अहिले हामी कोरोनाभाइरसको महामारीबाट उत्पन्न असामान्य परिस्थितिमा छौँ ।
विभिन्न मुलुकका अस्पतालहरूमा मरिरहेका नागरिकहरू, मृत्यु पर्खेर कहराइरहेका संक्रमित बिरामीहरू, चिहानसम्म नपाएर मिल्किएका मृत शरिरहरू, त्रस्त–निस्तब्ध शहर–बस्तीहरू, अनिश्चितताको भयले लखेटेर काँपिरहेका करौडौँ प्रवासी–आप्रवासी कामदारहरू, भत्किरहेका स्थास्थ्य र सुरक्षाका व्यवस्थाहरू, नागरिकका लागि कुनै सम्भाव्य उपायसमेत पहिल्याउन नसकेका सरकारहरू, अकल्पनीय सङ्कटको छाँयामुनि काँपिरहेका हाम्रा सामाजिक–सांस्कृतिक संस्थाहरू–सङ्क्षेपमा, मानव जातिले विकास गरेको समस्त विज्ञान–प्रविधिसमेत निरूपाय जस्तै भएको, एउटा अदृष्य तर प्रलयकारी अनिश्चय र भयको दुनियाँमा हामी छौँ ।
यस महामारीले हाम्रो इतिहासलाई, समस्त मानव समाजलाई कस्तो मोड दिन्छ भन्ने आँकलन गर्नु अलिक छिटो हुन्छ तर पनि यसका असाधारण प्रभाव हामी र हाम्रा सन्तान–दरसन्तानले भोग्नु अनिवार्य जस्तै छ । आजै क्षितिजमा देखिने केही दृष्य भने स्पष्ट छन्ः विश्वव्यापी रूपमा खाद्यवस्तुको उत्पादन, आपूर्ति तथा मूल्य र पहुँचमा ठूलो समस्या देखिने छ; अन्तर्राष्ट्रिय श्रम बजार, औद्योगिक उत्पादन र समग्र विश्व अर्थतन्त्रमा समस्या आउने छ; तिनलाई सम्बोधन गर्न सरकारहरूले विभिन्न नयाँ नीतिहरू लिनेछन्, एउटा देशको सरकारका नीतिले अर्को देशको सरकारका नीतिलाई प्रभावित पार्नेछन् र तिनको अन्तरविरोधले अन्तर्राष्ट्रिय राजनीतिको नयाँ व्यवस्था बन्नेछ ।