सातवटै प्रदेशका प्रहरी प्रमुख फेरिए: विशेष ब्युरोमा कार्की, सीआईबीमा थापा

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन र केहीको सरूवा गरेको छ।

सोमबार गरिएको १० पदस्थापनमध्ये सात जनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ।

जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् भने २ नं. प्रदेशमा धिरजप्रताप सिंहलाई पठाइएको छ । बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको नेतृत्व गरिसकेका छन् । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।

हाल प्रदेश नं. २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ । यसअघि ब्युरोको नेतृत्व गरेका डीआईजी हरिबहादुर पाल एआईजीमा बढुवा भइसकेका छन् ।

डीआईजी अरुणकुमार विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ ।

प्रकाशित मिति: : 2020-04-20 19:39:24

प्रतिकृया दिनुहोस्