ।'

‘कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला नेपाल सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिङ्गो राष्ट्र, हाम्रो पार्टी सहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणका बिरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्छ’, विज्ञप्तिमा नेपालले भनेका छन्, ‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशङ्का उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन ।’

पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो, जुन मंगलबारदेखि ७२औँ वर्षमा प्रवेश गरेको छ ।

प्रकाशित मिति: : 2020-04-21 21:25:43

प्रतिकृया दिनुहोस्