सरकारभन्दा माथि उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने कुरा गर्नु सरकारलाई नेतृत्व गर्न पाइनँ भन्ने कुण्ठाको अभिव्यक्ति : प्रधानमन्त्री ओली (भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई मार्गदर्शन गर्न सरकारभन्दा माथि उच्चस्तरीय संयन्त्र बन्न नसक्ने बताएका छन् । आफूलाई पपुलिस्ट र उदार देखाउन यस्ता कुण्ठाग्रस्त अभिव्यक्ति दिने गरिएको बताएका छन् ।

 केही सरकारी सञ्चारकर्मीसँगको अन्तर्क्रियामा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘त्यस कारण मैले नेतृत्व गर्न पाइनँ भनेर, यस सरकारलाई अर्थात् नेतृत्वको जश लिन पाइनँ भनेर मैले चलाएको छु भन्न पाइनँ भन्ने यो कुण्ठाग्रस्त माानसिकता कसैले राख्न हुँदैन ’, उनले प्रश्न गरे, ‘उच्च स्तरीय संयन्त्र कुन देशमा बनेको छ ? रिपब्लिकन र डेमाक्र्याटहरुको बनेको छ अमेरिकामा ? बेलायत, फ्रान्स, जर्मनी कहाँ कुन डेमोक्रेटिक देशमा बनेको छ ? जापान, कोरिया कहाँ बन्यो ?’ 

नेपालमा मात्र अनधिकृत ढंगले सरकारलाई ‘यसो गर्नुपर्‍यो, उसो गर्नुपर्‍यो’ भनेर आफूलाई उदार र पपुलिस्ट देखाउन ‘म त यसमा छु मेरो त नीति हो, सबै मिलेर जानुपर्छ’ भनेर ‘कहिले कुन जंगलको किनारबाट पनि त्यस्तै कुरा’ आउने गरेको उनले बताए  । 

प्रधानमन्त्रीकै पार्टी नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साता एउटा निजी टेलिभिजनसँगको अन्तर्वार्तामा सरकारले उच्च स्तरीय सर्वदलीय राजनीतिक संयन्त्र बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । 

‘विश्वका कुनै देशमा सरकारलाई मार्गदर्शन गर्ने सरकारभन्दा माथि बसेर उच्च स्तरीय संयन्त्र बनाएर त्यसमार्फत् सरकार गाइड गर्ने त्यस्तो कुनै पनि सरकार भएका ठाउँमा कहीँ संसारमा बनेको छ ?’, प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘मैल पढ्दा त देखेको छैन, गुगल सर्च गर्दा पनि भेट्दिनँ । अन्त पनि देख्दिनँ । कहीँ पनि छैन ।’ 

प्रधानमन्त्री ओलीले सरकार बनेपछि देशका सबै समस्याको समाधान गर्ने गरी अघि बढ्नु त्यो सरकारको  सरकारको कर्तव्य भएको बताउँदै उनले भने, ‘कुरा, नेपालमा दुईतिहाइको सरकार छ । म्याण्डेट प्राप्त सरकार छ । यसले आफ्नो कर्तव्य निर्वाध पालना गर्दछ । सरकारले सबै राजनीतिक दलहरू, संघसंस्थाहरू नागरिक समाज सबै एनजीओ, आईएनजीओ, अथवा जति प्रकारका सरकार छन्, ती सबै र व्यक्तिहरू र आम जनतासँग सहकार्य गर्नुपर्दछ । कुरा सुन्नुपर्दछ । रायसुझाव लिनुपर्दछ । र, राम्रा रायसुझावलाई सरकारी निर्णयका रुपमा रुपान्तरणगरेर ती सुझावहरूलाई ग्रहण गरेर जानुपर्दछ ।’ 

आफू नेतृत्वको सरकारले पनि राजनीतिक दलहरूसँग बैठक, परामर्श गरेको बताउँदै उनले भने, ‘राजनीतिक दलहरूले नेपाल सरकारका नीतिहरू र कामहरूलाई समर्थन गरेका छन् । प्रशंशा गरेका छन् । साथ सहयोग दिएका छन् ।’

उच्च स्तरीय संयन्त्र बनाउने हो भने आफ्नो अध्यक्षतामा सम्पूर्ण नागरिक भएको संयन्त्र मात्र बन्नसक्ने बताउँदै उनले प्रश्न गरे, ‘होइन भने ककसलाई छाड्नुपर्ने र ककसलाई राख्नुपर्ने ?’

कसैले आफ्नो महत्व  सरकारलाई निर्देशित गर्नेको रुपमा बुझेको हुनसक्ने बताउँदै उनले भने, ‘यो सरकार संविधानअनुसार चल्छ । कानूनअनुसार चल्छ । जनताले सुम्पेको उत्तरदायित्वअनुसार चल्छ । यो सरकार आफ्ना कर्तव्य, आफ्ना नैतिकता, देश र जनताप्रति पालना गर्नुपर्ने उत्तरदायित्व पूरा गर्छू भनेर अधिकार प्राप्त सरकार हो ।’

प्रकाशित मिति: : 2020-04-20 14:21:01

प्रतिकृया दिनुहोस्